|

संखुवासभा : संखुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने किट अभाव भएको छ।

जिल्ला अस्पतालमा तीन दिनदेखि डेङ्गु परीक्षण गर्ने किटको अभाव भएपछि विरामीले सास्ती पाएका छन्। जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने किट अभाव भएपछि सेवाग्राही मारमा परेका छन्।

जिल्ला अस्पतालमा डेङ्गु परीक्षण गर्ने किटको अभाव भएको जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यले जानकारी दिए।

जिल्ला अस्पतालमा आउने विरामीले डेङ्गु रोग परीक्षण गर्ने आवश्यक परे महँगो मूल्य तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता भएको छ। जिल्ला अस्पतालमा तीन दिनदेखि किट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको अस्पतालका निमित्त प्रमुख आचार्यले बताए।

किटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको आचार्यले बताए। केही दिनभित्र किट जिल्ला अस्पताल आइपुग्ने उनको भनाइ छ।

जिल्ला अस्पताल संखुवासभामा दैनिक रूपमा डेङ्गु सङ्क्रमित बढ्दै गएका कारण शय्या अभाव हुन थालेको छ। पछिल्लो समय जिल्लामा तीव्र रूपमा डेङ्गु सङ्क्रमित बढेका छन्। सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातगोडा र ढाड दुख्ने लगायतका लक्षण देखिने गरेको छ।

डेङ्गु सङ्क्रमणका बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नुपर्ने बाध्यता भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १० स्थानीय तहमध्ये चिचिला र भोटखोला गाउँपालिकामा डेङ्गु सङ्क्रमण देखिएको छैन।

संखुवासभामा साउन महिनायता जिल्लामा डेङ्गु सङ्क्रमितको संख्या एक हजार ३२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.