|

काठमाडौं  : एसियाली खेलकुदको महाकुम्भ एसियाडमा नेपालले अहिलेसम्मकै ठूलो टोली चीन पठाएको छ। नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाउँदै छन्। 

नेपालका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीले एसियाडमा प्रदर्शन गर्नेछन्। 

यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा नेपालबाट २५ खेलमा सबैभन्दा धेरै २०३ खेलाडी सहभागी थिए। 

इन्डोनेसियामा भएको १८औँ एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए।

पछिल्ला ३ संस्करणमा एक–एक पदकमा मात्र खुम्चिएको नेपालका लागि यो संस्करण पनि पदकका लागि त्यति फलदायी नहुने पक्कापक्की छ।

यो संस्करण पदक भन्दा बढी अन्तर्राष्ट्रिय जगतमा देखाउने सहभागिताका लागि मात्र हुने देखिएको छ। 

१९ औँ संस्करणको एसियाली खेलकुदमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ। प्राय हरेकजसो खेलका च्याम्पियन खेलाडी रहेको एसियामा नेपालका लागि पदक ल्याउन पहिलेभन्दा निकै कठिन देखिएको छ। सहभागी भएका अधिकांश खेलमा नेपालले पदकभन्दा पनि आफ्नो प्रदर्शन सुधार्ने उद्देश्य लिएको छ।

यसपटक पनि तेक्वान्दो, कराँते र बक्सिङबाट मात्र पदकको आशा गरिएको छ।  तर अन्य देश पनि यी खेलमा अब्बल बन्दै जाँदा पदकको सम्भावना कठिन देखिएको छ। 

नेपालले पहिलो पटक सहभागी हुन लागेको डान्सिङ स्पोर्टस् र ई–स्पोर्ट्सबाट पनि पदकको आशा राखेको छ। यो खेल अरुका लागि पनि नौलो छ।

यो एसियाडमा नेपालबाट २५३ जना खेलाडीले सहभागिता जनाउँदैछन्।  विभिन्न ४० खेलका ४८३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। 

सहभागी हुने खेल 

नेपालले तेक्वान्दो, कराते, बक्सिङ, साइक्लिङ, फुटबल, एथलेटिक्स, पौडी, गल्फ, जुडो, ट्रायथलन, उसु, कुस्ती, आर्चरी, बास्केटबल (थ्री अन थ्री), भारोत्तोलन, ब्याडमिन्टन, फेन्सिङ, कबड्डी, टेबल टेनिस, भलिबल, ह्याण्डबल , क्रिकेट, सुटिङ, रग्बी, स्क्वास, टेनिस, ई–स्पोर्ट्स्, डान्स स्पोर्टस् र क्यानोइङमा गरी २९ खेलमा सहभागिता जनाउँदैछ। 

पदक भन्दा एक्सपोजर महत्त्वपूर्ण 

एसियाडमा नेपालले सकेसम्म धेरै खेल र खेलाडी सहभागी गराउँदै आएको छ। यसपटक अघिल्ला संरक्षण भन्दा बढी खेल र खेलाडीको सहभागिता हुनेछ। 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय एक्सपोजरका लागि एसियाडमा नेपालको सहभागीता बढाइएको बताए। केही दिन अघि नेपाल खेलकुद पत्रकार मञ्चको कार्यक्रममा उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा खेल्ने अवसर नपाएकाले यो एसियाडले त्यसलाई पूर्ति  गर्ने बताए।
‘ पदकको आशा धेरै नगरौँ , खेलाडीका लागि अन्र्तराष्ट्रिय एक्सपोजर हो , उनले भने,  ‘यसले भविष्यमा हुने अन्य खेलमा राम्रो प्रभाव पर्छ। ’

एसियाडको समूहगत खेलमा नेपालले कम्तीमा केही खेल जित्ने, व्यक्तिगत स्पर्धामा नयाँ व्यक्तिगत तथा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य खेलाडीले लिएका छन्। 

एसयिाडमा खेलको अनुभवले दक्षिण एसियाली खेलकुदमा राम्रो गर्ने अवसर मिल्छ।

ओलम्पिकमा जस्तो एसियाड खेल्नका लागि कुनै छनोट चरण पार गर्नुपर्दैन। आफ्नो तयारी र बजेट अनुसार जति खेलाडी पनि सहभागी गराउन पाइन्छ।

त्यसैले पनि नेपालले सकेसम्म धेरै खेलाडीलाई अवसर दिने नीति अनुसार खेलाडी सहभागी गराउने गरेको छ।

झण्डै सहभागी आधा जति खेलाडी टिम खेलकै  

नेपालले टिम खेलकुदमा मात्र १०५ खेलाडीलाई सहभागी गराउँदैछ। नेपालले पुरुष क्रिकेट, पुरुष भलिबल सहित महिलाका भलिबल, फुटबल, कबड्डी, ह्याण्डबलमा भाग लिएको छ।

