|

काठमाडौँ : मुख्य चाडपर्व नजिकिँदै जाँदा सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। चर्को मूल्यवृद्धि मात्रै होइन म्याद सकिएका सामग्री बेचेर सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने व्यापारिक फर्म तथा पसल धमाधम कारबाहीमा पर्न थालेका छन्।

चाडपर्वका वेला आवश्यक खाद्यान्न सामग्रीसहित मिठाईमा समेत व्यापारीले कालोबजारी गर्छन् भन्ने पुष्टि पछिल्लो अनुगमनका क्रममा खुलेका तथ्यले पुष्टि गरेको छ।

नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका मुख्य चाडपर्वको अवसरमा हुनसक्ने महँगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गर्न स्थानीय प्रशासन, वाणिज्य विभाग, महानगरको नेतृत्व तथा समन्वयमा अनुगमन थालिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा मंगलबार अनुगमनमा निस्किएको टोलीले काठमाडौँ कुलेश्वरस्थित एक कम्पनीको गोदाम शिलबन्दी गरेको छ।

व्यापारी रमेश खेतानको कुलेश्वरस्थित गुञ्जेश्वर ट्रेड लिंकको गोदाममा म्याद नभएको खाद्यान्न फेला परेपछि ६ वटा गोदाम सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्कबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा चामल, दाल लगायतका खाद्यान्न सामग्रीको म्याद सकिएको पाइएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल प्रहरी तथा सम्बन्धित व्यवसायीको रोहबरमा गोदाम शिलबन्दी गरिएको हो।

कालिमाटी व्यापार संघ वरपरका पसलबाट वितरित कतिपय खाद्य सामग्रीमा मूल्यसूची र मिति नभएको उजुरी आएपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको निर्देशनमा तत्कालै खटिएको टोलीले खेतानको कुलेश्वरको गोदाममा मंगलबार छापा मारेको हो।

अनुगमन टोली गोदाममा पुग्दा सञ्चालक खेतान भने फरार थिए। गोदाममा सञ्चालक खेतानलाई फोन गरेर बोलाउँदा समेत उनी नआएपछि गोदाम खानतलासी गर्दा एभरेस्ट,रिलायन्स‚ इन्दुशंकर लगायतका मिति नभएका र कम तौलका हजारौं बोरा चिनी फेला परेको हो। त्यसैगरी मिति नभएका चाउचाउ, खानेतेल फेला परेपछि खेतानकै ६ वटा गोदाममा शिलबन्दी गरिएको हो।

‘नजिकिदै गरेको दशैँ, तिहार, छठ लगायतका मुख्य चाडपर्वको अवसरमा अस्वाभाविक लाभ लिने हेतुले हुन सक्ने महँगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंको नेतृत्वमा बजार अनुगमन गर्दा दाल तथा चिनीको बोरामा लेबल नभएको म्याद नाघेका सामान विक्री वितरण गरेको पाइएकाले वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल प्रहरी तथा सम्बन्धित व्यवसायीको रोहबरमा शिलबन्दी गरियो’‚ स्थानीय प्रशासनले भनेको छ।

बजारमा चिनीको मूल्य ह्वात्तै बढ्दा महँगीले सर्वसाधारणको ढाड सेकिएको छ। बजारमा कृत्रिम चिनीको अभाव निम्त्याइएको छ तर बजार अनुगमन टोलीले खेतानको गोदाममा म्याद सकिएका हजारौं बोरा चिनी, खाने तेल तथा चाउचाउ फेला पारेको हो।

खेतानद्वारा सञ्चालित गोदाममा एक साताअघि वाणिज्य विभागले अनुगमन गरेर सचेत गराएको थियो। गुञ्जेश्वरीमा तौलसमेत कम भएका चिनीका बोरा भेटिए।

गुञ्जेश्वरीको स्टोर चिनी भण्डारका लागि अयोग्य रहेको अनुगमन टोलीको निष्कर्ष छ। त्यसबारे अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।

खान अयोग्य रहेका खाद्यान्न व्यापारीले निर्बाध विक्री गर्दै मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका छन्।

