|

सुर्खेत : छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानबिन गर्न बनेको समिति बुझाएको प्रतिवेदनमा २३ लाख रकम फर्जी बिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ।

पटक, पटक खाजा प्रकरणको समाचार थाहाखबरबाट प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानबिन समितिले २३ लाख ५८ हजार ४४५ रूयैयाँ रकम हिनामिना भएको निष्कर्स निकालेको हो। कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा र खानामा झण्डै ४२ लाख खर्च गरेको खबर थाहाखवरबाट समाचार प्रकाशित भएको थियो।

उक्त समाचार प्रकाशित भएपछि छानबिन समिति गठन गरिएको थियो। एक वर्ष अवधिमा (२०७९ जेठ देखि हाल २०८० जेठ) जम्मा १६ वटा कार्यपालिकाको बैठक र २ वटा नगरसभा बसेको थियो।

उक्त बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा, नास्ता खाए भनि नगरपालिकाको लेखा शाखाबाट फर्जी बिल प्रयोग गरि ३० लाख ४८ हजार ४६५ रूपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ।

 खाजा नास्ताको बिल भन्दा बढी अर्थात् २३ लाख ५८  हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो। छानबिनको क्रममा कार्यपालिकाका १५ बैठक , २ वटा नगरसभा , भू उपयोगको बैठक २ वटा , जनप्रतिनिधिको बिदाई र स्वागत कार्यक्रम १ वटा , कर्मचारीको परीक्षा सञ्चालन समितिको १ वटा कार्यक्रमको रकम खर्च भुक्तानी भएको छ। प्रतिवेदनमा कर्मचारीले नै खाना र खाजाको रकम अनियमितता गरेको उल्लेख गरिएको छ।

त्यस्तै ११ लाख ४२ हजार १४५  हजार रूपैयाँको अर्को बिल बाँकी  रहेको भन्दै  प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले तोक आदेश गरेर लेखामा पठाएका थिए। उक्त रकम मध्यबाट वास्तविक रकम भुक्तानी गर्नुपर्ने ६८ हजार ५६० रुपैयाँ मात्र भएको  कार्यपालिकाले औंल्याएको छानबिन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिए।

भुक्तानी भएको पहिलो बिल ३० लाख ४८ हजार ४६५ मध्यबाट खाजा , नास्ताको जम्मा ६ लाख ९ हजार २० रुपैया मात्र वास्तविक बिल भएको कार्यपालिकाले निस्कर्ष निकालेको छ। भुक्तानी गर्नुपर्ने भन्दै भारी रकमको  बिल बनाएर रकम भुक्तानी भएको समाचार पटक ,पटक प्रकाशित भएको थियो। लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमतोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औंल्याएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भने पनि हाल सम्म रकम फिर्ता नगरेको संयोजक खत्रीले बताए।

कार्यपालिकाको बैठकमा आएर फर्जी बिल बनाएको कुरा स्वीकार गर्दै उक्त रकम फिर्ता गर्छु भनि असोज २४ गते सम्म समय दिइए पनि रकम नगरपालिकाको खातामा जम्मा नभएको उनले बताए।

रोकाया सम्पर्कमा समेत नआएको उनले बताए। यता कार्यपालिकाको मिति २०८० असोज २५ गते बसेको कार्यपालिकाको बैठकले भदौ ३० गते पेश छेडागाड नगरपालिकाको खाजा नास्ता प्रतिबेदन २०८० पटक ,पटक छलफल गरिएको , असोज २५ गते लिखित स्पष्टीकरण  मागिएको सो स्पष्टीकरण नआएकोले प्रतिवेदनको राय ,सुझाव अनुरुप आलेप र मलेपको परामर्शबाट एकीन गरी सम्बन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरेको छ।

त्यस्तै झुटा ,फर्जी बिल पेश गर्ने होटल ,पसल व्यवसायीलाई कार्यपालिकाको कार्यालयले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उक्त स्पष्टीकरण चित्त बुझ्दो नआए अन्य कारबाहीको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको खत्रीले बताए। छेडागाड नगरपालिकाको सबै बैठकहरु अब लाइभ गर्ने निर्णय गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार निर्णय गर्दा पारदर्शिता कार्यम हुने र सबै कुरा सरोकारवाला निकायलाई थाहा पाउन सजिलो हुने भएकाले लाइभ गर्ने निर्णय गरिएको छ। 'अहिले सम्म जे भयो ,भयो अब यहाँ पहिलेको जस्तो हुँदैन', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.