मानव तस्करीमा नाम चलेका व्यक्ति नै संलग्न : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

|

काठमाडौं : वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी बढ्दै गएको छ।

पछिल्लो समय युरोप, अमेरिकामा मात्रै होइन, खाडीमै पनि आकर्षक तलब सुविधामा रोजगारी दिने बहानामा मानव तस्करी हुने क्रम बढ्दै गएको हो। पछिल्लो ३ वर्षमा आकर्षक रोजगारीको प्रलोभनमा ६३५ जना नेपाली दलालहरुको पञ्जामा परेका छन्।

मानव बेचबिखनको श्रृंखला

पछिल्लो ३ वर्षमा ६३५ जना मानव बेचबिखनमा परेका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्यांकले देखाएको छ। बेचबिखनमा पर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ।

आव ०७७/७८ मा ४ पुरुष र १८३ महिला, आव ०७८/७९ मा ११ पुरुष र २०० महिला र आव ०७९/८० मा २० पुरुष र २११ र चालु आवको साउनमा ७ पुरुष र १६ महिला बेचबिखनमा परेका छन्।

यो अवधिमा ९७३ अभियुक्तमध्ये ५२१ जना पक्राउ परेका छन् भने ४०२ फरार छन्। मानव बेचबिखनका ४३७ वटा मुद्दा दर्ता भएका छन्।

आव ०७८/७९ मा बेचबिखनमा परेकामध्ये २१४ जनाको उद्धार गरिएको छ। आव ०७९/८० मा ३३६ जनाको उद्धार गरिएको थियो। चालु आवको एक महिना (साउन) मा मात्रै २३ जना नेपाली यस्ता दलालहरुको पञ्चामा परेका छन्। तीमध्ये ७ पुरुष र १६ महिला छन्।

यस अवधिमा ३४ अभियुक्तमध्ये २० जना पक्राउ परेका छन् भने १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। १४ जना फरार छन्।

मानव तस्करीमा नाम चलेका व्यक्ति नै संलग्न 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मानव तस्करीजस्तो गम्भीर घटनामा कानुन कार्यान्वयन प्रभावकारी बन्न नसक्दा अपराधीले उन्मुक्ति पाउने गरेको बताए। उनका अनुसार सजायको मात्रा अवस्था हेरेर १० देखि २० वर्षसम्मको सजाय हुने व्यवस्था छ।

मानव तस्करीमा नाम चलेका व्यक्तिहरु नै संलग्न हुने गरेका छन् र अपराधीहरुलाई उन्मुक्ति दिन राजनीतिक नेतृत्व नै संलग्न हुने गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए।

उनले भने, ‛कानुन कार्यान्वयन फितलो छ, मानव तस्करीमा पावरफुल व्यक्तिहरु नै संलग्न हुन्छन्, उनीहरु सत्ताको ग्यालरी र कानुन कार्यान्वयन गर्ने निकायहरुसँग जोडिएका हुन्छन्।’

कानुन कार्यान्वयन गर्ने निकायहरु सशक्त र प्रभावकारी भए यसको जालो तोड्न सकिने वरिष्ठ अधिवक्ता त्रिपाठीले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.