|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत मंगलबार निधन भयो। 

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ ०७९ साल मंसिरमा भएको निर्वाचनमा इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनको निधनसँगै ईलाम क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा नेतृत्वविहिन बनेको छ। 

उक्त निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। प्रतिनिधिसभाको कार्यकाल ४ वर्षभन्दा धेरै बाँकी रहेकोले उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो। 

गत ५ असारमा गाडी दुर्घटनामा परी सदूरपश्चिम प्रदेशका सांसद पृथ्वीबहादुर सिंहको निधन भयो। बझाङ १ बाट प्रदेशसभामा निर्वाचित भएका सिंह  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत थिए। 

उनी पनि गत ४ मंसिरमा भएको चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए। उनको निधनसँगै बझाङ १ को ‘क’ जनप्रतिनिधिविहीन छ। 

रिक्त रहेको स्थानमा कानुनअनुसार उपनिर्वाचन गराउनुपर्ने प्रावधान छ । संविधानको धारा १७६ को ८ मा प्रदेशसभा सदस्यको रिक्त भएका निर्वाचन गर्नुपर्ने व्यवस्था छ। 

प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ। 

सोही कानूनी प्रावधान अनुसार उक्त निर्वाचन क्षेत्रमा पनि पुनःनिर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

त्यस्तैगरी, काठमाडौं महानगरपालिकाको १६ नम्वर वडामा पनि पुनःनिर्वाचन गर्नुपर्ने भएको छ। 

उक्त वडाका वडाध्यक्ष मुकुन्द रिजालको गत मंगलबार निधन भएकोले पुनःनिर्वाचन गर्नुपर्ने भएको हो। 

उनी २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए। रिजालको निधनसँगै वडा नम्बर १६ जनप्रतिनिधिविहीन भएको छ। 

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को २ मा उपनिर्वाचनको व्यवस्थाअनुसार सो वडामा फेरि निर्वाचन हुनेछ।  

निर्वाचन आयोगले देशभर संघीयसहित २२ जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ। संघ, प्रदेश र स्थानीय तह गरी विभिन्न १९ जिल्लामा २२ जनप्रतिनिधिको पद रिक्त रहेको आयोगले जनाएको हो। 

आयोगका सह प्रवक्ता सुर्य प्रसाद अर्यालले गत वर्ष ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य,प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्षको पद रिक्त भएको जानकारी दिए। 

रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ५, माओवादी ४ र स्वतन्त्र एक छन्। सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिममा रिक्त रहेको आयोगले बताएको छ। 

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रिक्त पदमा गत वैशाखमै उपनिर्वाचन गरे पनि सरकारले प्रदेश र स्थानीय तहमा रिक्त पदको उपनिर्वाचन हालसम्म गर्ने मिति घोषणा छैन। 

आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद रिक्त हुँदा गत १० वैशाखमा उपनिर्वाचन गराइसकेको छ। आयोगले चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि गत १० वैशाखमा उपनिर्वाचन गराएको थियो। 

गत वर्ष मंसिरमा सम्पन्न संघीय निर्वाचनबाट चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनिएका थिए।

यीमध्ये नागरिकता विवादले सांसद पद गुमेपछि रविको निर्वाचन क्षेत्र रिक्त भएको थियो। यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपति रामप्रसाद सहाय यादव निर्वाचित भएपछि बारा २ र तनहुँ १ को संघीय निर्वाचनको पद रिक्त थियो। 

आयोगले तीनै वटै स्थानमा उपनिर्वाचन गराएपछि चितवन २ मा लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भइसकेका छन्। 

१० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन भएको छैन भने नेम्वाङको मृत्युसँगै फेरी संघीय संसदको पनि निर्वाचन गराउनुपर्ने भएको छ। 

कहाँ कहाँ रिक्त छ?

इलाम–२,प्रतिनिधिसभा सदस्य

बझाङ १ को १ –प्रदेशसभा सदस्य

जिसस प्रमुख कैलाली 

महाबु गाउँपालिका – अध्यक्ष

गौरिशंकर गाउँपालिका– उपाध्यक्ष

काठमाडौं महानगरपालिका १६वडाध्यक्ष

हेटौंडा उपमहानगरपालिका १२– वडाध्यक्ष

गोरखा नगरपालिका ५वडाध्यक्ष

मुसिकोट गाउँपालिका १– वडाध्यक्ष

रुन्टिगढी गाउँपालिका४– वडाध्यक्ष
गढी गाउँपालिका ६– वडाध्यक्ष

त्रियुगा नगरपालिका १२–वडाध्यक्ष

इशनाथ नगरपालिका ७– वडाध्यक्ष

राजपुर नगरपालिका ६– वडाध्यक्ष 

कीर्तिपुर नगरपालिका ४– वडाध्यक्ष

ककनी गाउँपालिका २– वडाध्यक्ष

ठाकुरबाबा नगरपालिका ४– वडाध्यक्ष

तिलागुफा नगरपालिका ४–वडाध्यक्ष

कुशे गाउँपालिका ७– वडाध्यक्ष

दुहुँ गाउँपालिका ५– वडाध्यक्ष

सुर्मा गाउँपालिका ४– वडाध्यक्ष

पुर्वीचौकी गाउँपालिका ६ – वडाध्यक्ष

कहिले होला उपनिर्वाचन?

रिक्त रहेको स्थानमा सरकारसँग परामर्श गरेर चुनाव गराउने आयोगका सहप्रवक्ता अर्यालको भनाइ छ। 

उनका अनुसार आयोगले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल एवं उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कासँग रिक्त स्थानको निर्वाचनका लागि प्रक्रियामा जान आयोगले आग्रह गरेको थियो। 

सरकारले घोषणा गरेको मितिमा आयोग चुनाव गराउन तयार रहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.