सेवा ठप्प पारेर माइतीघर केन्द्रित आन्दोलनले मर्कामा विरामी

|

काठमाडौं : पछिल्लो समय हेटौंडा‚ लमजुङ‚ पोखराका लगायतका स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनालाई लिएर  चिकित्सकहरू आन्दोलित छन्।

अस्पताल (कार्यकक्ष)भित्रै लगातार चिकित्सकमाथि आक्रमण भएको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारी आन्दोलन गरेको थियो। सरकारसँग दुईबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो।

आवासीय चिकित्सकहरू भने दुईबुँदे निर्णयप्रति असहमति जनाउँदै चार दिनदेखि आन्दोलनरत छन्। उनीहरूले शुक्रबार पनि सेवा ठप्प पारेर माइतीघर पुगेर प्रदर्शन गरे।​

विशेषगरी उपत्यकाका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)‚ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)‚ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी कलेज तथा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका आवासीय चिकित्सकहरूको नेतृत्वमा भइरहेको आन्दोलनमा देशभरका आवासीय चिकित्सकहरूको साथ रहेको छ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न बनाइएको कानून प्रभावकारी रूपमा कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहने बताए।

उनले दोषीलाई सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा राज्य मूकदर्शक बन्न नहुने उनको भनाइ छ।

‘चिकित्सकमाथि बारम्बार हुने आक्रमण हामीलाई मान्य हुँदैन। आक्रमणकारीमाथि कारबाही नहुँदासम्म हामी आन्दोलन रोक्दैनौं’‚ उनले भने।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन्।

यस्तै उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पटक पटक कुटिनुका कारण पहिचान गरी निराकरण गर्न उच्चस्तरीय समिति गठन गर्ने र सो समितिले बुझाएका सुझाव पालना गर्न प्रतिबद्धता दिलाउनुपर्ने, अस्पतालभित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल प्रमुख नजिकैको प्रहरी कार्यालय प्रमुख, उपभोक्ताको प्रतिनिधि र कानूनी अधिकारी सहितको समन्वयन समिति गठन गर्ने र सो समितिले नियमित कार्य गर्न सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।

असोज ७ र ८ गते चितवन, लमजुङ, कास्की र ललितपुरका अस्पतालहरूमा उपचारका क्रममा लापरबाही भएको भन्दै बिरामीका आफन्त बताउने समूहले उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

त्यसअघि मोरङ, कञ्चनपुर तथा मकवानपुरको हेटौंडामा पनि यस्तै आक्रमण भएको थियो।

चिकित्सक संघ अलमलमा

हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि चिकित्सक संघ सेवा ठप्प पारी आन्दोलनमा उत्रियो। सरकारले सोही दिन सहमति गर्‍यो र आन्दोलन फिर्ता भयो। सहमति गरेको तीन दिन नबित्दै कञ्चनपुर, चितवन, मोरङ, लमजुङ, कास्की, ललितपुर लगायतका स्थानमा चिकित्सकमाथि आक्रमण तथा दुर्व्यवहार भयो।

हेटौँडामा आक्रमण भएपछि आन्दोलनमा उत्रिएको चिकित्सक संघ आवासीय चिकित्सकहरूको आन्दोलनमा भने पर्ख र हेरको अवस्थामा छ। यसले गर्दा चिकित्सक संघ आलोचित बनेको छ। उसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छैन र समर्थन पनि गरेको छैन। विज्ञप्ति निकालेर चिकित्सकमाथि भएको आक्रमणको विरोध मात्रै गरेको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीले भने आवासीय चिकित्सकहरूको आन्दोलनमा संघको ऐक्यबद्धता रहेको बताए। आन्दोलनमा नउत्रिए पनि आवासीय चिकित्सकको आन्दोलनमा संघको समर्थन रहेको बताउँदै उनीहरूको मागका लागि संघले सरकारसँग वार्ताका लागि मध्यस्थता गरिरहेको पनि तिवारीले बताए।

उनले भने‚ ‘उहाँहरूको पक्षबाट सरकारसँग भइरहेको वार्ताको मध्यस्थता पनि गरिरहेका छौँ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको सधैँ विरोध गर्छ र पीडित स्वास्थ्यकर्मीको आवाज उठाउँछ।’  

बिहीबार संघले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा राखिएका माग तत्काल पूरा गर्न सरकारसँग माग समेत गरेको थियो। विज्ञप्तिमा स्वास्थ्यकर्मीका माग लिई उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, गृहसचिव, स्वास्थ्यसचिव, कानुन सहसचिवहरूसँग गम्भीर छलफल गरेको बताइएको छ।

चिकित्सक संघले अपेक्षित समर्थन नगरेको आवासीय चिकित्सकहरूले बताउँदै आएका छन्।  आवासीय चिकित्सकहरूले गरेको माइतीघर केन्द्रित आन्दोलनमा पनि चिकित्सक संघका कुनै पनि प्रतिनिधि नपुगेको उनीहरूले बताएका छन्। 

सेवा ठप्प पारी माइतीघर केन्द्रित आन्दोलन गर्दा विरामी मर्कामा

न्याम्स, आइओएम, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल जस्ता ठूला शिक्षण अस्पतालहरूमा आवासीय चिकित्सकहरूले आन्दोलन गरी सेवा ठप्प पार्दा ती ठूला अस्पतालमा पुग्ने विरामीहरू मर्कामा परेका छन्। आवासीय चिकित्सक अध्ययन र कार्यरत शिक्षण अस्पतालहरू प्रायः रिफरल अस्पताल भएका हुनाले उनीहरूले सेवा ठप्प पार्दा अस्पतालको सेवा प्रभावित हुने गर्छ।

यसैबीच लमजुङकी सुकमाया दुराको मृत्यु भएको घटनामा अस्पताल र पीडित परिवारबीच बिहीबार ६ बुँदे सहमति गरेपछि पनि शुक्रबार बहिरंग सेवा बन्द रहेको आवासीय चिकित्सकले बताएका छन्।

अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको सहमतिमा  आन्दोलनकारी आवासीय चिकित्सकहरूको सहमति छैन। त्यसैले मणिपालको बहिरंग सेवा बन्द रहेको माइतीघर आन्दोलनमा भेटिएका त्रिवि शिक्षण अस्पतालका एक आवासीय चिकित्सक डा. सुमन आचार्यले बताए।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालले  पनि चिकित्सकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको र बहिरंग सेवा बन्द रहेको जनाएको छ।  

आवासीय चिकित्सकहरूका मागप्रति सरकार सकारात्मक भएको र उनीहरूको माग पूरा गर्न लागिपरेको अवस्थामा सेवा नै ठप्प पारेर आन्दोलन गर्न नहुने बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी। उनका अनुसार उनीहरूको मागबारे बिहीबार आवासीय चिकित्सकका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, चिकित्सकका प्रतिनिधि र अन्य सरोकारवालाबीच वार्ता भए पनि निष्कर्षमा पुगेन।

आवासीय चिकित्सकहरूले भने सरकारले आफ्ना मागमा खासै चासो नदिएको भन्दै वार कि पार आन्दोलन गर्ने भन्दै शनिबार बृहत् प्रदर्शन गर्ने बताएका छन्। यसका लागि उपत्यका बाहिरका शिक्षण अस्पतालमा रहेका आवासीय चिकित्सकहरू काठमाडौं आउँदै रहेको उनीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.