|
फाइल तस्वीर

विराटनगर : धरानको साँघुरो गल्लीको क्याफेमा के छैन‚ सबथोक छ। त्यहाँ खानाका परिकार र पेय पदार्थ सबै थोक छ।

हुक्काको धुँवासँगै उडेका थुप्रै युवायुवतीका स्वर्णिम सपना छन्। जुन कोठामा बलेका झिलिमिली बत्तीको किरण छलेर भित्तामा टाँसिएका पोस्टरलाई अंकमाल गर्दै त्यतै कतै रुमलिएझैँ भान हुन्छ।

त्यो कोठाभित्रको माहोल नियाल्ने हो भने त्यहाँ एउटा छुट्टै संसार छ। त्यही संसारको एक छेउ क्याफेको भित्तापट्टि एक हुल युवायुवती हुक्काको सर्कोसँगै चुरोट र चियाको चुस्कीको मजा लिँदै आफ्नो भविष्यका बारेमा छलफल गर्दै थिए।

नाकमुखबाट बाक्लो धुँवाको मुस्लो निकाल्दै एकजनाले भने‚ ‘यार! म त नेपाल बस्दिनँ‚ पढाइ सकियो अब युरोपतिर जाने हो।’ नेपालमा पढाइको प्रमाणपत्र हातमा भए पनि अवसरको बाटो कम भएको बुझाइ राख्ने उनी धनकुटाबाट अध्ययनका लागि धरान झरेका रहेछन्।

दाजु कोरियामा भएकाले आफू अष्ट्रेलिया वा राम्रो अवसर पाए अन्य कुनै देश जाने विचार रहेको बताउने रविन लिम्बूले लाहुरे हुने सपना त्यागेको सुनाए।

खोटाङका अशोक राई पनि लाहुरे बन्ने सपना सजाउँदै धरान झरेको बताए।​ ब्रिटिश लाहुरे हुने सुखद परिकल्पना गरेका उनी दुईपटकसम्म पनि सफल नभएपछि कोरियाली भाषा परीक्षा दिने तयारीमा रहेको बताउँछन्। उनी भन्छन्, ‘परिवार‚ देश छोडेर विदेशिनु रहरभन्दा पनि बाध्यता हो।’

बुढीगंगा– २ का धर्मेन्द्र ऋषिदेव मुसहर समुदायबाट नेता बन्ने उद्देश्यले राजनीतिमा होमिएका थिए। उनी केही दिनअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका छन्। देशको परिस्थिति र आर्थिक विपन्नताका कारण परदेशिनु परेको बताउँदै उनले नेपालमै केही गर्ने सोच बनाए पनि अवसर नभएको गुनासो गरे।

लामो समय विद्यार्थी राजनीति गरेका उनी आर्थिक अवस्था कमजोर हुँदा टिक्ने अवस्था नरहेको बताए। ‘यहाँ लागूऔषध बेच्नेलाई राजनीतिक संरक्षण र व्यवस्थापन हुन्छ’, उनले भने‚ ‘हामी भुईँ मान्छेलाई संरक्षण नगर्ने प्रचलन छ, प्रगतिशील भन्नु त दर्शनमा मात्रै रहेछ।’ अब केही वर्ष अर्काको देशमा श्रम बेचेर पुनः नेपाल फर्किएर केही गर्ने उनी बताउँछन्।

पछिल्लो समय पढाइ सकेका होस् वा घरगृहस्थी चलाउन नेपाली युवायुवतीको सपना बनेको छ विदेश। यसै भीडमा केही युवायुवती लोकसेवाको परीक्षातर्फ कम्मर कस्छन्। अलिक सम्पन्न परिवारको सन्तानको सपना हुन्छ, युरोप, अमेरिका र अष्ट्रेलिया।

आफूले देख्ने सपनामा पनि असमानताको जरा त्यसरी नै गाडिएको छ, जसरी समाजमा धनी र गरिबको भागबण्डा लागेको छ। देशको राजनीतिक खिचातानी, आर्थिक अवस्थाले पनि दैनिक जस्तो हजारौँ युवा विदेश पलायन हुने गरेका छन्। सुशासन,समृद्धि र युवालाई देशमै रोजगारी प्रदान गर्ने नेताहरूका भाषण र एजेण्डा केवल चुनावी नारा मात्रै रहेको युवा पुस्ताको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.