|

काठमाडौं : गत भदौ २६ गते नेकपा एमालेका उपाध्यक्ष,संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मृत्यु भयो। 

सोमबार राती हृदयघातका कारण मृत्यु भए पनि नेम्वाङको अन्त्येष्टि भने बिहिबार मात्रै भयो। दुवै छोराहरू नेपालबाहिर रहेकोले दुई दिनसम्म नेम्वाङको पार्थिव शरिर छोराहरूको पर्खाइमा बस्यो।  

नेम्वाङको पार्थीव शरीरमा देशका उच्चपदस्थदेखि सर्वसाधारण सम्मले श्रद्धाञ्जली दिइरहँदा उनका छोराहरू भने प्रारम्भिक श्रद्धाञ्जलीमा छुटेका थिए। आफ्ना पिताको निधन भएको खबर पाए लगत्तै नेपाल फर्कने तयारी गरेपनि नेम्वाङका छोराहरू बुधबार मात्र नेपाल आइपुगेका थिए। 

छोराहरू विदेशमा रहेका कारण नेम्वाङको अन्त्येष्टी बिहिबार मात्रै गरिएको थियो। उनको जेठो छोरा मिङ्सो नेम्वाङ सपरिवार बेलायतमा बस्दै आएका छन् भने कान्छा छोरा सुहाङ नेम्वाङ भ्रमणको लागि अष्ट्रेलिया गएका थिए। दुवै छोरा भदौ २७ गते नेपाल आएसँगै नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको थियो। भदौ २८ गते बिहिबार उनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो। 

नेम्वाङ नेपालको विकासक्रममा महत्वपूर्ण निर्णय गर्ने स्थानमा पुगेका व्यक्ति हुन्। नेपाल अहिलेको अवस्थामा आइपुग्नुमा उनको पनि केहि योगदान रहेको छ। तर,उनको कारण बनेको नेपालमा उनकै जेठो छोरा बस्दैनन्। 

यो एक उदाहरण मात्रै हो। नेपालको सकारात्मक र नकारात्मक दुवै परिवर्तनमा निर्णायक भूमिका खेलेका अधिकांश नेताका छोराछोरी नेपाल बस्दैनन्।  हरेक बाबुआमाले आफ्ना छोराछोरीको सुन्दर भविष्यको लागि वर्तमानमा कडा मिहिनेत गर्छन्,भविष्यलाई सोचेर राम्रो निर्णय लिन्छन्। तर,नेपालको नेतृत्व गर्ने नेताका छोराछोरी भने नेपालमा नै बस्दैनन्। 

नेपालको वर्तमान र भविष्यलाई प्रभाव पार्ने निर्णय गर्ने नेताको छोराछोरी नेपाल नै बस्दैनन्। उनीहरू आफ्नो रहरमा नै विदेशिने गरेका छन्। 

राजनीतिक अस्थिरताले निम्त्याएको बेथितिका कारण नागरिकहरूको दैनिक जीवन धान्नै नसकिने बनेको छ। नेपालको यस्तो परिस्थितिका लागि राजनीतिक दलका नेताहरू नै मुख्य जिम्मेवार छन्।

तर, जनताले जुन समस्या भोगिरहेका छन्, यो सास्तीबाट नेताहरूका परिवारजन प्रभावित हुने गरेका छैनन्। देशमा बढिरहेको महंगीको मारमा नेताका सन्तान र आफन्तजन पर्ने गरेका छैनन्।

नेपाललाई वर्तमान अवस्थामा ल्याइ पुर्याउने नेताका छोराछोरी,परिवारजन र आफन्त नै नेपाल बस्ने गरेका छैनन्। जसले गर्दा उनीहरूले नेपालको नेतृत्व गरिरहेका आफ्नो बुवाआमा वा आफन्तले गरेको कामले बनाएको परिस्थितिको सामना गर्नु परेको छैन। 

सर्वसाधारण नेपाली जनता दैनिक हजारौंको संख्यामा विदेशिन्छन्। शिक्षा,स्वास्थ्य,रोजगारी र अन्य अवसरहरूको खोजीमा बाध्य भएर सर्वसाधारण नेपालीहरू दिनँहु विदेशिनु परिरहेको छ। तर,नेताको छोराछोरी भने रहरले विदेशिने गरेका छन्। 

कुन नेताको छोराछोरी कहाँ छन्? 

