|

काठमाडौं : सरकारले विकसित मुलुकमा फेलोसिपमा अध्ययन गर्न गएका चिकित्सकहरूलाई स्वदेश फर्काउने कार्यविधि लागू नै नगरी हाल खारेज गरेको छ।

यसरी फेलोसिपमा जानेहरू अध्ययनपश्चात् पनि नेपाल नफर्किएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ सालमा नयाँ कार्यविधि ल्याएको थियो। ‘संयुक्त राज्य अमेरिकालगायतका विकसित मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरूका लागि आवश्यकताको पत्र जारी गर्ने सम्बन्धमा बनेको स्तरीय कार्य सञ्चालन कार्यविधि’ नाम दिइएको कार्यविधि ल्याइएको थियो।

उक्त कार्यविधि सञ्चालन नहुँदा विदेश पढ्न गएका विद्यार्थीहरू फर्किनुपर्ने बाध्यात्मक अवस्था लागू हुन सकेको छैन। यसले गर्दा विभिन्न प्रकारका फेलोसिप तथा अध्ययनका लागि सरकारको सिफारिसकै आधारमा अमेरिका लगायतका विकसित मुलुकमा अध्ययन गर्न जाने चिकित्सकहरू उतै पलायन हुन थालेका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने‚ ‘धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सरकारको सिफारिसमै फेलोसिप तथा अध्ययनका लागि विकसित देशमा जाने र नफर्कने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न कार्यविधिको बनाइएको थियो। अहिले त्यो कार्यविधि पनि रद्द  भइसकेको छ।’

उक्त कार्यविधिमा स्वास्थ्य मन्त्रालयको आवश्यकता पत्र प्राप्त गरी विकसित देशमा फेलोसिप तथा अध्ययन गर्न गएका चिकित्सकहरूले अध्ययनपछि नेपाल आएर काठमाडौं उपत्यकामा भए कम्तिमा दुई वर्ष र उपत्यकाबाहिर भए कम्तिमा एक वर्ष स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने थियो।

साथै यसरी अध्ययन र फेलोसिपमा जान नेपालमा अनिवार्य एक वर्ष स्वास्थ्य सेवा गरेको हुनुपर्थ्यो भने छात्रवृत्ति करार अनिवार्य पूरा गरेको पनि हुनुपर्थ्यो। यसले फेलोसिप र अध्ययनमा जाने विषयमा पनि पारदर्शी हुन्थ्यो।

कार्यविधिको बुँदा नं. ८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नेपाल फर्किने कानुन कबुलियत गरेको व्यक्ति तोकिएको अवधिभित्र नेपाल नफर्किए परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशको दूतावासमा पत्राचार गरी फर्काउने कानुनी प्रक्रिया शुरु गरिने व्यवस्था समेटिएको थियो।

मन्त्रालयका अर्का उच्च अधिकारीले भने‚ ‘नयाँ कार्यविधि कहाँबाट कसरी स्थगित भयो‚ हामी पनि अचम्म छौँ। यो कार्यविधि कार्यान्वयन भए फेलोसिपका लागि भन्दै मन्त्रालयको सिफारिसमा विदेश जाने र उतै बस्ने चिकित्सकलाई फर्काउन सकिन्थ्यो। सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने‚ फेलोसिपको बहानामा बाहिर जाने र उतै बस्ने प्रचलन बढ्दो छ।’

आवश्यकता पत्र लिएर गएका कति चिकित्सक फर्किए वा फर्किएनन् भन्ने यकिन तथ्यांक पनि मन्त्रालयसँग छैन।

यसरी फेलोसिपमा जाने धेरै चिकित्सकहरू उतै बस्ने गरेको अनौपचारिक सूचना मन्त्रालयमा आउने गरेको छ। यसलाई रोक्न नेपालमा पढाइ हुने र नहुने विषयको सूची बनाउने र नेपालमै फेलोसिप हुने पढाइका लागि विदेश पठाउन नहुने र त्यसको लागि चिकित्सा शिक्षा आयोगले नेतृत्व गर्नुपर्ने बताउँछन्‚ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी।

यस्तो थियो‚ कार्यविधि

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.