चिकित्सक भन्छन्, यस्तो वेलामा लिन सकिन्छ न्युट्रासिटिकल्स

|

काठमाडौं : बिरामी स्वयंले खरिद गरेर होस् तथा चिकित्सकको​ सल्लाहमा शरीरको कमजोरी कम गर्न भन्दै फुड सप्लिमेन्ट खाने क्रम बढेको छ।

विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुगेकाहरूलाई चिकित्सकले कमजोरी हटाउन यस्ता सप्लिमेन्ट ‘प्रेस्क्राइब’ गर्ने गरेरको पाइन्छ। यस्ता सप्लिमेन्ट चिकित्सकले प्रेस्क्राइब गर्न हुने वा नहुने विषय वेलावेलामा उठिरहन्छ।

कतिपय स्वास्थ्य संस्थाले न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्दा बिरामीको स्वास्थ्यमा जटिलता निम्ताउने हुँदा यसमा विशेष सावधानी अपनाउन निर्देशन दिएका छन्। हालै दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधी व्यवस्था विभागमा दर्ता नभएका न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रतिष्ठानमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रेस्क्राइब गर्न रोक लगाएको छ।

‘औषधी व्यवस्था विभागमा दर्ता नभएका न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट  प्रेस्क्राइब  गर्न बन्देज गरिएको व्यहोरा जानकारी गराइन्छ। यदि कसैले उक्त  न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब गरी बिरामीको स्वास्थ्यमा जटिलता उत्पन्न भएको खण्डमा प्रेस्क्राइब गर्ने व्यक्ति नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ’ प्रतिष्ठानका निर्देशनक डा. रमेश कँडेलले दिएको निर्देशनमा भनिएको छ।

यस्तै सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजले समेत आफ्नो अस्पतालभित्रको फार्मेसीमा न्युट्रासिटीकल्स र फुड सप्लिमेन्ट बिक्री नगर्न निर्देशन दिएको छ। अस्पतालका निर्देशक प्राडा सुमनकुमार श्रेष्ठले दिएको निर्देशनमा भनिएको 'अस्पतालको फार्मेसीमा न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट  सिफारिस गर्न नलगाउन आ आफ्नो अर्न्तगतका सबै चिकित्सकलाई जानकारी गराइन्छ।'

विशेषगरी शरीरको कमजोरी कम गर्न चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था हेरेर यस्ता सप्लिमेन्ट प्रेस्क्राइब गर्छन। विकसित राष्ट्रहरुमा फिजिसियनले ‘न्युट्रासिटिकल्स प्रडक्ट’ कहिले प्रेस्क्राइब गर्ने गरेको पाइँदैन।

तर नेपालमा भने चिकित्सकले नै यस्ता सप्लिमेन्ट बिरामीलाई प्रेस्क्राइब गर्न पाउनु पर्ने बताउँदै आएका छन्। चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघले त कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा बिरामीलाई आवश्यकताअनुसार औषधी तथा न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट  सिफारिस गर्ने अधिकार चिकित्सकहरूमा रहेको जनाएको छ।

संघले खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति दिएको पूरक आहार बिरामीको रोग, उमेर र आवश्यकताअनुसार सहयोगी हुने हुँदा चिकित्सकले अन्तर्राष्ट्रिय मान्यताअनुसार सिफारिस गर्दै आइरहेको दाबी गरेको हो। ‘कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा बिरामीलाई आवश्यकता अनुसार औषधी तथा न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट   सिफारिस गर्ने अधिकार चिकित्सकमा निहीत रहेको व्यहोरा सबैमा विदितै छ। चिकित्सकले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट बिरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ संघका महासचिव डा.सञ्जीव शर्माले भनेका छन्।

प्रतिबन्ध लगाएका न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब भइरहेको छ : औषधी व्यवस्था विभाग

