|

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ। 

घटस्थापना गरिएका दशैँघर वा शक्तिपीठमा नवदुर्गाअन्तर्गतका शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी कालरात्रि, महागौरी र सिद्धिधात्रीका साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधनागरिन्छ। यो समयमा गरिने देवीको उपासनाको महत्त्वबारे दुर्गासप्तशती (चण्डी) मा उल्लेख छ।

यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभरि विभिन्न शक्तिपीठ जाने परम्परा छ। शक्तिपीठको दर्शनको ठूलो महिमा बताइएको छ। शक्तिपीठको दर्शनले सुख, समृद्धि प्राप्त हुनुका साथै आध्यात्मिक शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ। शारीरिक र आत्मिक बल प्राप्त गर्न पनि शक्तिपीठ दर्शनको महत्त्व छ।

के हो शक्तिपीठ?

पुराणमा एउटा प्रसंग आउँछ, सतीदेवी दक्षप्रजापति र विरणीको जेठी छोरी थिइन्। भगवान् विष्णुले छल गरी सतीको विवाह महादेवसँग गराइदिएका थिए। दक्ष भने महदेवलाई मन पराउँदैनथे। 

एकपटक उनले गरेको ठूलो यज्ञमा सबैलाई बोलाए सती र महादेवलाई बोलाएनन्। सती चित्त दुखाउँदै माइत पुगिन्। तर दक्षले महादेव पनि आउने हुनाले छोरीलाई समेत नबोलाएको प्रष्टीकरण मात्र दिएनन् शिवको निन्दा समेत गरे। त्यो सहन नसकी सती यज्ञकुण्डमा हाम फालिन्।

यज्ञकुण्डबाट झिकेर शिव बहुलाहाजस्तो भई सतीको मृत शरीर काँधमा हालेर पृथ्वी भ्रमण गर्न थाले। पछि सतीको शरीर गलेर एक एक अंग गर्दै झर्न थाले। देवी उपपुराणमा बताइएअनुसार सतीदेवीका अंग झरेका स्थानमा एक–एक शक्तिपीठ बने। 

सतीदेवीका अंग पतन भएका स्थानमा बनेका शक्तिपीठ असंख्य भए पनि प्रमुख रूपमा ५२ वटा भएको बताइन्छ। अधिकांश शक्तिपीठ भारतको भूभागमा रहेका छन्। केही नेपाल, पाकिस्तान, श्रीलंका र तिब्बतमा समेत छन्।

नेपालमा भने सतीको गुह्य पतन भएको गुह्येश्वरी पीठ प्रमुख मानिन्छ। पशुपतिनाथको मन्दिरदेखि एक किलोमिटर पूर्वमा रहेको गुह्येश्वरीको मन्दिर वागमती नदीको किनारमा अवस्थित छ। चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालु देवीको रूपमा श्रद्धा गर्छन्। 

काठमाडौंमा गुहेश्वरीबाहेक, शोभाभगवती, नक्साल भगवती नरदेवी (श्वेतकाली), रक्तकाली, मैतीदेवी, कालिकास्थान संकटा प्रमुख शक्तिपीठ मानिन्छन्। भक्तपुरमा इन्द्रायणी, नवदुर्गा ललितपुरमा बज्रबाराही, रुद्रायणी, उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती पोखरामा बिन्ध्यवासिनी र बारामा गढीमाईलगायत शक्तिपीठ छन्। 

शारदीय नवरात्रमा विशेष घुइँचो हुने यी शक्तिपीठहरूमा विशेष पूजाअर्चना गर्ने परम्परा छ। अझ उपत्यकामा रहेका तलेजुका मन्दिर वर्षमा एकपल्ट अर्थात् बडादशैँको नवमीका दिन मात्र खुल्ने हुनाले यहाँ दर्शन गर्न विशेष घुइँचो लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.