पुरुषले पनि बस्न मिल्छ तीजको व्रत

|

काठमाडौं : सनातन हिन्दु नारी आइतबार राति दर खाएर सोमबार तीजको व्रत बस्दैछन्। भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने परम्परा छ। विवाहित नारीले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहितले सुयोग्य पतिको कामना गरी पानी पनि नखाई तीजको व्रत प्रचलन छ।

पुराणअनुसार पिता हिमालयले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने कुरा पार्वतीलाई मन परेन। उनी आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन्। लामो समय पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनी शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशीर्वाद दिए। यसरी शिव पार्वतीको विवाह भयो।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। त्यसैले यो तिथिलाई सनातन हिन्दु नारीले यो दिनलाई उत्सवका रूपमा मनाउन थालेका हुन्।

धार्मिक वा आध्यात्मिक पक्ष यो भयो। सामाजिक वा साँस्कृतिक हिसाबले यसको बेग्लै महत्त्व छ।

विवाह गरेर कर्मघर गएका चेलीबेटीलाई माइतीले भावनात्मक प्रेम दर्शाउने पर्व हो, तीज। विवाह गरेर कर्मघर गएका आफ्ना चेलीबेटीलाई माइत ल्याएर मिठो मसिनो खुवाउने संस्कृति छ हाम्रो। माइत गएर आमाले बनाएको खानेकुरा खाने भन्ने मान्यता छ। बल्लबल्ल माइत आएका चेलीबेटीलाई मिठोमसिनो खुवाउने माइतीको चलन हो। यसले मुखको स्वाद मात्रै होइन चेली र माइतीबीचको माया पनि झल्काउँछ। बल्ल बल्ल तीजमा माइती आएका चेलिबेटीलाई माइतीले आफ्नो गच्छेअनुसार मिठो मसिनो खुवाउँछन्। चेलीबेटीले पनि वर्ष दिनभर कर्मघरमा भोगेका दु:खपीडाका कथा नाचगानमार्फत माइतीको आँगनमा पोख्ने परम्परा छ।

दरको नाममा विकृति

नेपाली संस्कृतिमा तीजको अघिल्लो दिन खाइने दरको विशेष महत्त्व छ। तीजमा महिला भगवान् शिवको नाममा निराहार व्रत बस्ने हुँदा अघिल्लो दिन माइतमा आमाले पकाएका विभिन्न प्रकारका खानेकुरा खाने गरिन्छ।

पहिले पहिले गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा मात्र खान पाउँथे, जसले गर्दा उनीहरूलाई पर्याप्त पौष्टिक आहार पुग्दैन थियो। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन शुरु भएको हो। पहिले–पहिले गाउँघरमा मीठोमसिनो खान चाडबाड नै कुर्नुपर्थ्यो। त्यसकारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिलो खानेकुरासहित दर खुवाउने चलन चलेको हो।

वैदिक परम्पराअनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ। व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ।

दरको रूपमा तीजको अघिल्लो दिन राति अबेरतिर अनादीको लट्टे, घिउ हालेको खाना, खीर, ढकने जस्ता तागत दिने खानेकुरा खाने चलन छ। व्रत बस्ने अघिल्लो दिन दूध, घिउबाट बनेको चोखो र अडिलो सात्त्विक भोजन गर्नु पर्छ।

तर अचेल समय तीज आउन एक महिना अघिदेखि नै दर खाने चलन बढेको छ। दरको नाममा होटल र पार्टी प्यालेसहरूमा रेडिमेड खानेकुरा खाने चलन बढेको छ। पहिले पहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो। गीतहरूमा पनि आमाको दरको महिमा गरिन्थो, तर अहिले व्यापारिक दर भएको छ। तीजको दरको नाममा महिना दिनअघि होटल–पार्टी प्यालेसमा खाइने माछामासु र मदिराले दरको नाममा विकृति मात्रै हो।

होटल, पार्टी प्यालेसका साहुहरूले दर पकाउँछन्, प्लेटको हिसाबमा हुन्छ। यसले गर्दा  होटल तथा पार्टी प्यालेसमा दरको रुपमा खुवाइने खानेकुरामा प्रेम भन्दा पनि व्यापारिक भाव झल्किन्छ।

