|

सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा निधन भएको छ। दमास्कसस्थित आफ्नै घरमा उनको निधन भएको हो।

दमास्कसस्थित अब्बासियन अस्पतालका चिकित्सकले उनको निधन हृदयाघातले भएको बताएका छन्। दमास्कसस्थित आफ्नै घरमा शनिबार उनको निधन भएको पत्रकार यारुब अलिसाले पुष्टि गरे। ‘शनिबार हामीले उहाँलाई पटक–पटक फोन गर्दा कुनै प्रतिक्रिया नआएको र त्यसपछि हामी उहाँको घरमा गयौँ, हामीले उहाँलाई भेट्दा सोफामा मृत अवस्थामा भेट्टायौँ’, उनले भने।

उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उहाँका उपन्यास, टेलिभिजन पटकथा र अखबारका स्तम्भहरूका विश्व जगतले चिन्छ। ​खलिफाले सन् १९९० को दशकको सुरुमा धेरै लोकप्रिय सिरियाली टिभी शृङ्खलाहरूको लेखकको रूपमा समेत ख्याति प्राप्त गरेका थिए।

उनी सत्ताधारी बाथ पार्टी र अधिकारीहरूको आलोचना गर्ने कट्टर विरोधी स्तम्भकारको रूपमा चिनिन्छन्। सन् २०११ को गृहयुद्ध शुरू भएपछि सरकारविरोधी प्रदर्शनको दमनका बाबजुत देशमा नै रहन रोजेका थिए।

सन् २०१९ मा एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘म बसिरहेको छु किनभने यो मेरो देश हो। म यहाँ जन्मेको हुँ। म यहीँ बस्छु र म यहीँ मर्न चाहन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.