श्रीलंकाले बनायो ३ वटा बिर्सनलायक कीर्तिमान

|

काठमाडौं : एशिया कपको उपाधि भारतले सजिलै जितेको छ। आज (आइतबार) भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो।

जितका लागि श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा शुभमन गिलले अविजित सर्वाधिक २७ तथा इशान किशनले २३ रनको योगदान गरे।

त्यसअघि श्रीलंकाको राजधानी कोलम्बोस्थित प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले जितका लागि भारतसामु एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा थोरै ५१ रनको लक्ष्य दिएको थियो।

एकदिवसीय ढाँचामा सबैभन्दा थोरै रन सन् १९८८ मा श्रीलंकाले एशिया कपकै फाइनलमा ४३ ओभर २ बलमा अलआउट हुँदै भारतलाई १७६ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ गरेको भारतले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउँदै ६ विकेटले जितेको थियो।

श्रीलंकाका लागि कुशल मेण्डिसले सर्वाधिक १७ र दुषण हेमन्थले अविजित १३ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

धनञ्जय डि सिल्भा ४ तथा पाथुम निशान्का २ रन बनाएर पभेलियन फर्कंदा कुशल परेरा, चारिथ आसालान्का, दासुन शानक, मथिशा पाथिराना र सदीरा समर विक्रमाले खाता नै खोल्न सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतीय बलर मोहम्मद सिराजले घातक बलिङ गरे। ७ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै २१ रन दिएर सर्वाधिक ६ विकेट हात पारे। हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए।

एशिया कपको फाइनलमा श्रीलंकाका ३ खराब कीर्तिमान

यस पटकको एशिया कपको फाइनल खेलमा श्रीलंकाले ३ वटा खराब कीर्तिमान बनाएको छ।

जसमध्ये पहिलो हो- भारतविरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंका सबैभन्दा कम रन बनाउने टोली बनेको छ। एकदिवसीय ढाँचामा भारतविरुद्धको सबैभन्दा कम स्कोर बनाउने खराब कीर्तिमान श्रीलंकाले आफ्नो नाममा लेखाएको हो।

यसअघि यो कीर्तिमान बंगलादेशको नाममा थियो। सन् २०१४ मा मिरपुरमा भएको एकदिवसीय खेलमा भारतले बंगलादेशलाई ५८ रनमा अलआउट गरेको थियो।

दोस्रो हो- एकदिवसीय क्रिकेटको फाइनल खेलमा सबैभन्दा कम स्कोर बनाउने कीर्तिमान पनि श्रीलंकाले नै बनाएको छ। यसअघिको कीर्तिमान भङ्ग गर्दै श्रीलंकाले कम रन बनाएर नयाँ कीर्तिमान बनाएको हो।

यसअघि सन् २००० मा भएको वेष्टइण्डिजसँगको खेलमा श्रीलंकाले १५ ओभर २ बलमा ५४ रन बनाएको थियो।

तेस्रो कीर्तिमान यस्तो छ- एकदिवसीय इतिहासमा श्रीलंकाको टोलीले अहिलेसम्मकै न्यून स्कोर सन् २०१२ मा बनाएको थियो। दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाले २० ओभर १ बलमा मात्रै ४३ रन बनाएको थियो। यसपटक भने उसले दोस्रो कम स्कोरको कीर्तिमान बनायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.