उपराष्ट्रपति २ घन्टा बसे तर भर्ना सिभिलमा भए, प्रधानमन्त्री गए नर्भिक

|

काठमाडौं : नेपालकै जेठो र सुविधासम्पन्न वीर अस्पतालमा त अतिविशिष्ट व्यक्ति (भीभीआईपी) लाई भनेर छुट्टै एउटा क्याबिन राखिएको छ तर उक्त क्याबिन वर्षौंदेखि प्रयोगविहीन बनिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री ​मोहनबहादुर बस्नेतको  निर्देशनमा गत साउन ९ गतेदेखि वीर अस्पतालमा थप २ भीआईपी र एक भीभीआईपी कक्ष थपियो।

भएकै भिभिआईपी क्याबिन माकुरोको जालो लागेर प्रयोगविहीन अवस्थामा बेवारिसे अवस्थामा रहेको समयमा नयाँ क्याबिन थपेर थप राज्यलाई आर्थिक भार मात्रै पर्ने भन्दै स्वास्थ्यमन्त्री बस्नेतको आलोचनासमेत भयो। 

तर त्यस आलोचनाको बेवास्ता गर्दै वीरको नयाँ सर्जिकल भवनमा  थप भीभीआईपी क्याबिन थपेपछि त्यस समयमा मन्त्री बस्नेतले अब भीभीआईपीहरु स्वास्थ्य उपचार गर्न वीर अस्पतालमा लर्को लागेर आउने बताएका थिए।

भीभीआईपी सेवा विस्तारको उद्घाटन गर्नुभन्दा २ महिनाअघि मन्त्री बस्नेतले भनेका थिए‚ ‘सम्पूर्ण भिआईपी तथा भीभीआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गराइएको छ। सरकारी खर्चमा यहीँ पनि निजी स्वास्थ्य संस्था तथा विदेशमा गएर उपचार गर्नका लागि कोही कतै  जानु पर्दैन।’

यतिमात्र होइन मन्त्री बस्नेतले भीभीआईपीको उपचार गर्न भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा चिकित्सा विधाका नेपालका सबै खालका १५ जना वरिष्ठ चिकित्सक सम्मिलित टिमसमेत बनाए।

उक्त टिममा डा किरण श्रेष्ठ, डा ध्रुव गैरे, डा रविराम श्रेष्ठ, डा शैली प्रधान, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी, डा सुवास आचार्य, डा सन्दुक रुइत, डा शशी शर्मा, डा रत्न गजुरेल, डा भोला रिजाल, डा मनबहादुर केसी, डा रमेश चोखानी लगायतका चिकित्सक रहेका थिए।

तर पछिल्लो डेढ हप्ताको अवधिमा वीर अस्पतालको यही भीभीआईपी उपचार सेवालाई नपत्याएर  नेपालका भीभीआईपीहरु निजी स्वास्थ्य संस्थामा उपचार गर्न पुगेका छन्।

गत बुधवार एक्कासी छाती दुखाइको समस्या बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल नगएर सीधै नर्भिक अस्पताल पुगे। नर्भिकमा उनले मुटुको अवस्था पत्ता लगाउने एन्जिओग्राम र केही स्वास्थ्य परीक्षण गरेर केही घन्टामा नै बालुवाटार फर्किए।

अझै अचम्मको कुरा के छ भने प्रधानमन्त्री प्रचण्डले नर्भिक अस्पतालम पुगेर जुन परीक्षण गरे ती सबै परीक्षण अहिले वीर अस्पतालमा हुने गर्छ। पछिल्लो समय वीर अस्पतालको मुटुरोगको उपचार सेवा अब्बल र विस्तार हुँदै गएको छ।

हाल वीरमा मुटु उपचारका लागि आवश्यक सुविधासम्पन्न क्याथ ल्याब सेवासमेत संचालनमा रहेको छ। वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार प्रधानमन्त्री नर्भिक अस्पतालमा पुगेर जुन स्वास्थ्य परीक्षण गरे ती सबै विशिष्टीकृत सेवा वीर अस्पतालमा नै रहेको बताए।

निर्देशक डा पौडेलले भने‚ ‘अहिले हाम्रै अस्पतालमा मुटुको परीक्षणको लागि गरिने एन्जियोपलाष्टी तथा एन्जिओग्राम लगायतका परीक्षण हुन्छ अझै भीभीआईपी तथा भीआईपीहरुको उपचारको लागि हाम्रोमा टिम नै छ।‘

तर अघिल्लो हप्ता भने उपराष्ट्रपति रामसहाय यादव भने दुई घन्टा जति वीरको पुरानो भवनमा रहेको भीभीआईपी कक्ष गएर बसेको निर्देशक पौडेलले बताए।

उनका अनुसार ज्वरो तथा टाउको दुखेर वीर अस्पताल पुगेका उनले प्रयोगशाला परीक्षणको साथै एमआरआई लगायतको परीक्षण गरेर केही सुधार भएपछि फर्किएका थिए।

तर पछि प्रयोगशाला परीक्षणमा डेंगु पोजेटिभ आएपछि भने उनी मीनभवनस्थित सिभिल अस्पताल पुगेर भर्ना भएका थिए। गत बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका उनी स्वास्थ्यमा सुधार आएपछि शनिबार बिहान अस्पतालबाट डिस्चार्ज भएका थिए।  

डा पौडेलले भने‚ ‘सम्माननीय उपराष्ट्रपतिज्यू सुरुमा हाम्रोमा आउनु भएको थियो। टाउको दुख्ने लगायतको समस्या रहेछ। हामीले एमआरआई लगायतका प्रयोगशाला परीक्षण गर्‍यौँ तर पछि डेंगु पोजेटिभ आएपछि भने सिभिलमा गएर भर्ना हुनु भएको हामीले पनि थाहा पायौँ।’

वीर अस्पतालका एक वरिष्ठ चिकित्सकले भने‚ ‘वीरको सेवा सुविधा विस्तार हुँदा र विशिष्टिकृत सेवा दिने वरिष्ट चिकित्सकहरु हुँदा पनि नेफालमा नै उपचार गर्दा पनि वीर अस्पताल रोजाइमा नपर्नु दुःखको कुरा भएको बताए।

उनले भने‚ ‘जबसम्म उच्च व्यक्तिहरुले सरकारी सेवाको विश्वास गर्नु हुन्न तबसम्म सरकारी स्वास्थ्य सेवाप्रति जनताको विश्वास हुँदैन।’

ती चिकित्सकका अनुसार हाल वीरमा धेरै स्वास्थ्यकर्मी निकालिएपछि सेवा खुम्चिएको भन्ने समाचारहरु बाहिरिएका छन् जसले गर्दा पनि यस पटक भीभीआईपीहरु नआउनु भएको हुनसक्छ।

देशका अति विशिष्ट व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति, प्रधानमन्त्री‚ सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीशसहित ६ जना भीभीआईपीमा पर्छन्।

तर वीरमा पछिल्लो समयम भीभीआईपीहरु भने विस्तारै सेवा लिन जाने गरेको निर्देशक डा पौडेलले बताए। भीआईपीहरुमा मन्त्रीहरू, सांसद, पार्टीका शीर्ष नेताहरू, संवैधानिक अंगका प्रमुख, पूर्वमन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरू पर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.