|

विराटनगर : विराटनगर महानगरले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो।

महानगरपालिका प्रमुख नागेश कोइरालाले विज्ञप्ति जारी गर्दै नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारदेखि लागू हुने गरी सेवाबाट हटाएको जानकारी दिएका छन्।

महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो। सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिकाले गाली गरेको र त्यसपछि अन्य नगर प्रहरीसहितको टोलीले यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पुर्‍याएका थिए।

घटना मिलाए पनि जसपा मोरङले आन्दोलन घोषणा गर्दै उक्त घटनामा संलग्नहरूलाई हटाउनुपर्ने माग गरेको थियो। भदौ ३१ गतेको वार्तापछि सम्बन्धित नगर प्रहरीलाई कारबाही गर्ने विषयमा महानगरपालिका प्रमुखलाई जिम्मेवारी दिइएको थियो।

मेयर कोइरालाले आफैंले ड्युटीमा खटाएका कर्मचारीलाई अरूले अभद्र व्यवहार गर्दा बचाउमा लाग्नुपर्नेमा उल्टै हटाउने सहमति जनाएका छन्। त्यसलगत्तै दुई दिन बित्न नपाउँदै स्पष्टीकरणको म्याद समेत नदिईकन हटाएका छन्।

मेयर कोइरालाको यो कार्यले विराटनगरमा नगरप्रहरीको सहयोगमा गर्नु पर्ने कुनै पनि काम कार्यान्वयन हुन नसक्ने सम्भावना बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.