|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीचको टकरावले स्वास्थ्य बिमा प्रभावित हुँदै गएको छ।

स्वास्थ्य बिमा बोर्ड स्वायत्त संस्था भए पनि यसले स्वास्थ्य मन्त्रालयको सहकार्यमा सेवा दिँदै आएको छ। 

पछिल्लो समय स्वास्थ्य बिमा बोर्डप्रति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अनुदार हुँदा बिमामार्फतको सेवा प्रभावित हुने अवस्थामा पुगेको छ।

उनले मन्त्रालयको जिम्मेवारी समालेको ४ महिना पुग्दा पनि बोर्ड अध्यक्ष नियुक्त गर्न सकेका छैनन्। बोर्डका तत्कालीन अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले गत माघ २४ गते पदबाट राजीनामा दिएका थिए। ७ महिनाभन्दा लामो समयदेखि उक्त पद खाली छ। लामो समयदेखि बोर्डको अध्यक्ष खाली रहँदा स्वास्थ्य बिमा सम्बन्धी नीतिगत निर्णयहरू रोकिँदा बोर्डको कार्यशैली प्रभावित भएको हो।

यसैगरी मन्त्री बस्नेतले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई ११ बुँदे स्पष्टीकरण सोधेका छन्। डा. बसौलाको कार्यशैली राम्रो नभएको र बोर्डका अन्य कर्मचारीको विषयमा निर्देशकलाई स्पष्टीकरण सोधेको मन्त्री बस्नेतले बताएका हुन्।

‘..पछिल्लो समय स्वास्थ्य बिमामार्फत दिइँदै आएको सेवाको गुणस्तर घट्दै गएको गुनासो आएको छ। यस्तै बिमा बोर्डमा कार्यरत कर्मचारीहरूमा पनि समस्या देखिएको छ भन्ने कुरा आएको छ। यो विषयमा घट्दो स्वास्थ्य बिमाको प्रभाव तथा बिमा बोर्डमा कर्मचारीमा देखिएको समस्याबारे मैले त्यहाँका कार्यकारीलाई ११ बुँदे स्पष्टीकरण सोधेको छु। के जवाफ आउँछ हेरौँ’‚ गत बिहीबार बागमती सरकारले कडा रोगको उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता कार्यक्रममा वीर अस्पतालमा बोल्दै मन्त्री बस्नेतले भनेका थिए।

डा. बसौलाले पनि आफूलाई मन्त्रीले स्पष्टीकरण सोधेको बताए। ‘ बोर्डको कामलाई लिएर ११ बुँदे स्पष्टीकरण बुझाउन निर्देशन आएको छ। सबै विषय समेटेर स्पष्टीकरण बुझाउनेछु’‚ डा. बसौलाले भने।​

स्वास्थ्यमन्त्री बस्नेत बिमा बोर्डको कार्यक्रममा समेत जान छाडेका छन्। शुक्रबार वार्षिक कार्यक्रमअन्तर्गत बोर्डले प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य, शिक्षा तथा सूचना समितिसँग राखेको अन्तरसंवादमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिए पनि मन्त्री बस्नेत गएनन्।

‘हामीले वार्षिक कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा तथा सूचना समितिसँग छलफल राखेका थियौँ। कार्यक्रमका लागि भनेर मन्त्रीलाई केही दिनअघि नै खबर गरेका थियौँ तर आउनु भएन’‚ कार्यकारी निर्देशक डा. बसौलाले भने।

मन्त्री बस्नेत मात्रै होइन सचिव देवकुमारी गुरागाईं तथा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय समेत उक्त कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेतले नदिएको दाबी गरिएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख बोर्डका वरिष्ठतम सदस्य रहने व्यवस्था छ।

‘बिमा बोर्ड मन्त्रालयको महाशाखा होइन तर मन्त्रीले महाशाखा जस्तो बुझ्नु भएको पाइएको छ। हाल बिमा सेवा खस्किदै गएको छ। यस्तो वेला बोर्डले राखेको कार्यक्रममा मन्त्री जानुपर्ने थियो‚ नभए पनि मन्त्रालयका प्रतिनिधि पठाउनुपर्ने थियो’‚ मन्त्रालयका एक  महाशाखाका प्रमुखले भने।

मन्त्री बस्नेतले गत वैशाख २१ गते स्वास्थ्य मन्त्रालयको कार्यभारग्रहण गरेको दिन नै स्वास्थ्य बिमामा आएको समस्या समाधान गर्ने र बिमामार्फतको सेवा गुणस्तरीय बनाउने बताएका थिए। पदभार ग्रहणलगत्तै स्वास्थ्यमन्त्री बस्नेतले ४ वटा निर्णय गरेका थिए। जसको दोस्रो निर्णयमा स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृनिकाय समेतको सहभागिता जुटाई प्रभावकारी र विश्वसनीय बनाउने भन्ने थियो।

सरकारले चालू आवदेखि निजी स्वास्थ्य संस्थाबाट दिँदै आएको बिमामार्फतको सेवा नदिने निर्णय गरेसँगै बिमामार्फतको सेवा खुम्चिदै आएको छ।

स्वास्थ्य बिमाका लागि देशभर ४६४ वटा स्वास्थ्य संस्था सूचीकृत थिए,  तीमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए। चालू आवको बजेटमै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा नदिने भनिएपछि साउन १ देखि ५२ निजी स्वास्थ्य संस्था सूचीबाट हटेपछि ३० प्रतिशत सेवा कटौती भएको छ। यसले गर्दा हाल देशभर बिमामार्फतको सेवा खुम्चिएको छ।​

संघीय संसद्को १३ असारको बैठकबाट पास भएको आव २०८०।०८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ।

स्वास्थ्य बिमा ऐन–२०७४ अनुसार बिमाबापतको सेवा लिन पहिलो चरणमा अनिवार्य सरकारी अस्पताल वा स्वास्थ्य संस्था जानुपर्छ। त्यहाँ उपचार हुन नसकेमा रेफर गरेको विशिष्टीकृत सेवा भएको र बिमाको कार्यक्रम सञ्चालन गरेको निजी अस्पताल वा मेडिकल कलेजबाट पनि सेवा लिने व्यवस्था उल्लेख छ।

यही अवस्थामा बिमा बोर्डले सरोकारवालासँग बिमाको सेवा प्रभावकारी र विस्तारका बारेमा शुक्रबार संसद्को स्वास्थ्य तथा शिक्षा समितिसँगग उक्त कार्यक्रम राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.