२०औँ एशियाड जापानको नागोयामा हुने

|

ललितपुर : एशियाली खेलकुद प्रतियोगितामा चीनको वर्चस्व कायमै रहेको छ। छिमेकी राष्ट्र भारतबाट शुरु भएको एशियाली खेलकुद प्रतियोगिताको इतिहास ७२ वर्ष पुरानो भइसक्यो।

शुरुवाती ८ संस्करणसम्म सबैभन्दा धेरै पदक जित्ने गरेको जापानलाई नवौँ संस्करणको एशियाडदेखि चीनले पछि पार्दै आएको छ। सन् १९८२ को दिल्ली एशियाडदेखिको निरन्तर अग्रपंक्तिमा रहेको चीन भर्खरै सम्पन्न १९ औँ संस्करणको एशियाडमा पनि पदक तालिकाको पहिलो स्थानमा रह्यो।

विश्वका सबै देशको प्रतिस्पर्धा हुने ओलम्पिकमा समेत अमेरिकालाई टक्कर दिँदै शीर्ष दुईमा पर्ने चीनले एशियाली भूमिमा करिब ४२ वर्षदेखि एकछत्र राज गरिरहेको छ। 

सन् १९९० मा चीनको बेइजिङ र सन् २०१० मा चीनको ग्वान्झाओमा एशियाड आयोजना गरेपछि हाङचाउमा भएको एशियाड चीनका लागि अहिलेसम्मकै सबैभन्दा उपलब्धिमूलक रह्यो। आयोजक चीनले सर्वाधिक कीर्तिमानी २०१ स्वर्ण पदक जित्दै पहिलो भएको छ। 

यसअघि सन् २०१० मा आफ्नै देश ग्वान्झाउमा भएको १६ औँ एशियाडमा १९९ स्वर्ण जितेको चीनले हाङचाउमा भएको एशियाडमा २०१ स्वर्ण जितेको हो। चीनले सर्वाधिक २०१ स्वर्णसँगै १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो। 

यस्तै २० औँ संस्करणको एशियाली खेलेको आयोजना गर्ने जिम्मा लिएको जापान ५२ स्वर्ण‚ ६७ रजत र ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रो स्थानमा रह्यो। 
सन् २०२६ मा हुने २०औं संस्करणको एशियाड जापानको आइची नागोयामा हुने भएको छ। 

हाङचाउस्थित हाङचाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आइतबार भव्य समारोहबीच १९ औँ एशियाडको समापन भएको थियो। हाङचाउ एशियाडमा तेस्रो भएको दक्षिण कोरियाले ४२ स्वर्ण‚ ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो।

एशियाली खेलकुदको जन्मदाता राष्ट्र भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण पदक जित्न सक्यो। उसले ३८ रजत र ४१ कांस्यसहित १०७ पदक जित्दै चौथो स्थानमा रहन सफल भयो। 

पाँचौं स्थानमा रहेको उज्वेकिस्तानले २२ स्वर्ण‚ १८ रजत र ३१ कांस्य पदक जित्दा छैटौँ स्थानको चाइनिज ताइपेईले १९ स्वर्ण‚ २० रजत र २८ कांस्य पदक प्राप्त गर्‍यो। 

इरान १३ स्वर्ण‚ २१ रजत र २० कांस्य पदकसहित सातौँ स्थानमा रहँदा थाइल्याण्ड १२ स्वर्ण, १४ रजत र ३२ कांस्यसहित आठौँ स्थानमा आयो। १२ नै स्वर्ण‚ ३ रजत र ५ कांस्य पदक आफ्नो पक्षमा पारेको बहराइन नवौँ तथा उत्तर कोरिया ११ स्वर्ण‚ १८ रजत र १० कांस्यसहित १० औँ स्थानमा रह्यो। 

हङकङले ८, इण्डोनेशियाले ७ र मलेशियाले ६ स्वर्ण जित्दा युएई र कतारले पनि ५/५ स्वर्ण आफ्नो पक्षमा पारे। फिलिपिन्स, किर्गीस्तान र साउदी अरबले पनि ४/४ स्वर्ण आफ्नो नाममा लेखाउँदा सिंगापुर, मंगोलिया, भियतनाम र कुवेतले पनि ३/३ स्वर्ण जिते। 

ताजिकिस्तानले २ स्वर्ण पदक जित्दा मकाउ, श्रीलंका र म्यानमारले पनि १/१ स्वर्ण हात पारे। कुल २७ देशले स्वर्ण जित्दा ८ वटा देश रजत पदकभन्दा माथि उठ्न सकेनन्। यसबाहेक अरु ७ वटा देशले कांस्य पदकभन्दा माथिल्लो पदकमा आफ्नो नाम लेखाउन सकेनन्। 

भारतबाहेक कमजोर दक्षिण एशियाली राष्ट्र

भारतले ऐतिहासिक पदक जित्दा अरु दक्षिण एशियाली राष्ट्रले खासै चमत्कार देखाउन सकेनन्। भारतपछि श्रीलंकाले १ स्वर्ण पदक जित्न सक्दा अरु राष्ट्रले स्वर्णसमेत जित्न सकेनन्।

श्रीलंकाले १ स्वर्ण‚ २ रजत र २ कांस्य पदक आफ्नो पोल्टामा पार्दा अफगानिस्तान, पाकिस्तान र नेपालले रजतभन्दा माथिल्लो पदक ल्याउन सकेनन्।

अफगानिस्तानले १ रजत र ४ कांस्य पदक जित्दा पाकिस्तानले १ रजत र २ कांस्य पदक हात पारेको छ।

नेपालले १ रजत र १ कांस्य पाउँदा बंगलादेशले २ कांस्य पदक हात पारेको छ। ४५ राष्ट्र सहभागी एशियाडमा ४१ राष्ट्रले पदक जितेका थिए।

दक्षिण एशियाली राष्ट्र भुटान र माल्दिभ्ससँगै यमन र टिमोर लिस्टेले पनि कुनै पदक जित्न सकेनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.