|

ललितपुर : चीनको हाङचाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन त्यति सन्तोषजनक देखिएको छैन। आइतबार दोस्रो दिन प्रतिस्पर्धा गरेका प्रायः सबै खेलाडी पराजित भएका छन्। केही खेलाडीले भने राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। 

टेनिस 

टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन्। पुरुष एकलमा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन्। जितपछि प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन्।

हाङचाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले पूर्वी टिमोरका मेन्डेस एन्टेनियोलाई ६–०, ६–० को सेटमा पराजित गरे।

अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

महिला एकलमा पहिलो चरणमा वाइ पाएका अभिलाषा विष्ट र माहिका राणाले त्यसपछिको चरण पार गर्न सकेनन्।

दोस्रो  चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–०र ६–० ले पछि परिन्।

माहिका दक्षिण कोरियाली खेलाडीसँग ६–०, ६–१ ले पराजित भइन्। पुरुष युगलमा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२, ६–३ ले निराश भयो। सोमबार अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिश्रित युगलमा प्रतिस्पर्धा गर्नेछन्।

बक्सिङमा खराब प्रदर्शन
बक्सिङमा नेपाली खेलाडी संगीता सुनार, दीपक श्रेष्ठ र मिनु गुरुङ पराजित भएका छन्। आइतबार दिउँसो हानचाउ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को भिडन्तमा सुनारलाई भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरिन्। 

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए।

राउन्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन्। यस्तै महिला ५४ केजीमुनि जापानकी रिन्का किनोसितासँगअंकको आधारमा ५–० ले पराजित भइन्।

उसुमा राष्ट्रिय कीर्तिमान

१९ औँ एशियाली खेलकुद प्रतियोगितामा उसुका खेलाडी विजय सिंजालीले राष्ट्रिय कीर्तिमान कायम गरे। एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको पुरुष थाउलोको छाङ छुवानतर्फ ९ दशमलब ७०३ अंक ल्याउँदै विजयले राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। 

हाङचाउमा सम्पन्न खेलमा सहभागी १४ जना खेलाडीमा उनी सातौँ स्थानमा आए। सो स्पर्धामा चीनले स्वर्ण, इण्डोनेशियाले रजत र मकाउले कांस्य पदक जिते। उसुमै महिला ताइजिक्वानमा नेपालका सविता राई ८.६२८अंकसहित पुछारमा रहिन्। 

यसैगरी सान्डातर्फ नेपालका चारजना खेलाडीले बाई पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरे तर सबै क्वाटरफाइनलमै पराजित हुन पुगे। महिला ५२ केजी तौल समूहमा नेपालकी एलिना चौधरी इरानकी एलाहेअ मानसोर्यानसँग डब्लुपिडीको आधारमा पराजित भइन्।

यस्तै पुरुष ५६ केजीमा नेपालका रोहित चुनारो कीर्गिस्तानका अभाजवेक अमानबेकोभसँग २–० ले पराजित भए। पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारू कीर्गिस्तानकै अस्कात ओमुर्जाकोभसँग स्तब्ध भए। 

यसैगरी पुरुष ७० केजीमा नेपालका पदम राई लाओसका फोनह साइबोउनफेङसँग हार्न पुगे। 

ई-स्पोर्ट्स​मा रहेन सुखद नतिजा 

ई-स्पोर्ट्समा नेपाल सिधै क्वार्टरफाइनलमा पुगे पनि पराजित भएको छ। ई-स्पोर्ट्स एरेना अफ भेलोरमा नेपाल थाइल्याण्डसँग क्वार्टरफाइनलमा २–० ले पराजित भएको हो। यसैगरी ई-स्पोर्ट्स अन्तर्गत फिफा क्वालिफिकेसन म्याचमा नेपालका समीर गुरुङ मकाउका हाङ साम तोङसँग २–१ ले निराश भए।

तेक्वान्दोमा प्रेमबहादुर पदक नजिक पुगेर पनि असफल 
तेक्वान्दोमा पुरुषतर्फ एकल पुम्सेमा नेपालका प्रेमबहादुर लिम्बु पदक नजिकै पुगेर पनि विमुख भए। अन्तिम १६ मा पाकिस्तानका अक्दुस उल्लाह क्वादिरलाई पराजित गरेका प्रेम क्वाटरफाइनलमा भने फिलिपिन्सका प्याट्रिक किङ पेरेजसँग पराजित भए । सो खेल जितेको भए उनले कम्तिमा एक कांस्य पदक जित्थे। 
तेक्वान्दोकै महिला पुम्सेमा नेपालकी स्पस्तिका तामाङ अन्तिम १६ मै हार्न पुगिन्। 

जुडोका खेलाडी पनि अगाडि बढेनन्  

जुडोमा पुरुष ६० केजीमुनि नेपालका विकास विक अन्तिम १६ मा हङकङका मार्टिन लाउसँग इप्पोनकै आधारमा पराजित भए। पहिलो दिन उनले अन्तिम ३२ मा कम्बोडियाका भोलोडाइमर गुचकोभलाई इप्पोनका आधारमा पराजित गरेका थिए।

यस्तै महिला ५२ केजीमुनि देवकी माया श्रेष्ठ अन्तिम १६ को खेलमा मंगोलियाकी सोसोरबाराम खागभासुरेनसँग इप्पोनको आधारमा पराजित भइन्।

पौडीमा एलेक्स आफ्नो हिटमा अन्तिम स्थानमा

पौडीमा आइतबार नेपालका एलेक्स शाह आफ्नो हिटमा अन्तिम भए। पुरुष १०० मिटर फ्री स्टाइलमा हिट ३ मा एलेक्स आठौं (अन्तिम) स्थानमा रहे। उनले निर्धारित दूरी ५४.१४ सेकेण्डको समय निकाले।

रग्बीमा हार

पुरुष रग्बी सेभेन्समा पनि नेपालको सुरुवाती प्रदर्शन राम्रो रहेन। नेपालले पहिलो दिन तीनवटा खेलमा फराकिलो हार बेहोर्‍यो। समूह ‘डी’मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ५५–७ ले, दोस्रो खेलमा आयोजक चीनसँग ६५–० ले पराजित भयो। यस्तै अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ४१–० ले निराश बन्यो।

सुटिङमा पनि खराब प्रदर्शन

१० मिटर महिला एअर राइफलमा दुबै नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन। यद्यपि यसमा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। नेपालकी श्लिषा भण्डारी ६१६.९ स्कोरसहित ४७औं स्थानमा रहँदा सुस्मिता नेपाल ६०७.९ अंकसहित ५८औं स्थानमा रहिन्।

सुटर श्लिषाले १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोडेकी छिन्।
कुल ६१६.९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। यसअघि यो कीर्तिमान ६१६.८ अंकसहित ओलम्पियन कल्पना परियारको नाममा रहेको थियो। 


ह्याण्डबलमा चीन तगारो 
महिला ह्यान्डबलमा नेपाल चीनसँग हार्‍यो। चच्याङ युनिभर्सिटी जिओसान जिम्न्यासियममा समूह ‘बी’को प्रारम्भिक चरणमा नेपाल आयोजक चीनसँग ५७–१० को फराकिलो अन्तरले पराजित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.