युवा उमेरमै हुने हृदयघातको मुख्य कारण– तनावपूर्ण जीवनशैली र खानपान

|

काठमाडौं : संविधानसभाका उपाध्यक्ष सुवास नेम्वाङ गत भदौ २५ गते राति १ बजेतिर बाथरुम जाने क्रममा​ एक्कासी लडे। परिवारले त्रिवि शिक्षण अस्पताल पुर्‍यायो। तर सवा ४ बजेतिर उनको निधन भएको घोषणा चिकित्सकले गरे। चिकित्सकका अनुसार उनको मृत्युको कारण हृदयघात थियो।

केही समयअघि राति सुत्दा अप्ठ्यारो हुनुका साथै हल्का छाती दुखेपछि धादिङका ३२ वर्षका रमेश शर्मा (नाम परिवर्तन) वीर अस्पताल पुगे। चिकित्सकले हृदयाघातको लक्षण भएकाले सिधै 'इमर्जेन्सी'मा राखेर उपचार गरे। समयमै आएका कारण सम्भावित हृदयाघातको जोखिमबाट जोगिएको चिकित्सकले उनलाई बताए।

यी प्रतिनिधि घटना मात्रै हुन पछिल्लो समय नेपालमा आकस्मिक स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने एक कारण मुटुसम्बन्धी समस्या रहेको छ। जसरी पछिल्लो समय मुटुरोग बढ्दै गएको छ, त्यसरी नै युवा उमेरमा नै यसको शिकार बन्नेको संख्या पनि बढेको छ।

हाल विश्वभर नै नसर्ने रोगहरूमध्ये मुटुसम्बन्धी रोग प्रमुख रोगको रूपमा रहेको छ। विश्वमा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ, त्यसमध्ये आधाभन्दा बढी मानिसको मृत्युको कारण हो, मुटुरोग। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा मुटु र मुटुसम्बन्धी रोगका कारण प्रत्येक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको छ।

विश्वमा ५० प्रतिशत मानिसलाई केही न केही प्रकारको मुटुरोग भएको तथ्यांक छ। अझ बिरामी भएर अस्पताल जाने ८० प्रतिशतलाई नसर्ने रोग छ भने तीमध्ये ३० प्रतिशतलाई मुटुरोग रहेको छ। यीमध्ये २० प्रतिशत बढी युवालाई मुटुरोग रहेको छ। यस्तै, हृदयाघात हुनेमध्ये ५० प्रतिशत मानिस २० देखि ५० वर्षमुनिका रहेका छन्। बिरामी भएर मृत्यु हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु मुटुरोगकै कारणले भएको पाइएको छ।

मानिस किन युवा उमेरमा नै मुटुसम्बन्धी समस्या झेलिरहेका छन्, विश्व मुटुरोग दिवस पारेर नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारीसँग गरिएको कुराकानी–

हृदयाघात भनेको के हो?

मुटुको धमनीमा ‘बल्क’ हुनुलाई नै सामान्य बुझिने भाषामा हृदयाघात भनिन्छ। हाम्रो मुटुमा ३ वटा नलिहरु हुन्छन। खानपान, मधुमेह, कोलेस्टोरोल, उच्च रक्तचाप मोटोपना तथा अन्य विभिन्न कारणले मुटुको यी तीन नलीमा अवरोध हुँदै जान्छ। कहिलेकाँही आकास्मिक रूपमा यी नली एकैपटक बन्द हुन पुग्छन् र मुटुको कामलाई आकस्मिक रूपमा नै बन्द गराइदिन्छ, त्यसलाई नै हृदयाघात अथवा ‘हर्ट अट्याक्’ भनेर बुझिन्छ।

हृदयाघात पश्चयात समयमै अस्पताल पुग्न सकेक धेरै बिरामीको सफल उपचार  गर्न सकिने भए पनि हाम्रोमा ह्ययघातका प्राय विरामीहरु समयमानै अस्पताल आउने गरेको पाइदैन। हृदयाघात हुँदा  शरिरमा विभिन्न खालका लक्षण देखिँदा पनि समयमानै बिरामी अस्पताल नपुग्दा हाम्रोमा आकस्मिक हुने मृत्युको एक प्रमूख कारण हृदयाघात बन्न पुगेको छ।

धेरैले हृदयाघात र अन्य कारणले हुने छातीको दुखाइ छुट्याउन नसक्दा समयमा नै अस्पताल पुग्दैनन् भनिन्छ। बिरामी झुक्किने कारण के हो?