नेपालको वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको हरेक निर्णयले देशको भविष्य निर्धारणमा असर पार्छ। 

पौडेलको एक छोरा र ४ छोरी छन्। उनको एकमात्रै छोरा कहिले बेलायत कहिले नेपाल बस्ने गर्छन्। त्यसैले पौडेलका एकमात्र छोरालाई उनका राजनीतिक निर्णयले कुनै त्यस्तो असर पार्दैन। 

उनका छोरा चिन्तन पौडेल सुशील कोइराला नेतृत्वमा सरकार रहँदा गरिब घर परिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए। कोइराला नेतृत्वको सरकार हटेसँगै उनी फेरि बेलायत फर्किएका थिए। पछिल्लो समय पौडेल राष्ट्रपति भएपछि उनको नेपाल बसाई बाक्लिएको छ। 

राष्ट्रपति पौडेलको ४ मध्येको एउटा छोरी चितवनमा,एउटा छोरी पोखरामा छिन् भने एक छोरी हाल उनको स्वकीय सचिव बनेकी छिन्। पौडेलको साहिँली छोरी विवाह गरेर अमेरिकामा बस्दै आएकी छिन्। 

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको एक छोरा र एक छोरी छन्। अहिलेको राजनीतिक प्रक्रियामा नेपाल सुरुदेखि नै क्रियाशील छन्। नेपालको अहिलेको अवस्था आउनु र भविष्य कस्तो बन्ने भन्नेमा उनको निर्णय महत्वपूर्ण हुँदै आएको छ। 

तर,नेपालको कारण देशमा उत्पन्न हुने परिस्थितीले उनको सन्ततीलाई खासै प्रभाव पार्दैन। किनकी उनको दुवै सन्तान राजनीतिबाट टाढा छन्। उनीहरू दुवैजना डाक्टर हुन्। छोरी छालाको डाक्टर छिन् भने छोरा अष्ट्रेलियामा छन्।

पूर्व उपप्रधान तथा अर्थ मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको एक छोरा एक छोरी छन्। नेपालको वर्तमान आर्थिक अवस्था उत्पन्न हुनु अघि सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेलको छोरी अष्ट्रेलिया बस्दै आएकी छन्। 

लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको दुई छोरी छन्। उनको दुवै छोरीहरू चीनमा बस्दै आएका छन्। नेपालको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने एमालेका शक्तिशाली नेता पोखरेलको कुनै पनि निर्णयले उनको छोरीहरूलाई कुनै असर पार्दैन। 

बागमती प्रदेशको पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे विगतदेखी नै नेपालको राजनीतिको केन्द्रमा रहँदै आएका छन्। धेरैपटक संघीय संसददेखी केन्द्रीय मन्त्री भइसकेका पाण्डेले गरेका निर्णयहरूले उनको सन्तानलाई खासै फरक पर्दैन। 

पाण्डेको तीन छोराहरू छन्। तीमध्ये दुई छोराहरू अष्ट्रेलिया बस्दै आएका छन्। पाण्डेकै अनुसार उनको दुई छोराहरू अष्ट्रेलियामा बढ्ने र पढाउने काम गरिरहेका छन् भने अर्को एक छोरा काठमाडौंमा  नै छन्। 

नेपालको वर्तमान सरकारको कानूनमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय नेपालको भविष्य निर्धारण गर्ने खालको महत्वपूर्ण ऐन कानून निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन्। 

तर,उनको निर्णयले उनको सन्तानलाई केहि प्रभाव पार्दैन। किनकी गुरुङको दुवै छोरीहरू नेपाल बस्दैनन्। उनको छोरीहरू हङकङ बस्दै आएका छन्।  कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन्। हाल उनको छोरी अष्ट्रेलिया बस्दै आएकी छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बनेर कारागारमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको दुई श्रीमती छन्। एउटा श्रीमतीबाट दुई छोरी र अर्को श्रीमतीबाट एक छोरा,एक छोरी छन्। उनको छोरा छोरीहरू भारत र अष्ट्रेलियामा बसोबास गर्छन्। 

माओवादी नेता पूर्व गृह तथा अर्थ मन्त्री जनार्दन शर्माको एक छोरा र एक छोरी छन्। शर्माको छोरी अमेरिका बस्दै आएकी छन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको दुई छोरी र एक छोरा छन्। उनको छोरीहरू क्यानडा र अमेरिका बस्दै आएका छन् भने छोरा डाक्टर हुन्। छोरा भने नेपालमा नै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.