यसैगरी पुरुष रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ। यस्तै डान्स स्पोर्टसमा पनि नेपाली खेलाडीले पहिलो पटक सहभागिता जनाउँदैछ। 

भलिबलको पुरुष र महिलामा २४ जना खेलाडी छन् भने ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी भाग लिएका छन्। 

पहिलो पटक एशियाली खेलकुदमा महिला फुटबल टोली समावेश भएको छ। जसमा २२ खेलाडी छन्। यस्तै पुरुष रग्बीमा १२ जना खेलाडी, महिला ह्यान्डबलमा १६, पुरुष क्रिकेटमा १५, महिला कबड्डीमा १२ जना खेलाडी सहभागी छन्। 

यस बाहेक नेपालबाट बक्सिङमा १३, उसु र तेक्वान्दोमा ११–११ जन खेलाडी, एथलेटिक्स, ब्याडमिण्टन ,जुडो र करातेमा ८–८ जना खेलाडी सहभागी छन्। 
फेन्सिङ, गल्फ, स्क्वास, टेबल टेनिस र टेनिसमा क्रमश: ६–६ जना खेलाडीले भाग लिँदैछन्। 

यस्तै सुटिङमा २, पौडीमा ४, भारोत्तोलनमा ५ , आर्चरीमा ४,  बास्केटबलमा ४,  ब्रेकिनमा १, क्यानोइमा १, साइक्लिङमा २, ट्रायथलनमा ४ र कुस्तीमा ४ खेलाडीको सहभागिता रहनेछ।

अहिलेसम्मको उपलब्धि 

नेपालले अहिलेसम्म ७२ वर्षे एसियाली खेलकुदको इतिहासमा २ रजत र २२ कास्य पदकसहित कुल २४ पदक जितेको छ। सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न १० औँ एसियाडबाट पदक जित्न थालेको नेपालले त्यसपछि भएका सबै एसियाडमा पदकविमुख हुनु परेको छैन।

१६ औँ एसियाडदेखि १८ औँ एसियाडसम्म नेपालले लगातार एक–एक वटा पदक मात्र जितेको छ। इण्डोनेसियामा ४ वर्ष अघि भएको एसियाडमा एउटा रजत पदक जितेको थियो।

नेपालले अहिलेसम्म बक्सिङ, तेक्वान्दो , कराँते र पाराग्लाइडिङ गरी जम्मा चार खेलबाट मात्र पदक ल्याएको छ। सबैभन्दा धेरै तेक्वान्दोबाट १ रजत र १३ कास्य जितेको नेपालले पाराग्लाइडिङमा १ रजत पदक जित्दा बक्सिङबाट मात्रै ७ वटा कास्य पदक प्राप्त गरेको छ। थप २ कास्य पदक कराँते खेलबाट नेपालले ल्याएको छ। 

सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३ औँ एशियाली खेलकुद प्रतियोगितामा १ रजत र ३ कास्य पदक जित्दा कास्य पदक कुर्न ३५ वर्ष लागेको नेपालका लागि रजत पदक भेट्टाउन ४७ वर्ष प्रतीक्षा सकिएको थियो। तेक्वान्दोको महिलातर्फ फेदरवेट ५५ केजी तौल समूहमुनि सविता राजभण्डारीले कीर्तिमानी रजत पदक जितेकी थिइन्। स्वर्णको भिडन्तमा उनी चाइनिज ताइपेईकी खेलाडीसँग हारेकी थिइन्।

सन् २०१८ मा इण्डोनेसियाको जार्कता र पालेम्वाङमा भएको १८ संस्करणमा आएर फेरि नेपालले रजत पदक जित्न सफल भयो।

सन् १९९८ को बैंकक एसियाडपछि नेपालले दोस्रो पटक रजत पदक जितेको हो। नेपालले प्याराग्लाइडिङको टिम क्रस कन्टीतर्फ रजत पदक जितेको हो। विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको टोलीले पाराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलायो।

कुन खेलले कुन एसियाडमा कति पदक? 

तेक्वान्दोले १० औँ एसियाडमा ४ कास्य, १२ औँ एसियाडमा १ कास्य, १३ औँ एसियाडमा १ रजत र २ कास्य, १४ औँ र १५ औँ एसियाडमा ३–३ कास्य पदक प्राप्त गरेको छ।

यसैगरी पाराग्लाइडिङले १८ औँ एसियाडमा रजत पदक जित्दा बक्सिङले १० औँ एसियाडमा ४ कास्य, ११ औँ एसियाडमा १ कास्य, १२ औँ एसियाडमा १ कास्य र १६ औँ एसियाडमा १ कास्य जितेको छ।

कराँतेबाट १३ औँ एसियाड र १७ औँ एसियाडमा १–१ गरी २ कास्य पदक जितेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.