आजभोलि त तीजको अघिल्लो दिन (दर खाने) दिनमा समेत राजसी भोजन (माछामासु र  मदिरा) जस्ता खाने कुरा खाने गरेको पाइन्छ। अघिल्लो दिन टन्न यस्ता राजसी भोजन गरेर भोलिपल्ट तीजको व्रत बस्नु आफैँमा धार्मिक संस्कृतिको नाममा विकृति हो। तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन। व्रत बस्ने अघिल्लो दिन दूध, घिउबाट बनेको चोखो आडिलो खानेकुरा खानुपर्छ।

अचेलका छोरीचेली धेरै पढेका छन्। स्वतन्त्र र स्वावलम्बी छन्, जसले गर्दा पहिलेका छोरीचेलीले जस्तो दु:ख गर्नुपरेको छैन। नारीहरू धेरै स्वतन्त्र र स्वावलम्बी भएकै कारण तीज पछिल्लो समय भड्किलो बन्दै गएको अनुभव गर्न सकिन्छ। तीज आउन महिना दिन अगाडि नै विभिन्न खालका राजसी भोजन खाने चलन छ। फेरि आजभोलिको तीजमा महिलाहरूले गरगहना तथा कपडा प्रदर्शन गर्ने गरेका पाइन्छ।

गीतमा पनि विकृति

पहिले पहिलेका तीज गीतहरूमा महिलाहरूले घरमा भोगेका पीडा, आफ्ना इच्छाहरूलाई तीज गीतको भाकामा साथीहरूसँग व्यक्त गर्ने र धार्मिक भावना भएका गीतहरू गाउने चलन थियो।

यति मात्रै होइत देवाधिदेव माहदेवको गुनगाण गरिएका गितहरु समेत तीजको भाकामा गाउने साँस्कृत प्रचलन रहेको थियो। तर आजभोली तीजको नामा भड्किला शैलीका शब्दहरु प्रयोग गरेर तीजको गीत गाउने प्रचलन रहेको छ। यसले हाम्रो हिन्दू सनातन धर्मा उल्लेख गरेर मनाइदै आएको तीज र यसमा गाइने गीतको मर्मलाई नै उपेक्षा गरेको देखिन्छ। आजभोलि त तीज भन्नेवित्तिकै महिनौँ दिनअघि देखि पैसा उठाएर होटलमा भोज खाने र भड्किला शैलीका गीतमा नाच्ने–गाउने पर्व भनेर नयाँ पुस्ताले बुझ्न थालेको छ। यस्तो परम्परा बस्दै गएमा भोलिका दिनमा तीजको महत्त्व नै हराउने डर देखिन्छ।

पुरुषले पनि बस्न मिल्छ तीजको व्रत

भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयाको दिनमा बसिने तीजको व्रत महिलाले मात्रै बस्ने  रूपमा परिभाषित गरेको पाइन्छ। योगलत हो। धार्मिक मान्यता अनुसार तीजको व्रत भनेको आफ्नो प्रेम प्रगाढ र बलियो बनाउनबस्ने हो। त्यसैले तीजको व्रत महिला–पुरुष दुवैले बस्न मिल्छ। भगवान् शिवको पूजा–आराधना गरेर मनाइने यो पर्वमा धार्मिक रुपमा पुरुषले व्रत बस्न नमिल्ने भन्ने छैन। भगवानको पूजा–आराधना महिलाले मात्रै या पुरुषले मात्रै गर्ने भन्नै छैन।

अर्को तर्फ तीजमा पानी समेत नखाइ व्रत बस्ने भन्ने छ त्यो पनि होइन। सकिन्छ भने मात्रै निराहार व्रत बस्ने हो। नभए पानी फलफूल तथा दूध खाएर पनि बस्न सकिन्छ। मन शुद्ध गराएर पवित्र तरिकाले व्रत बस्नु नै ठूलो कुरा हो।

संस्कृतिविद् डा. कान्ता भट्टराईसँग गरिएको कुराकानीमा आधारित

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.