|

जुम्ला : जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। जुम्लाका बालबालिकामा रहेको कुपोषण हटाउन पौष्टिक आहार वितरण गरिएको हो।

बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ।

गर्भवती तथा दुई वर्षमुनिका बालबालिकालाई मासिक तीन किलोका दरले पौष्टिक आहार प्रदान गरिने डिल्लीचौर स्वास्थ्यचौकीका कार्यवाहक प्रमुख सर्जन शाहीले बताए। यसले बालबालिकाको कुपोषण दर केही घटेको उनले बताए।

उनले जाडो मौसममा हिमपातका कारण ढुवानी नहुँदा यहाँका बालबालिकाले दुई महिना पोषिलो पीठो खान नपाउने गरेको बताए। एमडीआई नेपालले उक्त पोषण वितरण गर्दै आएको छ।​

त्यसैगरी जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको खाने बानीमा परिवर्तन ल्याउन आवश्यक भएको बताए। उनले भने, ‘पोषिलो खान नपाउँदा रोग लाग्छ। जुम्लामा पोषणयुक्त स्थानीय उत्पादन धेरै भए पनि यहाँका बालबालिका खाना नपाएर होइन, खान नजानेर कुपोषित हुन्छन्।’ 

त्यस्तै जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले पोषक तत्त्वको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्या आउँछन्।

खानामा पाइने तत्त्वलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गलाई दैनिक काम गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ। बालबालिकाको विकासात्मक चरण\अनुरूप आवश्यक पोषक तत्त्वको असन्तुलित अवस्थालाई कुपोषण भनिन्छ।​

एमडीआई नेपालका जिल्ला संयोजक नवराज रावलले बच्चाको शरीरको मापन गरेर, शरीरका लक्षण हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाइने बताए। उनले भने, ‘हामीले बालबालिकामा हुने कुपोषण दर घटाउन गर्भवती र सुनौला हजार दिनका आमाहरूलाई सचेतनाका कार्यक्रम पनि गर्दै आएका छौँ।’

कुपोषणमा बालबालिकाको उचाइअनुसारको तौल कम हुन्छ। उनले पोषणबारे चेतनाकै कमीका कारण स्थानीयको बानी व्यवहारमा सुधार आउन नसकेको बताए। उनका अनुसार स्थानीय स्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका छन्।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले महिला गर्भवती भएदेखि स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलाको खानपानमा विशेष ध्यान दिनुपर्ने बताए। गर्भावस्थादेखि अण्डा,गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल, सागपात, फलफूल, सर्वोत्तम पीठो, ज्वानोलगायतका वस्तु खाए कुपोषण दर घटाउन सकिन्छ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म कुपोषण देखिने बताए। उनले ग्रामीण क्षेत्रमा खाना छोडेर बाहिरबाट आएको आयातित बस्तु खाने गरेको बताए। उनले भने, ‘बालबालिकालाई चाउचाउ, बिस्कुट जस्ता खानेकुरा दिन कम नगरेसम्म कुपोषण देखिने निश्चित छ।’

बालबालिकालाई कुपोषणबाट बचाउन बनाइएका सरकारी नीति तथा कार्यक्रम प्रभावकारी हुन सकेका छैनन्। पोषणबारे जानकारी पाएकाहरूले पनि व्यवहार परिवर्तन नगर्दा यहाँका बालबालिकामा कुपोषण दर बढ्दो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.