|

स्वास्थ्य संस्थामा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन्। आफन्तको मृत्यु भएपछि अधिकांश चिकित्सकले लापरबाही गरेको संज्ञा दिँदै हातपात गर्ने गरेको पाइएको छ। यसका कारण चिकित्सक उपचार छाडेर आन्दोलित छन्। 

सरोकारवाला बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच बिरामीको उपचारका बारेमा निरन्तर संवाद हुन नसक्दा सरोकारवाला बताउँछन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था भएपनि यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। चिकित्सकमाथि भइरहेको आक्रमण र यसले निम्त्याउने प्रभावमा केन्द्रित रहेर नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश–

पछिल्ला दिनमा चिकित्सकमाथि सांघातिक आक्रमण बढीरहेको छ, कसरी हेर्नुभएको छ ?

उत्तरः सांघातिक आक्रमणको विषयवस्तु त साह्रै डरलाग्दो छ। हाम्रो समाज अराजकतातर्फ अग्रसर भएको हो? दण्डहीनता, राज्यविहीनता, कानूनविहीनतातर्फ अग्रसर भएको हो? यो प्रश्नलाई आम नेपाली नागरिकले गम्भीररूपमा मनन गर्ने बेला भइसकेको छ। आम नेपाली मात्र नभएर सम्पूर्ण राष्ट्रिय मूलधारका राजनीतिकर्मीले बुझ्न जरुरी छ। राज्य भनेको एउटा प्रणाली हो। मात्रै यो जमिन होइन। यस्तै अराजक हुँदै जाने हो भने हामी कता अग्रसर हुँदैछौ?

हामी असफल राष्ट्रतर्फ अग्रसर हुने संकेत देखिँदैछ। यसलाई रोक्न जरुरी छ। यो चिकित्सकमाथि भएको हिंसा भनेको त ‘कम्प्लिट्ली’ राज्यविहीनता हो। हामी मणीपाल अस्पतालको घटना हेर्‍यौँ  भनेदेखि प्रहरीको अगाडि बसेर डाक्टरले कुटाइ खाइरहेका छन्। अझ त्यसमाथि बाहिर आएर शानसँग ‘मैले डाक्टरलाई कुटेर आएँ भन्छ। यो भन्दा दण्डहीनको अवस्था कहिले हुनसक्छ ? असुरक्षा हुँदा जानुपर्ने प्रहरीकहाँ हो।  मान्छेले सुरक्षाका लागि खोज्ने प्रहरी प्रशासन हो। त्यो प्रहरी प्रशासन नै दण्डहीनताको अवस्था सृजना भइसकेको छ भनिसकेपछि यो राज्य कहाँ छ त? राज्य नै नभएको अवस्था होइन र यो?

उपचारका क्रममा असमझदारी हुँदा पनि चिकित्सकमाथि आक्रमण हुन्छ भनिन्छ। वा अरु कुनै कारण हुन्छ ?

अवस्था त्यस्तो मात्रै होइन। पछिल्लो पटक हेटौंडाको घटना म जोड्न चाहन्छु। हेटौंडामा बिरामीको उपचार भएको करिब एक महिना १५ दिन पश्चात् चिकित्सकमाथि टोल छिमेकका मान्छे भएर योजनाबद्ध सांघातिक आक्रमण भएको छ। पूर्व तयारीका साथ गरिने सांघातिक आक्रमणलाई क्षणिक आवेग वा क्षणभरको परिवेशमा भएको मान्न सकिँदैन। यो हुनुको अर्थ के भएको बुझिन्छ भने यो देश दण्डहीन हुँदै गइरहेको छ।

राजनीतिक संरक्षकले दण्डहीनतालाई प्रश्रय दिइरहेका छन्। कुनै न कुनै प्रमुख दलको संलग्नता देखिन्छ। दल भन्नाले दलले संरक्षण दिएका व्यक्ति। तिनीहरूलाई स्थानीय प्रशासनले कुनै कारबाही नगर्ने उल्टो ‘जी’, ‘हजुरी’ गरेको प्रष्ट देखिन्छ। कतिपय घटनास्थलमा मेडिकल काउन्सिलको तर्फबाट म पनि पुगेको छु। त्यहाँ पुग्दा मैले प्रहरीको निरीहता बाहेक केही देखेकै छैन। किन भन्दा दलका नेता, कार्यकर्ता संरक्षक छन्। केही गर्न सकिँदैन। प्रत्येक दलआबद्ध व्यक्तिलाई यो देशको कानूनबाट छुट छ भन्ने किसिमको भाष्य निर्माण गर्दै गइरहेका छौँ। त्यसले गर्दा यो स्थिति सृजना भएको हो।

सडक आन्दोलन पटकपटक हुन्छन्, सम्झौतामा टुंगिन्छन्। बीचमा चिकित्सक सुरक्षासम्बन्धी कानून पनि बने, कानून पूर्ण भएर कार्यान्वयन नभएको कि कानून नै अपूर्ण छ ?

