चिकित्सकद्वारा सेवा ठप्प

|

काठमाडौं : ‘बिरामीहरूको आवाज बुलन्द गर्नुहोस्​' भन्दै १७ सेप्टेम्बर अर्थात् आज विश्व बिरामी सुरक्षा दिवस मनाइयो। उपचारका लागि अस्पताल पुग्ने बिरामीले चिकित्सकसँग आफ्ना समस्या खुलस्त भन्न सकून् र बिरामीले सुरक्षित महसुस गरून् भनेर यो दिवस मनाइन्छ।

अस्पतालमा असुरक्षित भएको, सरकारले आफ्नो आवाज नसुनेको, आफूहरूको सुरक्षामा ध्यान नदिएको भन्दै चिकित्सकहरूले देशभरका स्वास्थ्य सेवा ठप्प पारेका छन्। उनीहरूले उपचार सेवा प्रभावित हुने गरी आकस्मिक बाहेकका सेवा आजका लागि बन्द गरे।

चिकित्सकहरूको पेशागत संस्था नेपाल चिकित्सक संघले आजका लागि उपचार सेवा प्रदान गर्ने अस्पताल, क्लिनिक, मेडिकल कलेज तथा प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि अस्पताल पुग्ने बिरामी अलपत्र परेका हुन्।

नेपालमा आइतबार उपचारका लागि अस्पताल पुग्ने हरेक बिरामी उपचार पाउनबाट वञ्चित भए। आइतबार बिहान १० बजे देशकै ठूलो सरकारी अस्पताल वीर अस्पताल पुग्दा अस्पताल पुगेका बिरामी उपचार गर्न नपाएर अलपत्र थिए।

एक्कासी दुवै मिर्गौला बिग्रिएपछि लमजुङबाट उपचारका लागि वीर अस्पताल रिफर भएर आएका रामबहादुर अधिकारी गत शुक्रबार पहिलोपटक उपचारमा पुगेका थिए। चिकित्सकले जचाउन दिएको रिपोट आएपछि आइतबार आउनु भनेपछि बिहान सबेरै अस्पताल पुगेका अधिकारीदम्पती टिकट काट्नै नपाएपछि अलमलमा परेका थिए।

चिकित्सकलाई रिपोट देखाउन आइतबार बिहान अस्पताल पुग्दा टिकट काट्न नपाएपछि अलपत्र परेका अधिकारीले भने‚ 'दुबै मिर्गौला बिग्रिएको छ। शुक्रबार चिकित्सकलाई देखाउन आएका थियौँ‚ आइतबार रगत जचाएर रिपोट लिएर आउनु भनेपछि बिहान सबेरै आएर टिकट काउन्टरमा लाइन बसे पनि टिकट काट्न पाइएन। खै डाक्टर साबहरूको आन्दोलन छ‚ बिरामी हेर्नुहुन्न भनेर टिकटै दिनु भएन। अब के गर्ने? अलमल छौँ"

प्रोस्टेटको समस्या झेलिरहेका सुन्दरीजलका हर्कबहादुर तामाङ पनि जचाउन भन्दै सुन्दरीजलबाट वीर अस्पताल पुगे तर अस्पतालको टिकट काउन्टर बन्द भएपछि टिकट काट्नै पाएनन्। उनले पनि डाक्टरलाई जचाउन नपाएको गुनासो गरे।

'प्रोस्टेटको समस्या छ‚ नियमित यही जचाउँदै आएको छु। आज पनि बिहानै आएको टिकट काट्नै पाइएन। खै डाक्टरहरूको आन्दोलन छ रे‚ विरामी नहेर्ने भनेको सुनेको छु‚ अब फर्कन्छु’‚ वीर अस्पतालको आँगनमा भेटिएका तामाङले भने।

हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यकक्षमा पुगेर सांघातिक आक्रमण भएको थियो। जसले गर्दा चिकित्सकहरू सुरक्षाको ग्यारेन्टी हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन।

डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौंडा उपमहानगरपालिका-१२ स्थित पदमपोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारका क्रममा गत साउन २५ गते मृत्यु भएको थियो। उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए।

आक्रमणमा परी उक्त अस्पतालमा कार्यरत एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन्। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ। थापा उपचारका लागि काठमाडौं आइसकेका छन्।​

चिकित्सक संघले उक्त घटनामा संलग्न आक्रमणकारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी संशोधित ऐन २०७९ अनुसार कारबाही अघि बढाउन ७२ घण्टे समयसीमा तोकेको थियो। तर तोकिएको अवधिमा कानूनअनुसारको कारबाही प्रक्रिया अघि नबढेको भन्दै संघले शनिबार बेलुका विज्ञप्ति जारी गर्दै बन्द आह्वान गरेको हो।

आन्दोलनरत चिकित्सक पक्ष र सरकारबीच स्वास्थ्य मन्त्रालय सिंहदरबारमा वार्ता सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको थियो।

अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी समिति गठन गरेको थियो। उक्त समितिले चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग हाल स्वास्थ्य मन्त्रालयमा वार्ता गरिरहेको छ।

चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्यसेवा प्रभावित भएको छ। चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द भएको छ। चिकित्सक जाँच उपचार छाडेर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्। सेवा बन्द हुँदा बिरामी अस्पताल बाहिर अलपत्र परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.