हो, हाम्रोमा हृदयाघातपछि बिरामी ​समयमै अस्पताल पुग्न नसक्नुको मुख्य कारण भनेको हृदयाघात र अन्य शारीरिक स्वास्थ्य सम्बन्धी लक्षण छुट्याउन नसक्नु हो। बुझ्नु पर्ने कुरा के छ भने हृदयाघातमा एक खास प्रकारको छातीमा दुखाइ हुन्छ। धेरै मानिसले सामान्य खालको छातीको दुखाइ र हृदयाघातको दुखाइको भिन्नता छुट्याउन नसक्दा धेरै हृदयाघातको बिरामी समयमा नै अस्पताल पुग्न सक्दैन।

हृदयाघातको कारण हुने छातीको दुखाइलाई धेरैले ग्यास्ट्रिकको कारण भएको दुखाइ भनेर लिएर बस्ने गर्दा पनि हृदयाघातको कारण समयमा अस्पताल नपुग्दा बचाउन सकिने बिरामी पनि मृत्युवरण गरिरहेका हुन्छन्। हृदयाघातको कारण हुने दुखाइ भन्नाले एक्कासी छातीको बिच भागमा हुने दुखाइ हो र यो दुखाइ सरेर छातीको पछाडिको भागमा(ढाड) मा पुग्छ कसैकसैलाई दाँतको तत्लो भागका साथै देब्रे हातमा पनि दुख्ने हुन्छ। यो दुखाइ सरेर घाँटी सम्म पनि पुग्छ। केही बिरामीमा भने ग्यास्ट्रिकको दुखाइ जसरी पेटको भागमा पनि दुख्दै शरीरको माथिल्लो भागमा पुग्छ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने कहिलेकाँही यस्ता कुनै पनि प्रकारको दुखाइ नभई पनि  हृदयाघात हुने गर्छ। यसरी विना दुखाइ हुने हृदयाघातले धेरैलाई झुक्काइ रहेको हुन्छ। धेरै जस्तो मधुमेहका बिरामीलाई विना दुखाइ हुने ( साइलेन्ट) टाइपको हृदयाघात हुने गर्छ। कतिपय मधुमेहका बिरामीमा कस्तो पनि हुन्छ भने ग्याष्ट्रिकको समस्या जस्तो देखिन्छ तर इसिजी गर्दा हृदयाघात भइसेको हुन्छ तर बिरामीलाई  कुनै खालको दुखाइ हुँदैन। 

यो खालको हृदयाघातले भने धेरै बिरामीलाई झुक्काइरहेको हुन्छ। त्यसैले मधुमेहका बिरामीमा हृदयाघातको जोखिम पनि हुने र यस्ता बिरामीमा ‘साइलेन्ट टाइप’को हृदयाघात हुने हुँदा  समय समयमा चिकित्सकसँग परीक्षण गराइरहनु पर्छ।

हृदयाघातको लक्षण लिएर वा भएर समयमा नै अस्पताल पुग्ने कति बिरामीको सफल उपचार गर्न सकिन्छ त?

यदि कोही मान्छेलाई हृदयाघात लक्षण देखिएको छ र समयमा नै अस्पताल पुगेको छ भने ७०/ ८० प्रतिशतमा सफल उपचार गरेर सामान्य जीवनयापनामा फर्काउन सकिन्छ। तर मुख्य कुरा के हो भने उक्त बिरामी हृदयाघात सम्बन्धी उपचार हुने अस्पताल पुगेको छ छैन भन्ने हुन्छ।

तर हाम्रो देशमा धेरै जसो बिरामी हृदयाघातपछि समयमै अस्पताल पुग्न नसक्दा मृत्युवरण गर्छन्। हाम्रोमा मुख्य समस्या के छ भने हृदयाघात भएर लक्षण देखाइसक्दा पनि बिरामीले अन्य शारिरिक समस्या भएको ठानेर आफूखुशी औषधी किनेर खाने र समयमा अस्पताल नआउने गरेको पाइन्छ। र अन्तिममा धेरै नै गाह्रो भएपछि मात्रै अस्पताल आउँछन्। तर त्यो वेलामा गर्न सकिने कुनै उपाय हुदैन र बिरामीको मृत्यु हुन पुग्छ।