कानून पूर्ण छ। तर, कानून कार्यान्वयनको पक्ष एकदमै फितलो देखियो। कानून भनेको कागजमा लेखिएका शब्द होइनन्। कागजमा लेखिएको शब्दको भरमा सबै कुरा हुने भए त हाम्रो देश स्वर्ग नै हुन्थ्यो नि। व्यावहारिकरूपमा लागू हुनुपर्छ। राज्यको उपस्थिति भनेकै त्यही हो, लेखिएको कानून कार्यान्वयन गर्नलाई।  मन्त्रिपरिषद् भनेकै त्यही हो, प्रहरी प्रशासन भनेकै त्यही हो। तर, यस्तो देखियो प्रहरी प्रशासन, मन्त्रिपरिषद् त्यसलाई आफ्नैबाहेक अरु मतलब छैन।

यो देशमा कानून कसरी परिपालन गराउने ? कानूनी राज्य कसरी स्थापित गराउने भन्ने त देखिँदै देखिएन। मणीपाल, लमजुङको घटना हेर्नुभयो भने त प्रहरीको अगाडि हातपात भइरहेको छ, प्रहरीको अगाडी घाँटी समाउने कार्य भइरहेको छ। अनि प्रहरी मौन छ, चुपचाप छ किन भन्दा कहीँ न कहीँ कुनै न कुनै दलको संलग्नता छ। यसको अर्थ के हो भने हिजोको दिनमा यो व्यवस्था प्राप्ति गर्दा राजा फालेर सबै समान हुन्छन् भनेको त्यो नभएर दलभित्र सबै राजा हुन्छन् भन्ने खालको भाष्य स्थापित गरिँदैछ।

चिकित्सक पनि दलमा आबद्ध हुन्छन्, उनीहरुले किन आफ्नो दललाई दबाब दिन सक्दैनन् ?

सबैले दलीय आबद्धता छोडेर भए पनि होमिन बाध्य हुन्छन् र, होमिन्छन्। यसमा मेरो दल र तेरो दल भन्ने प्रश्न नै रहँदैन। सिद्धान्तप्रतिको एउटा आस्था होला तर यसरी गलत परिस्थिति र गलत भाष्य निर्माण गर्ने व्यक्तिलाई बोक्न सकिँदैन। तिनीहरुलाई साथ समर्थन दिन सकिँदैन।

चिकित्सक सेतो कोटसहित सडकमा छन्, अब कार्यस्थलमा कहिले फर्किने ?

जबसम्म यस किसिमको दण्डहीनतालाई प्रश्रय दिने खालको अहिलेको व्यवस्था अन्त्य हुँदैन। हामी यो पटक स्पष्ट सन्देश दिन चाहन्छौँ, हामीलाई चलाएर बिच्काएमा राजनीतिकर्मीलाई हामी छोड्नेवाला छैनौँ। यसमा संलग्न प्रहरी मात्रै दण्डित भएर पुग्दैन। प्रहरी प्रशासन परिचालन गर्ने सर्वोच्च व्यक्तिदेखि लिएर तल्लो तहसम्मका सबै दण्डित भएपश्चात मात्रै हामी कार्यस्थलमा फर्किन्छौँ।

कतै चिकित्सकका कामले नै उत्प्रेरकको भूमिका पनि खेलिरहेको छ कि भनेर पनि त हेर्नुपर्ला नि!

चिकित्सकीय अभ्यासको क्रममा त्रुटि नै हुँदैन भन्ने छैन। त्रुटि हुन्छ। नियमन गर्नलाई मेडिकल काउन्सिल रहेको छ। मेडिकल काउन्सिलले धेरै हदसम्म आफ्नो भूमिका परिपालन गर्न नसकेको हो की भन्ने प्रश्न रहिरहन्छ। अब त्यसमा यावत समस्या छन्। अहिलेको संरचनागत कुरा होलान्। कतिपय ऐन संशोधन, नियमावली संशोधन राज्यले नगरिदिएर  मेडिकल काउन्सिल स्वयंले पनि कतिपय चिज गर्न नसकिरहेको अवस्था छ। 

