अनुत्तीर्ण हुनेमा चीन तथा बंगलादेशमा पढेर आउनेको संख्या धेरै

|

काठमाडौं : एमबीबीएस उत्तीर्ण गरिसकेपछि क्लिनिकल प्राक्टिस अर्थात बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गर्नुपर्छ, जसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ।

तर काउन्सिलले लिने यही लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण भएका धेरै जना फेल हुने गरेका छन्।

पछिल्लो पटक काउन्सिलले असोज १० देखि १२ असोजसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्रमा मेडिकलतर्फ १ हजार ४९१ र डेण्टलतर्फ ३२० जना गरी जम्मा १ हजार ८११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ जना (४४.४० प्रतिशत) र डेण्टलतर्फ १७१ जना (५३.४४ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्।

यो समग्र रुपमा लाइसेन्स परीक्षामा सहभागी भएकामध्ये ४६ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्। 

यसपटक एमबीबीएसतर्फ लाइसेन्स परीक्षा दिनका लागि कुल १ हजार ५१३ जनाले काउन्सिलको फारम भरेका थिए। तीमध्ये १ हजार ४९१ जना सहभागी भएका थिए।

सहभागीमध्ये ६६२ जना उत्तीर्ण भएका छन्। काउन्सिलको परीक्षामा २२ जना अनुपस्थित भएको र ३ जनाको नतिजा स्थगन (विथहेल्ड) गरिएको छ। यसअघि जेठ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको ६६औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा पनि सहभागी भएकामध्ये ३८.३९ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए।

काउन्सिलको विवरण हेर्दा यसरी लाइसेन्स परीक्षा दिनेमध्ये आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण हुने गरेको देखिन्छ।

एमबीबीएसतर्फ ४ वर्ष सैद्धान्तिक अध्ययन र १ वर्ष प्रयोगात्मक अभ्यास पढेर पास भएपछि मात्र एमबीबीएसको पढाइ पूरा हुन्छ। यसरी उत्तीर्ण भएपछि एउटा व्यक्ति डाक्टर बन्छ तर बिरामीको उपचार गर्न मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण गर्नै पर्छ। नगरे बिरामीको उपचार गर्न पाइँदैन।

नेपालका विभिन्न मेडिकल कलेजमा होस् वा विदेशका मेडिकल कलेजमा एमबीबीएस उत्तीर्ण गरेर आएपछि काउन्सिलले लिने लाइसेन्स परीक्षा पास गरेपछि मात्रै उक्त चिकित्सकले बिरामीको उपचार गर्न (क्लिनिकल प्राक्टिस) गर्न पाउँछ।

किन धेरै अनुत्तीर्ण हुन्छन् लाइसेन्स परीक्षामा

हाल लाइसेन्स परीक्षामा फेल हुनेमध्ये अधिकांश परीक्षार्थी चीन र बंगलादेशमा अध्ययन गरेर आएकाहरु रहेको काउन्सिलले जनाएको छ। यतिमात्र होइन नेपालकै मेडिकल कलेजमा अध्ययन गरेकामध्ये पनि ४० प्रतिशत फेल हुँदै आएका छन्।

‘खासमा एमबीबीएस लाइसेन्स परीक्षामा परीक्षार्थीहरुले ५ वर्ष लगाएर पढेका विषयवस्तुबाट नै प्रश्न सोधिन्छ तर हाम्रोमा चीन‚ बंगलादेश मात्रै होइन नेपालकै मेडिकल कलेजमा अध्ययन गरेकाहरुमध्ये पनि ४० प्रतिशत फेल हुने गरेका छन्‚’ काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले भने।

काउन्सिल रजिष्ट्रार डा अधिकारीका अनुसार एमबीबीएसतर्फ ४६ प्रतिशत लाइसेन्स परीक्षामा पास हुनु नै राम्रो रहेको बताउँछन्। उनका अनुसार एमबीबीएस उत्तीर्ण भए पनि लाइसेन्स परीक्षा पास नहुँदासम्म विरामी परीक्षण गर्न नपाउने हुँदा उत्तीर्ण नहुन्जेलसम्म परीक्षार्थीले जाँच दिइरहने हुँदा धेरै फेल भएको देखिने गर्छ।

