|

इलाम : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको उद्घाटन खेल अघिसम्म नेपालले जर्सी पाएको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ५: ३० मा सुरु हुने खेलमा पाकिस्तानको सामना गर्ने तालिका छ। तर खेल हुनुभन्दा २० घण्टा अघिसम्म नेपाली टोलीले स्पाेट्स सुज, किट व्याग, ट्रयाक, मोजा,  जर्सी पाएकाे छैन। 

बक्यौता रकम नतिरेपछि नेपाली टोलीको मुख्य प्रायोजक केटीएम सिटीले खेलाडीलाई किट्स उपलब्ध गराएको छैन। एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले किट्सका लागि अध्यक्ष र महासचिवलाई ताकेता गरेको बताए। उनले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बिहानैबाट किट्स हालसम्म नआएको पटकपटक जानकारी गराएको बताए।

यता एन्फा महासचिव किरण राईले जर्सी र किट्स आइपुगेको बताए। ‘आइसक्यो-आइसक्यो कसले भन्यो महासचिवले नै आएको भनेपछि सकिएन’, उनले भने ‘खेलाडीले किट्स नपाएको भन्ने हल्ला मात्रै हो। त्यस्तो कुनै समस्या छैन।’

राष्ट्रिय टोली तयारी समितिका संयोजक मनिष जोशीले जर्सी नआएको बताए। ‘सामान आएको छैन मैले तपाईूसँग झुट के बोल्ने म आफैँले किनेर दिन्छु भनेको नमिल्ने रहेछ’, उनले भने।

यसअघिसमेत एन्फाले समयमा भुक्तानी नगर्दा केल्मीले सम्झौता नवीकरण गरेको थिएन। केल्मीपछि एन्फाले केटिएम सिटीसँग सम्झौता गरेको थियो। एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत राष्ट्रिय टोलीको किट्स निर्माणका लागि आह्वान गरेको थियो।

एडिडाससहित चार ब्रान्डले आवेदन दिए पनि एन्फाले शेर्पा आउटडोरको केटीएम सिटी रोजेको थियो। एन्फाले शेर्पा आउटडोरसँग तीन वर्षको लागि सम्झौता गरेको छ । सम्झौता सकिन अझै एक वर्ष बाँकी छ।

‘बक्यौता बाँकी थियो। त्यो उपलब्ध गराइदिन एन्फालाई ताकेता गरेको थियो। ढिलासुस्ती भएपछि केटीएम सिटीले प्रतियोगिताका लागि उपलब्ध गराउनुपर्ने किट्स रोक्दिएको हो’, एक पदाधिकारीले भने। शेर्पा आउटडोरले वार्षिक १ करोड ५० लाख रुपैयाँ बुझाउने गरि राष्ट्रिय टोलीलाई प्रायोजन गरेको थियो।

त्यसमध्येको केही रकम एन्फाले नदिएको ती पदाधिकारी बताउँछन्। ‘संयोजक जोशी र केन्द्रीय सदस्य  विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापासहित केही पदाधिकारी रंगशालामा थियौँ। केटीएम सिटीका प्रतिनिधि आएर १ करोडको चेक दिन्छौ भने देऊ, नत्र प्रतियोगिताका लागि किट्स दिनौँ भने’, उनले भने।

केटीएम सिटीका प्रतिनिधिले किट्स नदिने बताएपछि एन्फाका पदाधिकारीले  अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई कल गरेका थिए। यद्यपि, अहिलेसम्म सहमति जुटेको छैन। ‘अहिले हामी सहमति खोजिरहेका छौँ। सहमति भयो भने भोलि बिहानसम्म किट्स आउला भन्ने आशा गरेका छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.