एमालेले एक मन्त्री टुंग्यायाे, गठबन्धनका दल अन्योलमा
एमालेले एक मन्त्री टुंग्यायाे, गठबन्धनका दल अन्योलमा
काठमाडौँ : नियुक्त भएकाे चार घण्टा नपुग्दै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की काठमाडौँ आएका छन्। आज बिहान १० बजेपछि मुख्यमन्त्रीमा नियुक्त भएका कार्की दिउँसो २ बजे जहाजमार्फत काठमाडौँ आएका हुन्।
उनले आज काठमाडौँमा कांग्रेसका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले जानकारी दिए।
‘मुख्यमन्त्री आज काठमाडौँ जानुभयो, राजधानीमा शीर्ष नेताहरूसँग छलफल हुन्छ। मिल्यो भने गठबन्धनसँग पनि बैठक हुन्छ भन्ने जानकारी छ’, उनले थाहाखबरसँग भने।
आफूपक्षीय नेता शेखर कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनलाई कायम राख्ने सहमति गरेसँगै कार्की शपथ लिनुअघि नै काठमाडौँ आएका हुन् ।
यता सत्तागठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले भने काठमाडौँमा शीर्ष नेताले गरेको सहमतिको ठोस् निर्देशन आइनसकेको बताएका छन्।
कार्की भोलि दिउँसो २ बजे मुख्यमन्त्रीमा शपथ लिन बिहान ८ बजे विराटनगर फर्कनेछन्।
नवनियुक्त मुख्यमन्त्री कार्कीले नेकपा एमालेसँग रहने कि गठबन्धनमा भन्ने दृष्टिकोण सार्वजनिकरूपमा जानकारी नगराएसम्म आफूहरूले विश्वासको मत दिने र सरकारमा जाने निर्णयमा नपुग्ने आङ्बोले सुनाए ।
एमालेले एक मन्त्रीको नाम टुंग्यायाे
गठबन्धनमा रहेका दलहरूले विश्वासको मत दिने र सरकारमा जानेबारेमा अन्याेल रहे पनि एमालेले भने एक जना मन्त्रीको नाम टुंगो लगाइसकेको छ।
भोलि मुख्यमन्त्रीको शपथसँगै तीन सदस्यीय मन्त्रीपरिषद् विस्तार हुने र एमालेले एक जना मन्त्री पठाउने पक्का भइसकेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
मुख्यमन्त्रीले भौतिक योजना मन्त्रालयमा एक जना मन्त्री र एमालेले आर्थिक योजना तथा मामिलामन्त्री पठाउने सहमति भइसकेको स्रोतले जनाएको छ।
कार्तिक १ गते बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने र आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी मोटामोटी सहमति भइसकेको उनले बताए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।