‘विद्यार्थीले ५ वर्षसम्म पढेरै आएको विषयवस्तुको आधारमा परीक्षा लिने गरिन्छ तर परीक्षामा पटक पटक सहभागी हुँदासमेत पास हुन सक्दैनन्, लाइसेन्स पास नहुँदासम्म बिरामी हेर्न नपाउने हुँदा परीक्षार्थीले पटक पटक परीक्षा दिइरहन्छ त्यही खालका विद्यार्थीले गर्दा फेल हुने दर धेरै भए जस्तो देखिएको हो तर अहिलेको लाइसेन्समा उत्तीर्ण हुने दर सन्तोषजनकै छ‚’ काउन्सिलका रजिष्ट्रार अधिकारीले भने‚ ‘ अर्कोतर्फ फेल हुनेमा विद्यार्थीहरुको अध्ययनमा मेहेनतमा प्रश्न उठ्छ, केही प्रतिशत उनीहरु अध्ययन गरेको कलेजहरुको गुणस्तर पनि हो तर हाम्रा धेरैजसो विद्यार्थी चीन र बंगलादेशमा पढेर आउनेहरु फेल हुने गरेको पाइएको छ।’

काउन्सिलका अर्का एकजना सदस्यका अनुसार चीन र बंगलादेशमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गुणस्तर निकै कमजोर हुने भएकाले उनीहरुले १० पटकसम्म पनि लाइसेन्स परीक्षा पास गर्न नसक्ने र हरेक पटक यस्ता परीक्षार्थीको संख्या बढ्दै जाने हुँदा लाइसेन्स परीक्षामा फेल हुनेको संख्या बढ्न पुगेको हो।

‘चीन तथा बंगलादेशका केही मेडिकल कलेजबाट पढेर आएका विद्यार्थीको शैक्षिक गुणस्तर यति कमजोर हुन्छ कि उनीहरुले एमबीबीएस पढ्दा जान्नुपर्ने बेसिक कुराहरु पनि जानेको पाइँदैन‚ यस्ता विद्यार्थीहरु १०/१५ पटकसम्म लाइसेन्स परीक्षा दिँदा पनि पास हुन सक्दैनन्‚’ काउन्सिलका ती सदस्यले भने।

यता चिकित्सा शिक्षामा खस्किँदै गएको शैक्षिक गुणस्तरमा अब विस्तारै सुधार हुने बताउँछन् चिकित्सा शिक्षा आयोगमा निवर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी।

उनका अनुसार आयोग आएपछि नेपालका मेडिकल कलेजहरुको शैक्षित्र गुणस्तरमा सुधार आएका कारण वार्षिक परीक्षामा विद्यार्थी फेल हुने दर एकदमै घटेकोले अब ती विद्यार्थी एमबीबीएस उत्तीर्ण भएर आएपछि काउन्सिलको लाइसेन्स परीक्षामा पास हुने दर बढ्न सक्नेछ।

प्राडा गिरीले भने‚ ‘मेडिकल शिक्षामा शैक्षिक गुणस्तर खस्किएकै हो तर आयोग स्थापना भएपछि मेडिकल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भने अध्ययनको स्तर सुधारिएको छ किनकि आयोग स्थापना भएपछि एमबीबीएस अध्ययन गर्न थालेका विद्यार्थी अहिले तेस्रो वर्षमा पढिरहेका छन् तर उनीहरुको पहिलो र दोस्रोको वर्षमा पास हुने दर बढ्दो छ। अब यी विद्यार्थी एमबीबीएस उत्तीर्ण भएपछि चिकित्सकको लाइसेन्स परीक्षा दिँदा पास हुने दर पक्कै बढ्छ।‘

काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा सैद्धान्तिक ज्ञानको मात्रै नभएर विद्यार्थीको सिपको समेत जाँच लिनुपर्ने अवस्था आएको बताए।

यसरी लिन्छ काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा

एमबीबीएस पढाइ पूरा गरिसकेपछि क्लिनिकल प्राक्टिस गर्नका लागि काउन्सिलबाट लाइसेन्स परीक्षामा पास हुनै पर्छ। यसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ। 

यसरी लिने परीक्षा सबै पेपरलेस हुने रजिष्ट्रार डा अधिकारीको भनाइ छ। उनका अनुसार परीक्षामा सहभागी हुन परीक्षार्थीले अनलाइनबाट आफूले एमबीबीएस पूरा गरेको प्रमाणपत्रसहित फाराम भर्नुपर्छ।

यसरी भरेको फारामलाई काउन्सिलले अनलाइनबाटै कागजपत्र जाँच गरी भेरिफाई गर्छ र परीक्षाका लागि योग्य भए इ-मेलबाट प्रवेशपत्र पठाइदिन्छ। परीक्षार्थीले लाइसेन्स परीक्षा दिन आउँदा त्यो प्रवेशपत्र प्रिन्ट गरेर प्रवेशपत्रसहित परिचय खुल्ने आफ्नो अरू कुनै कागजपत्र पनि साथमै ल्याउनुपर्छ।

परीक्षार्थीलाई परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि तीन ठाउँमा जाँच (चेक) गरिन्छ। पहिलो चेकमा परीक्षार्थीको प्रवेशपत्र जाँच गरिन्छ। विद्यार्थीलाई प्रवेशपत्र दिँदा बारकोड राखिएको हुन्छ। यसरी प्रवेशपत्र चेक गर्दा उक्त बारकोड र प्रवेशपत्रमा भएको फोटो र प्रत्यक्ष रूपमा सहभागी भएको मानिससँग दाँजेर चेक गरिन्छ।

दोस्रो र तेस्रो चेकमा परीक्षार्थीको झोला, मोबाइल चेक गरिन्छ। परीक्षार्थीले प्रवेशपत्रबाहेक केही लैजान पाउँदैन। १५ जना परीक्षार्थी बराबर एक जना निरीक्षक खटिएका हुन्छन्।

अर्को महत्वपूर्ण कुरा यो परीक्षामा एक पटक सोधिएको प्रश्न अर्को पटक सोधिँदैन। तर प्रश्नहरु भने सबै मेडिकल कलेजहरुमा चिकित्सा शिक्षा अध्यापन गराइरहने ५० जना चिकित्सकले नै बनाउँछन्।

परीक्षामा २३ वटा विषयमा प्रश्नहरु बनाइएका हुन्छन्। जुन विद्यार्थीहरुले एमबीबीएस अध्ययन गर्दा नै समेटिएका विषयवस्तुहरुमा आधारित हुन्छन्। ​कम्प्युटर प्रणालीबाट लिने परीक्षा काउन्सिलले प्रायः पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा लिने गर्छ।

परीक्षाको सम्पूर्ण नतिजा नआएसम्म त्यहाँ रहेका र अनुगमन गर्न गएका स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषद्लगायतका अधिकारी तथा परीक्षा गराउन सहभागी भएकाहरूलाई बाहिर जान दिइँदैन। 

काउन्सिलले परीक्षामा मोबाइललगायतका उपकरणको उपयोग गर्न नदिन लागि र परीक्षामा चोरी र अनियमितता हुन नदिन 'जामर'को समेत प्रयोग गर्छ। एक पटक परीक्षामा फेल भएकाहरूले ४ महिनापछि पुन: परीक्षा दिन पाउने व्यवस्था भने काउन्सिलले गरेको छ। पास नहुन्जेलसम्म चिकित्सकहरुले लाइसेन्स परीक्षा दिइरहन पाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.