|

विराटनगर : महेन्द्र मोरङमा मानविकी संकायको स्नातक तहमा अध्ययनरत एक विद्यार्थीको उत्तर पुस्तिका साटफेर गरिएको विद्यार्थीको दाबी छ।

महेन्द्र मोरङ क्याम्पसकै प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तलाई उत्तीर्ण गराउन उत्तर पुस्तिका साटफेर गरेको आरोप लागेको हो। विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकाली क्याम्पसका प्राध्यापक दत्तकी छोरी आस्थाको कपीमा जोडेर पास गराएको विद्यार्थीको भनाइ छ।

आफूले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी प्राध्यापककी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको सन्ध्याले बताइन्।

परीक्षामा दिइएको उत्तर पुस्तिका परिवर्तन भएको दाबी गर्दै आफूलाई पुनः परीक्षा दिन लगाइएको उनले बताइन्।

‘मेरो परीक्षाको पेपर चेन्ज भएको हो। त्यसपछि मलाई तिमी परीक्षा देऊ स्टार लागेर आउँदैन भन्नुभएको थियो। सोहीअनुसार मैले परीक्षा दिएँ। दुई तीन दिनमा तिम्रो रिजल्ट निकालिदिन्छौँ भन्नुभएको थियो। यो वैशाख १९ गते परीक्षा भएको थियो’, उनले भने,‘त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी विराटनगर आउनुभएको थियो, परीक्षा पनि दिएँ। पाँच महिनासम्म पनि रिजल्ट आएको छैन।’

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सोध्दा परीक्षाको नतिजा आउँछ भन्दै आलटाल गर्ने गरेको र त्रिविका परीक्षा नियन्त्रक कार्यालयका निर्देशक जोशीले भने फोन नै नउठाउने उनको भनाइ छ।

‘मेरो थप कपी च्यातेर हटाइदिएको छ। थप पेपरमा प्लस वान,प्स टु लेखिएको अर्को पेपरमा छापिएको छ’, उनले भनिन्,‘ सरकी छोरी पनि मेरो क्लासमेट हो। हामी एउटै हलमा परीक्षा दिइरहेका थियौँ। सर आउनुभयो, दुईतीन पटक कपी हेर्नुभयो। सर आउन मिल्दैन थियो, आउनुभयो र नाम पनि सोध्नुभयो।’

उनले आफूले आस्थाको परीक्षा पेपर र आफ्नो पनि हेर्न माग गरे पनि उनलाई आलटाल गरेर हेर्न नदिएको उनले बताइन्। उनले भनिन्,‘पछि पेपर हेर्दा मेरो दुईवटा र उसको ल्याउँदा थिएन, मैले पहिले नै पेपर हेर्छु भन्दा उहाँहरूले दिनुभएन। त्यो वेला हेरेको भए प्रुफ हुन्थ्यो।’

उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या परीक्षामा उत्तिर्ण हुन सकिनन्।

विद्यार्थी आन्दोलनमा उत्रिए

पीडित विद्यार्थीको परीक्षा नतिजा चाँडै प्रकाशन गर्न माग राख्दै संयुक्त विद्यार्थी संगठन यति वेला आन्दोलनरत छन्।

पीडित विद्यार्थीको विषयमा क्याम्पस प्रशासनलाई जानकारी भए पनि  उनलाई आलटाल गर्दै दुई दिनमा परिणाम निकाल्ने र नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै आइरहेका छन्। तर दोस्रो वर्षको नियमित परीक्षाको परिणाम आइसक्दा पनि रिजल्ट नआएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

असोज २ गते डिग्री क्याम्पसमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिएर उक्त क्याम्पसका प्रमुख बाबुराम तिमल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई विद्यार्थीले अफिस कोठामा थुनेका थिए। त्यसपछि भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो।

क्याम्पस प्रमुख र परीक्षा सहायक नियन्त्रणलाई प्रहरीले उद्धार गरेका थिए भने बुधबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा.१७ च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगो समेत लगाइएको छ। गाडीमा कसले आगो लगाएको भन्ने अहिलेसम्म खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.