यदी कोलेस्टोरोल, मधुमेह,उच्च रक्तचाप, वंशानुगत र नियमित धूमपानगर्नु भएको छ र हृदयाघातको लक्षण देखिएको छ भने समयमानै सम्बन्धित अस्पताल पुग्नु पर्छ। अर्को कुरा यदि  हृदयाघातको लक्षण देखिएको छ र समयमा नै यसको उपचार हुने अस्पताल पुग्न सकिएन भने ​‘एस्प्रिङ’ नामको औषधी खान सकिन्छ। यसले शरीरमा रगत पातलो बनाइदिन्छ र हृदयाघात हुनबाट धेरै हदसम्म बचाउँछ। यो औषधीको खासै ठूलो ‘साइड इफेक्ट’ पनि छैन र सबै खालको औषधी पसलमा पाइन्छ।

पछिल्लो समय ४० बर्ष भन्दा कम उमेर समूहका युवाहरुमानै किन हृदयाघातको समस्या बढ्दै गएको छ?

हो, पहिले-पहिले हृदयाघात भन्नेवित्तिकै ५० वर्षभन्दा माथि त्यो पनि पुरुषहरूमा मात्रै हुने शारीरिक समस्या भनेर लिने गरिन्थो। तर पछिल्ला वर्षमा हामीले दैनिक बिरामीको उपचार गर्दा ४० वर्षमुनि उमेर समूह भएकाहरू नै हृदयाघातको समस्या झेलिरहेको पाइएको छ। यसको मुख्य कारण भनेको बदलिँदो जीवनशैली र खानपान, धूमपान नै हो। खानपान मोटोपन तथा अन्य कारणले आजभोलि २०/२२ वर्षकै युवामा हृदयाघातको समस्या देखिएको छ। युवा अवस्थामा हुने हृदयाघातको मुख्य कारक तत्त्व जीवनशैली र खानपान नै हो।

तर चुरोट तथा अल्कोहल नखानेलाई पनि हृदयाघात भएको पाइएको छ नि त?

मुख्य बुझ्नु पर्ने कुरा केहो भने जुनसुकै मानिस हृदयाघातको जोखिममा रहन्छन्। तर कोलेस्ट्रोरोल, मधुमेह,उच्च रक्तचाप, व‌ंशाणुगत र धूमपान गर्नेहरूलाई हृदयाघातको उच्च जोखिम समूहमा राख्ने गरिन्छ। यसपछि तनावपूर्ण जीवनशैली, मोटोपना, मानसिक स्वास्थ्य र प्रयाप्त मात्रामा शारिरिक आराम नपुग्नु पनि हृदयाघातको कारण तत्त्व मानिन्छ।

विभिन्न सामाजिक वातावरणको कारण पछिल्लो समय मानिसहरु युवा उमेरमा नै मधुमेह कोलेस्टोरोलको समस्या झेलिरहनु भएको छ। यस्ता बिरामीले  जीवनशैलीलाई ध्यान नदिँदा हृदयाघातको समस्या भोग्नु परेको छ।  कोलेस्टोरोल, मधुमेह, उच्च रक्तचाप, वंशाणुगत कारण पनि होइन, धूमपान गरेको पनि छैन र शारीरिकरूपमा स्वस्थ छ तर हृदयाघात कसरी भयो भन्ने कुरा आजभोलि धेरै आउँछ। यसको मुख्य कारण तनावपूर्ण जीवनशैली हो।

हृदयाघातको कारक तत्त्वमा शारीरिक स्वास्थ्य मात्रै होइन मानसिक स्वास्थ्यको उतिकै जिम्मेवार हुन्छ। त्यसैले धेरै तनावपूर्ण जीवननशैली बिताइररहेका मानिस, कुनै कुरामा छिटै आक्रोशित हुने व्यक्तिलाई पनि हृदयाघातकोजोखिम धेरै हुन्छ। त्यसैले हरेक मानिसले शारीरिकका साथै मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनु पर्छ।​

धेरै बिरामीले उच्च रक्तचापको औषधी खाएर बिचमै छाड्ने गरेको पाइन्छ यसले हृदयाघातको जोखिम कति बढाउँछ?