‘हामीले खाने विभिन्न प्रकारका स्वादिष्ट मिठाई बनाउने चिनी, दाल, चामल‚ पिठो‚ चाउचाउ लगायतका सामग्री न त बोरामा उत्पादन मिति छ, न मूल्य छ न त तौल नै पुग्छ’‚ अनुगमनमै खटिएका जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ श्रेष्ठले थाहा खबरसँग भने, ‘खाद्यान्न राख्ने स्टोर त युरिया मलको भण्डारण स्थलभन्दा पनि खत्तम रहेछ। तैपनि बजारमा निर्बाध विक्री भइरहेको छ। हामीले खाइरहेका छौँ।’

काठमाडौं प्रशासनले ओम शिवशक्तिले बेच्ने तेलमा शंका लागेपछि अनुगमन टोलीले परीक्षणका लागि तेलको स्याम्पल ल्याएको छ। केही दिनअघि काठमाडौं महानगरले पनि टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो।

बजार अनुगमनका क्रममा काठमाडौं महानगर–१७ मा रहेको उक्त समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराएको हो। पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएको अनुगमन टोलीले जनाएको छ। महानगरले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीवचनमा सुधार गर्न, दुग्धजन्य वस्तुको तापक्रम कायम राख्नसमेत पसल सञ्चालक दीपकराज थपलियालाई निर्देशन दिएको छ।

वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पनि हिजो (मंगलबार)देखि चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ।  विभागले विशेषतः बजार प्रणाली व्यवस्थित बनाउन खाद्य, लत्ताकपडा, मिठाई पसल, माछामासु पसल लक्षित अनुगमन गरेको छ। चाडपर्वमा विशेषगरी आश्वयक खाद्य, मिठाई, मासु, दूध, लत्ताकपडा, ड्राइफुड, राजमार्गका होटल तथा बढी भीडभाड हुने क्षेत्रमा ठगी हुने सम्भावना बढी रहेकाले विभागले त्यस क्षेत्रलाई टार्गेट बनाएको हो।

विभागले यस वर्ष बजार अनुगमनमा कम्तीमा १० सदस्यीय १० वटा टोली बजारमा परिचालन गर्ने योजना बनाएको छ। टोली बुधबार पनि बजार अनुगमनकै क्रममा छ । अघिल्ला वर्षमा भन्दा यस वर्ष कडाइका साथ अनुगमन हुने विभागको दाबी छ।

विभागको टोलीले हिजो काठमाडौं उपत्यकाका विभिन्न ३० पसलमा अनुगमन गरी सामान्य निर्देशनदेखि जरिवानासमेत तिराएको छ। चाबहिलस्थित ३ वटा किराना पसलले खरिद बिल बिजक नराखेको पाइएपछि प्रतिपसल १० हजार रुपैयाँ जरिवाना गरिएको छ। सामाखुसीस्थित एक फेन्सी पसललाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको आधारमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

स्थानीय सरकार र प्रशासनसँगै अनुगमन गर्न निस्किएको विभागले खेतानको गोदामबाट हीरा ब्राण्डको चिनी, लुम्बिनी ब्राण्डको मसिनो चिनी २‚ २ बोरा नमुना परीक्षणको लागि ल्याइएको बताएको छ। यसैगरी सञ्चालकलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको छ।

गतवर्ष पनि असोज १ देखि कात्तिक मसान्तसम्म चाडपर्व लक्षित भएको अनुगमनका १ हजार ७७ वटा व्यावसायिक फर्ममा अनुगमन गरिएको वाणिज्यले जनाएको छ। अनुगमनका क्रममा २२९ व्यावसायिक फर्म कारबाहीमा परेका थिए। तिनबाट २९ लाख ६५ हजार जरिवाना असुल भएको थियो।

सामान्य अवस्थामा तैं चुप मैं चुप बस्ने सरकारी निकाय चाडपर्वको छेको मारेमा मात्रै बजार अनुगमनमा निस्केर ढोङ रचेको आरोप पनि लाग्ने गरेको छ तर सरकारी निकायहरूले भने समय समयमा अनुगमनको क्रम जारी राखे पनि चाडपर्वको बेला थप कडाइका साथ अनुगमन गरिरहेको दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.