|

काठमाडौं : २०७४ सालमा नर्भिक अस्पतालमा दायाँ गोडाको अपरेशन गर्नुपर्नेमा बायाँ गोडाको अपरेशन गरेको भन्दै चिकित्सकमाथि छानबिन सुरु गरियो। छानबिनका क्रममा चिकित्सकको लापर्बाही ठहर गर्दै उपचारमा संलग्न दुई चिकित्सकलाई एक महिनाका लागि निलम्बन गरिएको थियो।​

यसैगरी योगेन्द्रबहादुर बस्नेतको २०७९ सालमा जेठ २२ गते मेडिसिटी अस्पतालमा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएको भन्दै उनलाई २४ घण्टापछि वार्डमा सारिएको थियो। त्यसको भोलिपल्टै बस्नेतले शल्यक्रिया गरेको ठाउँमा दुखेको बताएपछि रक्तचाप, पल्स लगायत जाँच गरिएको थियो।

त्यस वेला सबै सामान्य भएको भनियो। त्यसपछि बिरामी शौचालय जाने क्रममा लडे। घाइते भएका बस्नेतको मुख बांगियो। त्यसपछि बस्नेतलाई दुईजनाको सहयोगमा शय्यामा लगियो। शौचालयमा लडेको केही समयपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आएर इको गर्दा बस्नेतको मुत्यु भएको थाहा भयो।

उपचारमा चिकित्सकले लापर्बाही गरेको भन्दै उनका छोरा समीर बस्नेतले मेडिकल काउन्सिलमा उजुरी हाले। बुवाको मृत्युपछि समीरले उपचारका क्रममा लापरबाही भएको भन्दै दोषीलाई कारबाहीको मागसहित असार २८ गते काउन्सिलमा उजुरी दिए।

उजुरीपछि काउन्सिलले गरेको छानबिनका क्रममा उपचारका क्रममा चिकित्सकहरूले व्यावसायिक आचरण पालना नगरेको भेटियो र काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा. सुनिलकुमार शर्मा र डा. राजीव मिश्रलाई चिकित्सकीय व्यावसायिक आचरण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गर्‍यो।​​

उपचारका क्रममा चिकित्सकमाथि शंका लागी बिरामीका आफन्तले दिएका उजुरीमा मेडिकल काउन्सिलले छानबिन गरेर  बिरामीको उपचारमा चिकित्सकले त्रुटि गरेको ठहर गर्दै पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ।

मेडिकल काउन्सिलको तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो। जसमा छानबिनका क्रममा १७ जना चिकित्सक दोषी ठहर भएका थिए। काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार आव २०७८।०७९ मा काउन्सिलमा ४६ वटा उजुरी परेका थिए।

यसैगरी काउन्सिलमा आव २०७९।०८० मा २० वटा उजुरी परेका थिए। यो प्रतिनिधि घटना मात्रै हो तर अस्पतालमा उपचारमा जाने धेरै बिरामी र उनका आफन्तलाई उपचारको क्रममा चिकित्सकले लापर्बाही गरेको शंका लागेका उजुरी गर्ने संस्था मेडिकल काउन्सिल छ। यसले निष्पक्ष छानबिन गर्छ भन्ने धेरै बिरामीका आफन्तलाई थाहा छैन।

यसले गर्दा बिरामीका आफन्तहरू चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रिने गरेका छन्। मेडिकल काउन्सिलले उपचारका क्रममा शंका लागेर बिरामी तथा उनीहरूका आफन्तले उजुरी हाले मात्रै छानबिन गर्ने हुँदा धेरै बिरामीका आफन्त काउन्सिलमा उजुरी दिनभन्दा चिकित्सकमाथि हातपात गर्ने घटना बढ्नु दुःखदायी भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी बताउँछन्।

‘अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा छानबिन गर्ने प्रमुख निकाय नेपाल मेडिकल काउन्सिल हो। यो विषय काउन्सिलको नियमावलीमै चिकित्सकको आचारसंहिता उल्लेख छ। हामीले त्यसका लागि वकिल तथा एकजना फरेन्सिक चिकित्सक र आवश्यक परे अन्य विज्ञ चिकित्सक नियुक्त गरेर उजुरी परेका घटनाको छानबिन गर्छौँ तर धेरैले काउन्सिलमा उजुरी दिनु हुन्न। त्यसमा हामीले जनतालाई बुझाउन सकेनौँ कि जनताले यसमा ध्यान दिएनन् भन्ने समीक्षा गर्नुपर्ने अवस्था आएको छ’‚ काउन्सिलका रजिष्ट्रार डा. अधिकारीले भने‚ ‘अधिकांश सर्वसाधारणलाई उजुरी दिएमा काउन्सिलले छानबिन गर्छ भन्ने थाहा छैन। यसबारे ज्ञान भएकाहरूले पनि काउन्सिलमा उजुरी गर्दैनन्। आफ्नो उजुरीमाथि काउन्सिलले गम्भीरतापूर्वक छानबिन गर्छ भन्नेमा अधिकांश बिरामी र उनीहरूका आफन्तलाई विश्वास नभएको पनि देखिएको छ। यो विषयलाई सबैले चिर्नुपर्ने अवस्था आएको छ।’

काउन्सिलले उपचारमा लापर्बाही भएको शंका लागे काउन्सिलमा उजुरी दिन पाइने लगायतका विषय ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा सूचना पठाइएको समेत रजिष्ट्रार अधिकारीले बताए।

काउन्सिलका एक सदस्यका अनुसार यसरी उपचारमा लापर्बाही गरेको शंका लागेर काउन्सिलमा उजुरी हाले पनि समयमा छानबिन नहुने क्षतिपूर्ति पाउन समस्या हुने तथा मुख्य गरी निष्पक्ष छानबिन हुनेमा विश्वास नगरेर बिरामी तथा बिरामीका आफन्तले कम उजुरी दिने गरेका छन्।

ती सदस्यले भने‚ ‘उपचारमा लापर्बाही गरेको शंका लागेर काउन्सिलमा उजुरी हाल्नुपर्छ भन्ने विषय धेरैलाई थाहा छ तर समयमा छानबिन नहुने क्षतिपूर्ति पाउन समस्या हुने तथा मुख्य गरी निष्पक्ष छानबिन नहुने जस्ता शंका गरेर उजुरी हालेको पाइँदैन भने केहीलाई यसरी उजुरी हाल्न पाइन्छ भन्ने थाहै छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.