२९ खेलमा २५३ जना सहभागी पदक भने १ रजत र १ कांस्य

|

ललितपुर : १९ औँ संस्करणको एशियाली खेलकुद समग्रमा नेपालका लागि सहभागितामै सीमित बनेको छ।

२९ खेलमा २५३ जना सहभागी भएर नेपालले केवल १ रजत र १ कांस्य मात्र जित्न सक्यो। ४५ वटै एशियाली राष्ट्र सहभागी भएको हाङझाउ एशियाडमा नेपालले ३२ औँ स्थान पायो।

१५ औँ संस्करणको दोहा एशियाडबाट गएका ३ वटा संस्करणमा १/१ वटा मात्र पदक जित्दै आएको नेपालले यसपटक भने पदकको संख्या २ पुर्‍याएको हो। त्यतिमात्र नभएर कराँतेबाट ऐतिहासिक रजत पदक पनि जित्न सफल भयो। 

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एशियाली खेलकुददेखि नै भाग लिँदै आएको नेपालका लागि पछिल्ला केही संस्करणदेखि सहभागिता धेरै भएपनि पदक जित्नु भने ‘आकाशको फल आँखा तरि मर’ भने जस्तै हुँदै आएको छ। 

राम्रो तयारी र बलियो लगानी गरेको भारत सफलतातर्फ लम्किरहँदा अन्य दक्षिण एशियाली राष्ट्र जस्तै नेपालको गति पनि सुस्ताउँदै गएको छ। खेलभित्र हुने राजनीति, कमजोर तयारी, न्यून लगानी नेपाली खेलकुदलाई अधोगतितर्फ लैजाने कारक हुन्। 

हाङचाउ एशियाडमा नेपाली जम्बो टोलीको सहभागितालाई लिएर समेत आलोचना भयो। पदक आउनेभन्दा पनि एशियाली खेलकुदमा पुगेर पनि सारै लज्जास्पद पराजय भोग्ने र संभावना कम देखिएका खेलमा पनि नेपाल सहभागी भयो।

पहिलो पटक सहभागी भएको रग्बी टिमले खासै राम्रो प्रदर्शन गर्न सकेन। पदकको आशा गरिएका खेलहरुमा समेत नेपालको प्रदर्शन उत्साहजनक देखिएन। 

पहिलो एशियाडमा जम्मा ११ देशले भाग लिँदा नै सहभागी भएको नेपालका लागि त्यो बेलाजस्तै अहिले पनि पदकमा संघर्ष गर्नु पर्‍यो।

नेपालले हालसम्म प्राप्त गरेको पदकमा तेक्वान्दो र बक्सिङकै हिस्सा बढी छ। यसपटक पनि यी खेलबाटै धेरै आशा गरिएको थियो तर तेक्वान्दो र बक्सिङबाट नेपालले कुनै पदक ल्याउन सकेन।

कराँतेबाट भने १ रजत प्राप्त भएको छ। अर्को पदक पहिलो पटक सहभागी भएको महिला कबड्डीबाट प्राप्त भयो। 

देशकै लागि खेलेर विश्वसामु नाम चिनाएका केही पूर्वराष्ट्रिय खेलाडीसमेत सम्बन्धित खेल छोडेर अन्य खेलको ब्यवस्थापक समेत बनेर चीन पुगेको यो एशियाड अरुले भनेजस्तै खेलाडीले पदक ल्याउनेभन्दा पनि पदाधिकारी र अरुलाई घुम्ने अवसर बन्न पुगेको भनेर सर्वत्र आलोचना भयो। 

नेपाललाई १ रजत र १ कांस्य

पछिल्ला ३ संस्करणमा १/१ पदकमा मात्र खुम्चिएको नेपालका लागि यो संस्करण पदकका हिसाबले सुधार देखिए पनि पदकको आशा गरिएका खेलबाट सोचेअनुसार प्रदर्शन हुन सकेन।

१ रजत र १ कांस्य पदक जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३२ औं स्थानमा रह्यो। ब्रुनाई र ओमानले पनि नेपालसरह पदक जितेका छन्।

सन् २०१८ मा इन्डोनेशियामा भएको १८औं एशियाडमा १ रजत पदकसहित ३३औं स्थानमा रहेको नेपालले १९ औँ संस्करणमा कराँतेबाट १ रजत र कबड्डीबाट १ कांस्य पदक जितेको छ।

कराँतेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कांस्य जितेका हुन्। पछिल्ला ३ संस्करणमा एउटा मात्र पदक जित्दै आएको नपालका लागि एक पदकको श्रृंखला भंग भएको छ।

नेपालले सन् २००६ को १५ औँ दोहा एशियाडपछि पहिलो पटक एकभन्दा बढी पदक पनि जितेको हो। सन् २०१० मा बक्सिङबाट र सन् २०१४ मा कराँतेबाट १/१ कांस्य पदक जितेको थियो। 