औषधी व्यवस्था विभागले २०४९ सालमा प्रतिबन्ध लगाएको  न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट अहिले बजारमा पाइन्छ। चिकित्सकले पनि यसलाई प्रेस्क्राइब गर्ने गरेको बताउँछन्, औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल। उनका अनुसार हाल भिटामिन डी, क्यान्सिम, मिथाकोलाइमिन र प्रमालिन् जस्ता सप्लिमेन्ट विभागमा दर्ता भए पनि बजारमा पाइने यी बाहेकका सप्लिमेट भने दर्ता नभएको हो। ‘भिटामिन डी, क्यान्सिम, मिथाकोलाइमिन र प्रमालिन जस्ता सप्लिमेन्ट हाम्रोमा दर्ता भएको छ। यो बाहेकका त २०४९ सालमा नै प्रतिबन्ध लागेको छ। तर हाम्रोमा दर्ता भएका सप्लिमेन्टको फर्मुला केही परिवर्तन गरेर नयाँ नयाँ बनाएर बजारमा ल्याइएको छ, जुन चिकित्सकले भने धेरै नै प्रेस्क्राइब गर्छन्’, विभागका महानिर्देशक ढकालले भने।

कस्तो वेलामा प्रेस्क्राइब गर्न मिल्छ फुड सप्लिमेन्ट?

बच्चा जन्मिसकेपछि आमाको दूध आएन वा पुगेन भनेर ल्याक्टोजिन ‘न्युट्रासिटिकल्स प्रडक्ट’ हो। यस्ता बालबालिकालाई खानेकुरा खुवाउन भन्दा लिटो खुवाउन उपयुक्त हुन्छ।

फिजिसियन डा.प्रतीक पौडेल अनुसार कहिलेकाहीँ बिरामीको अवस्थालाई हेरेर फूड सप्लिमेन्ट प्रेस्क्राइब गर्न मिल्ने भए पनि सामान्य रुघा ज्वरो आएको बेलामा प्रेस्क्राइब गर्न नहुने बताउँछन्। उनका अनुसार स्नायु रोग, नसाको समस्या भएको समयमा भिटामिन बी १२, कलेजेको सम्बन्धी बिरामी भएकामा थायामिन/भिटामिन बी कम्प्लेक्स, हाड तथा, जोर्नी को समस्या भएको समयमा क्याल्सियम र भिटामिन डी, वृद्धावस्थामा हड्डी खिएको समयमा डिजेनेरेटिव र गर्भवती महिलामा  फोलिक एसिड जस्ता भिटामिन सप्लिमेट दिनु पर्ने भए पनि सामान्य रुघाखोकी, ज्वरो आएको वेलामा भने दिन उपयुक्त हुँदैन।

गर्भवती बाहेकका बिरामीलाई फूड सप्लिमेन्ट प्रेस्क्राइब गर्दा पनि उमेर र अवस्था हेरेर गर्नु पर्ने डा. पौडेल बताउँछन्। उनका अनुसार बालबालिका तथा मुखले खान नसक्नेहरूलाई प्रेस्क्राइब गरे पनि खान सक्ने बिरामीलाई सप्लिमेन्ट भन्दा खानेकुरामा नै जोड दिनुपर्छ।

‘शरीरमा क्याल्सियम कमी छ भने सप्लिमेन्टभन्दा दैनिक एक गिलास दूध खान भन्नु पर्छ तर कुनै कुनै बिरामीमा भिटामिन १२ एकदमै कम हुन्छ। माछामासु नखाने बिरामी भने त्यस्तो वेलामा बिरामीको अवस्था हेरेर भिटामिन–१२ प्रेस्क्राइब गर्न सकिन्छ,’ डा. पौडेल भन्छन्, ‘कलेजो सम्बन्धी समस्या भएका, वृद्धावस्थाका बिरामी तथा गर्भवती महिलालाई केही केही भिटामिन सप्लिमेन्ट प्रेस्क्राइब गर्नुपर्छ तर सामान्य ज्वरो रुघाखोकी आएर अस्पताल आएका बिरामीलाई सप्लिमेन्टभन्दा भिटामिन युक्त खानेकुरामा नै जोड दिनुपर्छ।’  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.