|

पाल्पा : नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारका मन्त्रीले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मन्त्री धनराज गुरुङले लोकतन्त्रको मर्मविपरीत काम गरेको बताइन्। कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै पद्माले भनिन्, 'धनराजले लोकन्तन्त्रको चीरहरण गरे।'

योग्यता नै नपुगेका सरकारी वकिल रामचन्द्र शर्मालाई उनले मन्त्री पदको दुरुपयोग गरेर न्यायाधीश बनाएको अर्यालले बताइन्।

गुरुङ स्याङ्जा क्षेत्र नम्बर दुइ अर्थात् यही क्षेत्रबाट निर्वाचित संसद हुन्। अर्याल पराजित भएकी थिइन्। यहाँ पितृको भोटले गुरुङले जिते भन्ने निकै चर्चा चलेको थियो। गुरुङले आफूलाई निर्वाचनका बेला जिताउन सहयोग गरेका निर्वाचन अधिकृत रामचन्द्र शर्मालाई न्यायाधीशमा मनोनीत गरेका छन्।

शर्मा वरीयतामा निकै पछाडिका हुन्। न्यायाधीशको परीक्षामा फेल भएका थिए। मरिसकेका मान्छेको नामबाट समेत भोट हालेर गुरुङले जितेको उनले बताइन्। 'हामीले विभिन्न प्रमाण पेश गर्दा पनि धाँधली नभएको भन्दै धनराजलाई जिताउनका लागि शर्माले अहम भूमिका खेलेका थिए। त्यही नुनको सोझो गरेछन्।' धनराजले शर्मालाई गुन तिरेको पूर्वमन्त्रीसमेत रहेकी अर्यालले टिप्पणी गरिन्। गुरुङ संसद र मन्त्री बनेपछि पटकपटक विवादमा तानिएका छन्।

विधिको शासनले चल्ने लोकतान्त्रिक व्यवस्था हो। भोट दिएर गएकाले के गर्दै छन् भनेर जनताले खबरदारी गरिरहनुपर्ने उनले बताइन्।

कांग्रेससबाट केही पाउने आशा नदेखेपछि जनता एमालेमा प्रवेश गरिरहेको उनले बताइन्। छैन काफल गेडी, सुरेली नखेल जुरेली भन्ने उखान सुनाउँदै उनले भनिन् 'कांग्रेसबाट पाउने आशा मरेपछि नै विकास र समाज रुपान्तरणका लागि एमाले रोजेको हुन्।' जनताको विश्वासलाई निराशामा परिणत हुन नदिने उनले बताइन्।

एमालेका उम्मेदवारले जितेको स्थानीय तहमा जनताको हितमा काम भइरहेको छ। एमालेको नीतिअनुसार काम गर्दा स्थानीय तहमा विकासले फड्को  मारेको छ। जनप्रतिनिधि सफल भएका छन्। जनता कामबाट प्रभावित भएर एमालेमा प्रवेश गर्नेको लर्को चलेको अर्यालले दाबी गरिन्।

कांग्रेसले दासत्वमा राखेका गाउँका जनता एमाले नेतृत्वको स्थानीय सरकारले गरेको कामप्रति खुसी भएर पार्टी प्रवेश गरेको गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खीमबहादुर थापाले बताए।

कालीगण्डकी गाउँपालिका-३ टंलेहवाका सयभन्दा बढी कांग्रेसका कार्यकर्तालाई अर्यालले टीका अबिर र खादा लगाएर एमालेमा प्रवेश गराएको वडा कमिटी उपाध्यक्ष टोप रानाले बताए। कांग्रेसको गढ मानिने यस टोलका मानिस सबै एमालेमा प्रवेश गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.