|

निशा गुरुङ

हेटौंडा : मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी मंसिर १५ गतेदेखि जैविक कृषि विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्ने भएको छ। 

थाहा नगरपालिका–९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पठनपाठन सुरु गर्नका लागि भवन, प्रयोगशाला लगायतका पूर्वाधार निर्माण गरिरहेको छ। 

संघीय सरकारको करिब १ अर्ब ३९ करोड रुपैयाँ लागतमा गत आव २०७९ साउन १८ गतेपछि निर्माण कार्य सुरु भएको विश्वविद्यालयले हालसम्म ८९ करोड प्राप्त गरिसकेको छ। 

‘११ सय वर्गमिटरको दुईवटा भवन पूर्णरूपमा तयार भइसकेका छन्। अर्को ४१ सय वर्गमिटरको भवन वैशाखसम्ममा तयार हुन्छ, ‘विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने,‘मंसिर १५ गतेदेखि पढाइ सुरु गर्ने निर्णय गरेका छौँ।’

उनका अनुसार विश्व विद्यालयमा विद्यावारिधिको तीन वर्षीय कोर्स, अनुसन्धानमुखी स्नातकोत्तर दुईवर्षे, जैविक कृषि, वनपैदावार, पर्यटन पूर्वाधार, डाटा साइन्स र आर्टिफिसिएल इन्टेजेन्स ५ वटा विषयमा विद्यावारिधि र स्नातकोत्तर कार्यक्रम सुरु गर्ने योजना छ। 

अध्यक्ष जोशीका अनुसार पढाइ सुरु गर्नका निम्ति आवश्यक भवनहरू बनिसकेको र बन्ने क्रममा रहेको हुँदा प्रयोगशालाहरू पनि बनेको र बन्ने प्रक्रियामा रहेको छ। 

सम्पूर्ण तयारी पूरा नभए पनि तयारी पनि जारी राख्ने र पढाइ सञ्चालन मंसिर १५ देखि नै सुरु गर्ने निर्णय भएको अध्यक्ष जोशीले बताए।

विश्वविद्यालयले विद्यार्थीका निम्ति छात्रावास भने निर्माण गरेको छैन। काठमाडौंबाट चित्लाङसम्म पुग्न समय नलाग्ने हुनाले आवासको आवश्यकता नदेखिएको उनको भनाइ छ। 

‘विश्वविद्यालयको निम्ति आवासको व्यवस्था भइदिए राम्रो हुन्थ्यो भन्ने कुरा हो। तर, स्रोतले पनि नभ्याउने भएपछि हामीले आवास निर्माण गरेनौँ,’ अध्यक्ष जोशीले भने, ‘बाहिरी पाहुनाहरू आउँदा राख्ने अतिथिगृह भने निर्माण गर्ने हाम्रो तयारी छ।’

चित्लाङको ताकाटारमा मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय निर्माण गरिएको हो। सरकारले १ सय ८० रोपनी जग्गाको भोगाधिकार विश्वविद्यालयलाई दिइसकेको छ। 

वनसम्बन्धी काम गर्ने फार्म बनाउनका लागि जंगल र थप जग्गा आवश्यक पर्ने भएकाले विश्वविद्यालयले ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको छ।

विश्वविद्यालयले मंसिर १५ मा ३२ जना विद्यार्थीलाई मात्र भर्ना प्रक्रिया सुरु गरिएको छ। फरक सोचाइ विज्ञान र प्रविधिको क्षेत्रमा काम गरेर ज्ञान र प्रविधि विकास गर्न सबैभन्दा राम्रा विशिष्ट विद्यार्थीहरू नेपालमै बस्न पहिलो ३२ जनाको संख्या निर्धारण गरिएको छ। पछि विस्तारै विद्यार्थी संख्या बढाएर लैजाने विश्वविद्यालयको तयारी छ। 

‘१२ पास हुनेबित्तिकै विदेश गइहाल्ने चलन बसेको छ नेपालमा। नेपाललाई विद्यार्थीहरूले पत्याउनै छाडिसके,’ अध्यक्ष जोशीले भने, ‘त्यसकारण सीमित विद्यार्थीलाई भए पनि आकर्षित गर्नका लागि भए पनि स्नातकोत्तरमा २५ हजार छात्रावृत्ति, विद्यावारिधिका लागि ३० हजार र फीसमेत लिँदैनौँ।’ 

स्रोतसमेत नभएको विश्वविद्यालयले शुल्क नलिनु चुनौती रहे पनि स्रोतको व्यवस्थापन गर्ने जनाइएको छ।

अध्यक्ष जोशीका अनुसार विश्वविद्यालयका लागि अध्यापन गराउनका लागि अनुसन्धान गर्न सक्ने र अनुसन्धानका निम्ति स्रोत जुटाउन सक्ने प्रतिस्पर्धाबाट त्यस्ता क्षमता भएका प्राध्यापक राखिने भएको छ। 

नेपालका मात्र प्राध्यापकले नपुग्ने हुँदा विदेशबाट पनि ल्याउने उनले बताए। विश्वविद्यालयले अनुसन्धान गर्न र उत्पादनलाई समेत सहयोग गर्न उद्योगहरूसँग छलफल गर्दा लार्के हिमाल जडीबुटी उद्योगसँग सहमति नै भइसकेको र त्यसका निम्ति उद्योगले अनुसन्धान गर्ने र प्राविधिक सहयोग जुटाउने दुईजना पिएचडीका विद्यार्थी र मास्टर्स डिग्रीका एकजना विद्यार्थीलाई छात्रावृत्ति दिने व्यवस्था रहेको बताईएको छ।

हाल ३२ जना विद्यार्थीलाई अध्यापन सुरु गर्ने तयारी गरेको विश्वविद्यालयले १८ वर्षसम्ममा ३ हजार विद्यार्थी पु¥याउने लक्ष्य लिएको छ। 

३ हजार विद्यार्थीलाई अध्यापन गराउन ३ सयको हाराहारीमा प्राध्यापक चाहिने विश्वविद्यालयले जनाएको छ। हाल सरकारले कुनै दरबन्दी नदिएको र विश्वविद्यालय आफैंले ऐननियम निर्माण नगरिसकेक अवस्थामा प्राध्यापक नै नभएको र ११-१२ जना विज्ञहरू करारमा लिएको जनाएको छ।

आफैँ स्रोत उठाउँदै सरकारको लगानी भए पनि विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्न लागेको हुँदा सरकारको लगानीले मात्र नपुग्ने भएकोले विश्वविद्यालय आफैँले स्रोत खोजी गर्दै आएको छ। अध्यक्ष जोशीका अनुसार विश्वविद्यालयले साधारण समाजका व्यक्तिहरू र समाजसेवीबाट हालसम्म ३० लाख उठाइसकेको छ।

अमेरिकामा विश्वविद्यालयले एभरेष्ट फन अफ साइन्स एण्ड टेक्नोलोजी नामक अर्गनाइजेशन खडा गरेर पैसा उठाउन सुरु गरिसकेको जोशीले बताए। अहिले विद्युत् आवश्यक नपरेकाले विद्युत् प्राधिकरणको ११ केभी प्रसारण लाइनमा जोडिएको छ। 

विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा बिक्री गरेको जनाएको छ। सयवटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत् उत्पादन हुन्छ। जोशीका अनुसार विद्युत् बेचेर दैनिक ७ हजारसम्म आम्दानी गर्नसक्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.