उच्च रक्तचाप भनेको ‘साइलेन्ट किलर’ जस्तै हो। ​हृदयाघातको मुख्य कारकउच्च रक्तचाप मानिन्छ। तर मुख्य कुरा के छ भने यस्ता समस्या भएका १००  मध्ये ५०  बिरामी मात्रै अस्पताल पुग्छन्। अस्पताल पुग्ने मध्ये आधाले मात्रै नियमित औषधी खान्छन्। आधाले बिचमै छाड्छन। यसले गर्दा पनि हृदयाघातको समस्या निम्ताइरहेको छ।

नियमित औषधी खानेहरुले पनि चिकित्सक प्रेस्क्राइब गरे अनुसारको औषधी खाँदैन भने कतिले बिचमानै औषधी छाडिदिन्छन्। बुझ्नुपर्ने कुरा के हो भने एकपटक उच्च रक्तचापको समस्या देखिएको छ र चिकित्सकले ‘प्रेस्क्राइब’ गरेको औषधी बिचमै छाडेका छन् भने त्यो ज्यादै जोखिम पूर्ण हुन्छ। नियमित औषधी सेवन गर्न छाडियो भने मुटु मात्रै होइन मस्तिष्क जस्ता ठूला अंगहरूमा पनि असर गर्छ।

यसले हृदयाघात मात्रै होइन मस्तिष्काघातको समेत उच्च जोखिम निम्ताइरहेको हुन्छ। हृदयाघात तथा मस्तिष्कघात भएर अस्पताल पुगे धेरै बिरामीको ‘हिस्ट्री’ हेर्ने हो भने पनि धेरै बिरामीले बिचमा नै औषधी खान छाडेको पाइन्छ त कतिले चिकित्सकले ‘प्रेस्क्राइब’ गरे अनुसारको खाएको पाइँदैन।

हृदयाघात महिलालाई भन्दा किन पुरुषलाई धेरै हुन्छ?

हाम्रोमा मात्रै होइन विश्वमानै पुरुषमा भन्दा महिलामा कम हृदयाघात भएको पाइन्छ। यसको वैज्ञानिक कारण नभए पनि मुख्य गरी महिलाको शरिरको बनावट तथा एस्ट्रोजन हर्मोनको कारणले पुरुषको तुलनामा महिलामा कम हृदयाघातको पाइन्छ। तर मेनोपोज( महिनावारी बन्द) भएका महिलाहरुमा ५० वर्षमाथि उमेर पुगेपछि भने हृदयाघात पुरुषको तुलनामा नै हुने गरेको पाइन्छ।  मोटोपन भएका, धूमपान गर्ने, तनावपूर्ण जीवनशैली बिताउने कम उमेरका महिलामा पनि हृदयाघात भएको भेटिन्छ।

हृदयाघात हुनै नदिन के गर्न सकिन्छ?

कोलेस्टोरोल, मधुमेह,उच्च रक्तचाप, वंशाणुगत र धूम्रपानको सेवनगर्नेहरुलाई हृदयाघातको उच्च जोखिम समूहमा राखिन्छ। त्यसैले यस्ता समस्या भएका बिरामीले हृदयाघातको लक्षण देखिन साथ तत्काल अस्पताल पुग्नु पर्छ। यसका अलवा तनावपूर्ण जीवनशैली बिताइरहेका, मोटोपनको समस्या भएका र हृदयाघातको लक्षण देखिए अस्पताल पुग्नु पर्छ।

तर हृदयाघात हुँनै नदिन स्वस्थ र सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम र तनावविनाको जीवनशैली अपनाउनु पर्छ। जोखिम समूहमा रहेका बिरामी तथा अन्यले वेलावेलामा आफ्नो मुटु पनि परीक्षण गर्नुपर्छ।

एकपटक उच्चरक्त चापको समस्या देखिएको छ र चिकित्सकले प्रेस्क्राइब गरेको औषधी बिचमै छाड्नु भएको छ भने त्यो ज्यादै जोखिमपूर्ण हुन्छ । यसले हृदयाघात मात्रै होइन मस्तिष्काघातको समेत उच्च जोखिम निम्ताउँछ।

४० वर्षभन्दा कम उमेरका युवामा हृदयाघात भएकामध्ये ९८ प्रतिशत लामो समयदेखि धूमपानको लतमा परेको पाइन्छ। त्यसैले सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ भने त्यागिहाल्नु उचित हुन्छ। उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल र मोटोपनलाई नियन्त्रणमा राख्नुपर्छ।  अधिक महत्त्वकांक्षा राख्ने बानी पनि छाड्नु उचित हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.