अहिलेसम्म ३ रजत र २३ कांस्यसहित २६ पदक 

नेपालले अहिलेसम्म ७२ वर्षे एशियाली खेलकुदको इतिहासमा ३ रजत र २३ कांस्य पदकसहित कुल पदकको संख्या २६ पुर्‍याएको छ। १८ औँ संस्करणसम्म २ रजत र २२ कांस्य जितेको नेपालले १९ औँ संस्करणमा थप १ रजत र १ कांस्य जितेर अहिलेसम्म जितेको कुल पदकको संख्या ३ रजत र २३ कांस्य पुर्‍याएको हो। 

सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न १० औँ एशियाडबाट पदक जित्न थालेको नेपालले त्यसपछि भएका सबै एशियाडमा पदकविमुख हुनुपरेको छैन। नेपालले १६ औँ एशियाडदेखि १८ औँ एशियाडसम्म लगातार १/१ वटा पदक मात्र जितेको थियो। 

इन्डोनेशियामा ४ वर्षअघि भएको एशियाडमा एउटा रजत पदक जितेको थियो। बक्सिङ, तेक्वान्दो, कराँते र पाराग्लाइडिङबाट मात्रै पदक ल्याएको नेपालले कबड्डीबाट पनि पदकमा नाम लेखाएको छ। 

सबैभन्दा धेरै तेक्वान्दोबाट १ रजत र १३ कांस्य जितेको नेपालले कराँतेबाट १ रजत र ३ कांस्य पदक जित्दा पाराग्लाइडिङमा १ रजत पदक हात पारेको छ। ७ वटा कांस्य पदक बक्सिङबाट मात्रै प्राप्त भएको छ। 

पहिलो सहभागितामै महिला कबड्डीमा कांस्य  

कबड्डीको महिला इभेन्ट्समा नेपालले कांस्य पदक जितेको छ। पहिलो पटक सहभागी भएको महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको हो।

७ राष्ट्रलाई दुई समूहमा विभाजन गर्दा समूह ए मा परेको नेपालले बंगलादेशलाई हराएको थियो भने इरानसँग हारेको थियो। समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल, भारतसँग हार्दै कांस्य पदकमा सीमित बनेको हो। 

२९ वटा खेलमा सहभागी भएर झण्डै पदकविहीन होला कि भन्ने आशंका उब्जिएको नेपालले एशियाली खेलकुदको उत्तरार्द्धतिर कबड्डीबाट कांस्य जित्यो। कांस्य पदक जितेको खुशीयाली मनाइरहँदा एशियाड समापनको अघिल्लो दिनमात्र नेपाली कराँते खेलाडीले झन् खुसी थपिदिइन्। 

एरिकाले ल्याइन् नेपालका लागि तेस्रो रजत 

१९ वर्षीय एरिका गुरुङले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जित्न सफल भईन्। उनले एशियाडमा देशका लागि तेस्रो रजत पदक दिलाईन् भने ब्यक्तिगत स्पर्धामा देशका रजत जित्ने दोस्रो खेलाडी बनिन्।

यसैगरी कराँतेबाट पहिलो रजत पदक जित्ने खेलाडी पनि बनिन्। सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले ब्यक्तिगत स्पर्धामा रजत पदक जितेकी थिईन् भने सन् २०१८ मा टिम इभेन्टसमा प्याराग्लाईडिङबाट नेपालले रजत पदक जितेको थियो। 

८ खेलाडीमात्र सहभागी ६८ केजीमाथि तौल समूहमा सीधै क्वार्टरफाइनल खेलेकी एरिकाले विश्व च्याम्पियन भइसकेकी जापानी खेलाडी युजुकी सावाएलाई हराउँदै सेमिफाईनल पुगिन्।

जापानी खेलाडीसँग १–१ अंक बराबर भए पनि सुरुमा अंक जोडेको आधारमा एरिका सेमिफाईनल पुगेकी थिईन्। 

सेमिफाइनलमा भने एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८–४ ले हराउँदै कम्तिमा रजत पदक पक्का गरेकी थिईन्। स्वर्ण पदकका लागि भएको फाइनल भिडन्तमा कजाकस्तानकी सोफ्या बेरुल्तसेभासँग एरिका ३–० ले पराजित भइन्। 

एशियाडमा पदक जितेका खेल

तेक्वान्दोले १० औँ एशियाडमा ४ कांस्य, १२ औँ एशियाडमा १ कांस्य, १३ औँ एशियाडमा १ रजत र २ कांस्य, १४ औँ र १५ औँ एशियाडमा ३/३ कांस्य पदक प्राप्त गरेको छ।

यसैगरि कराँतेले १९ औँ एशियाडमा १ रजत जित्दा १२ औँ, १३ औँ एशियाड र १७ औँ एशियाडमा १/१ गरी ३ कांस्य पदक जितेको थियो।  

पाराग्लाइडिङले १८ औँ एशियाडमा रजत पदक जित्दा बक्सिङले १० औँ एशियाडमा ४ कांस्य, ११ औँ एशियाडमा १ कांस्य, १२ औँ एशियाडमा १ कांस्य र १६ औँ एशियाडमा १ कांस्य जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.