केही हदसम्म काउन्सिलमा पर्ने उजुरीहरुमा चिकित्सकको त्रुटि भेटिने गरेका छन्। तर, यसरी उदण्डता, अराजकता फैलाउने व्यक्तिको धेरै ‘केस’ हामीले अध्ययन गरेका छौँ। कुनै किसिमको त्रुटि भेटिँदैन। उनीहरुको माग के हुन्छ भन्दा मेरो मान्छे अजम्बरी हुनुपर्‍यो, त्यो त संसारमा सम्भव नै छैन। त्यो असम्भव चिज त कसैले गर्न सक्दै सक्दैन। केही पाटोमा चिकित्सकको कमजोरी होलान् त्यसलाई क्रमशः सुधार गर्नुपर्नेछ। क्रमिक सुधार हुन्छ पनि। तर, अहिले देश राज्यविहीनता जस्तै भयो। म अहिले स्वयं मेडिकल काउन्सिलमा छु। छानबिन गर्ने समितिको प्रमुख छु। तर, एकोहोरो त हुन सक्दैन। 

एकातर्फ चिकित्सकको त्रुटीको छानबिन गरेर कारबाही पनि हुने अर्कोतर्फ कार्यक्षेत्रमा कुनै पनि किसिमको राज्यको उपस्थित नरहने। राज्यविहीन भइरहनुपर्ने हो भने मैले त्यो चिकित्सकबाट के अपेक्षा राख्ने। मैले त्यसलाई ‘रिस्क’ लिएर उपचार गर भन्ने की नभन्ने उसलाई कुनै आकस्मिकतामा हात हाल भन्ने की नभन्ने? राज्य टुलुटुलु हेरेर बस्ने हो भने भोलिको दिनमा ठूला ठूला जटिल शल्यक्रिया  कसले गर्छ यो देशमा?

के बुझ्न जरुरी छ भने चिकित्सकीय कामलाई पेशा भनिँदैन संसारभर। यो त अभ्यास हो। हामीले पनि अभ्यास भन्छौँ। किनभने जति अभ्यास हुँदै जान्छ उति नै तिखारिँदै जाने हो। उति नै नयाँनयाँ कुरा पत्ता लाग्दै जाने हो। साइन्स इन्कम्प्लिट छ। 

हरेक दिन नयाँ कुरा निस्किन्छ। भनिसकेपछि यसमा अभ्यास गर्ने व्यक्तिलाई हरेक परिणामलाई त्रुटि भनेर लापरबाही भन्नुहुँदैन। हाम्रो परिणाम त प्रष्ट छ नि जटिलखालका शल्यक्रया गर्दा दुई वटामध्ये एउटा परिणाम आउँछ।, कि ऊ बाँच्छ, कि मर्छ। बीचको परिणाम हुन्छ र। आधा जीवन–आधा मृत्यु हुने भन्ने त संसारमा कतै पनि हुँदैन। प्रत्येक मृत्यु लापरबाही नै हो भन्न थाल्ने हो भने अस्पताल त सबै बन्द गरिदिए भयो। घरमा कोही मर्दैनन्, बाटोमा कोही मर्दैनन्। अस्पतालमा चिकित्सकले मात्रै मार्ने हुन् र! समाज यति अराजक। असहिष्णु र उदण्ड हुन मिल्दैन। 

अब समाधानको उपाय के त?

देशमा कानूनी व्यवस्था कायम गर्ने हो। सबै सिस्टमका लागि भिड्ने हो। र, यसको मुख्य दायित्व त राजनितिकर्मीकै हो। हामी प्रणालीमा विश्वास गर्छौं। हरेक ठाउँमा व्यक्ति हाबी हुँदै जाने हो भने कसरी यो समाज अगाडि बढ्छ। अघिल्लो वर्ष दुई हजार ८०० चिकित्सक नेपाल बाहिर गए। यो वर्ष अझै बढ्ने क्रम छ। भन्नुको अर्थ बर्सेनी तीन हजारदेखि तीन हजार ५०० चिकित्सक नेपाल बाहिर गइरहेका छन्। हामी कहाँ नयाँ दर्ता हुने एक हजार भन्दा तल झरिसकेको अवस्था छ।

यो भनेको साह्रै भयावह अवस्था हो। यही अवस्था रहिरहे अबको पाँच सात वर्षमा हामी चिकित्सकविहीन हुन्छौँ। अहिलेको सामाजिक, राजनितिक परिवेशले क्षेत्रले त स्वास्थ्यलाई कम्प्लिट्ली कोल्याप्स बनाउन खोज्दैछ। अब त हाम्रो नियन्त्रण भन्दा बाहिर जान्छ। त्यसैले राज्यले गम्भीरतापूर्वक सोच्न जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.