|

सुर्खेत : कार्यवाहक प्रधानमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालय बिहीबार सुर्खेतको बोटेचौरमा उदघाटन गरेका छन्।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यो आयोजना विगतमा ओझेल पर्दै गए पनि आगामी दिनमा तीव्रताका साथमा अघि बढाउन लागिपरेको बताए।

'कर्णाली प्रदेशको जलस्रोत, जडीबुटी, कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउने सवालमा विगतमा भएको कमी कमजोरीलाई नदोहोर्‍याउने प्रतिबद्धतासहित यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने गरी हामी अघि बढछौं, उनले भने, 'चुनावको समयमा फरक दल भएपनि चुनावपछि विकास, समृद्धिका पक्षमा हामी सबैलाग्नुपर्छ। हामी सबै लागिरहेका छौं।'

उनले मतदाताको विकासको चाहना पूरा गर्नतिर एकताबद्ध भएर लागिरहेको बताए। यसका लागि सबै दलहरुले यहाँको स्रोत र साधनको प्रयोग गरेर, सबैभन्दा सम्मानित, सबैभन्दा बढी विकसित प्रदेश बनाउने लक्ष्य रहेको उनको प्रष्टोक्ति थियो।

उपप्रधानमन्त्री खड्काले आर्थिक प्रतिकूलताको विचमा, कोरोनको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री प्रचण्डले सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताए।

उनले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए।

“हामीले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएका छौँ, आगामी दिनमा कर्णालीको समृद्धि र रुपान्तरका लागि सरकारले थप पहल गर्नेछ,” उपप्रधानमन्त्री खड्काले भने।

उनले मुलुकको ऊर्जा, सडक विकासकालागि चीनसँग प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण सम्झौता गर्नुभएको बताउँदै सुर्खेत हिल्सा सडक निर्माणपश्चात् सोही अनुसार कर्णाली र भेरीकोरिडोरका सडकहरु पनि निर्माण गरिने बताए।

सरकार सुशासन मैत्री शासन व्यवस्था बनाउन लागि परेको बताउँदै केहि दिनमा सुशासनसँग सम्वन्धित कार्ययोजना सार्वजनिक गरेर लागिपर्ने बताए।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले यो कार्यालय स्थापना गर्न उपप्रधानमन्त्री खड्काको भूमिकाको उच्च प्रशंशा गरे।

 “भेरी बबईअन्तर्गत रहेर कार्यान्वयन भएका आयोजना जीर्ण बनेका छन्। यी सुधार गर्न आवश्यक छ,” उनले भने, “नयाँ आयोजना सम्पन्न गर्ने कुरा मात्रै ठूलो होइन। यसको दिगो व्यवस्थापनका लागि मर्मत र सम्भारको लागि पनि आवश्यक बजेटको आवश्यकता छ। यतातर्फ ध्यान दिन आवश्यक छ।”

उनले नागरिकका बीचमा सेवा प्रवाहमा विकृति देखिएको र त्यसमा टेकेर धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरुले समाजालाई एकीकृत गर्ने र समाजलाई सकारात्मक बाटोमा यात्रा गर्न रोक्नेहरुलाई निरुत्साहित पारेर जानुपर्नेमा जोड दिए।

प्रदेश सरकारका ऊर्जा एवम जलस्रोत मन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको समृद्धि र विकासमा यो आयोजनाले महत्वपूर्ण भूमिका रहने बताईन। उनले जनताका मागहरु बमोजिम यो कार्यालय अघि बढेको खण्डमा यस क्षेत्रको आमूल परिवर्तन हुने बताइन्।

यस्तै, प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भेरी बबई डाइभर्सन आयोजना अन्र्तगत नै विगतमा यो कार्यालयको काम भइरहेकोमा अब अलग्गै कार्यालय खोलिनुले भेरी कोरिडोर क्षेत्रका जनतामा विकासको लहर चल्ने आशा पलाएको बताए।

उनले यो कार्यालयले सम्पादन गर्ने कार्यमा शुसासान, पारदर्शिता कायम गर्दै पर्यटन, पूर्वाधारको विकास गर्न कोसेढुंगा सावित हुने अपेक्षा गरे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.