|

पर्वत : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्षको आज अन्तिम दिन। सोह्र श्राद्धमा पितृलाई स्मरण गर्दै पिण्ड दान गरिन्छ। सोह्र श्राद्धमा तिथिमा श्राद्ध गर्न नपाएकाहरूले सोह्र श्राद्धको अन्तिम दिन औँसीमा पिण्ड दान गर्ने चलन छ।

सोह्र श्राद्धमा पिण्ड दानका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने कागबेनी पनि हो। आन्तरिक र बाह्य पर्यटक तथा तीर्थालुको आकर्षणको केन्द्रका रूपमा रहेको कागबेनीमा आजको औँसीमा श्राद्ध गर्नेहरूको बिहानैदेखि भीड छ। सोह्र श्राद्धको अन्तिम दिन भएकाले पनि कागबेनीमा तीर्थालुको भीड रहेको छ।

कागबेनी मात्रै नभएर कागबेनी आसपासका होटेल तथा रेस्टुराँमा पनि निकै चाप बढेको छ। सोह्र श्राद्ध सुरु भएदेखि त्यहाँका होटेलमा हरेक दिन तीर्थालुको बाक्लो उपस्थिति रहेकोमा अन्तिम दिन झनै बाक्लो उपस्थिति भएको स्थानीय होटेल व्यवसायीहरूले बताएका छन्।

दशैँअघि सोह्र श्राद्धको औँसी तिथि पारेर कागबेनीमा पिण्ड दान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ। कागबेनी धार्मिक स्थल भगवान् विष्णुलगायत सबै देवको वासस्थान भएको जनविश्वास छ। शालग्रामको शरीरमा मुक्तिनाथ भगवान् रहेकाले कागबेनी र मुक्तिनाथमा श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्म पुराण र वराह पुराणलगायतका ग्रन्थमा उल्लेख छ।

कागबेनी श्राद्धस्थलमा वर्षेनि बडादशैँ र चैते दशैँ शुरु हुनुअघिको औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ। मुस्ताङमा स्याउ र च्याङ्ग्राको खोजीमा पुगेका व्यापारीदेखि दशैँको छेकोमा घुम्न जानेको पनि उत्तिकै उपस्थिति हुन्छ।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएकी गण्डकीको सङ्गम स्थल भएकाले कागबेनीमा पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने वराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवत लगायतका ग्रन्थमा उल्लेख छ।

सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न नेपाल र भारतका विभिन्न ठाउँबाट हजारौँ धर्मावलम्बी आउने गरेका छन्।

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् समापन गरिँदै छ। दशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको शास्त्रीय मत छ।

कागबेनी समुद्री सतहबाट दुई हजार ८०४ मिटरको उचाइमा रहेको छ भने मुक्तिनाथ मन्दिर झन्डै तीन हजार आठ सय मिटरको उचाइमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.