काठमाडौंमा नै बढ्दै बिरामी

|

काठमाडौं : मनसुन बाहिरिएर विस्तारै जाडो शुरु हुँदासमेत यस वर्ष अझै पनि डेंगु फैलिइरहेको छ। कात्तिक ४ गतेसम्म यो वर्ष डेंगुका बिरामीको संख्या ४० हजारभन्दा माथि पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हाल देशभर ४०  हजार ५३१ जना डेंगुका बिरामी छन्। यसैगरी ७६ जिल्लामा डेंगुका बिरामी छन् भने ११ जिल्ला अति प्रभावित छन्।

सामान्यतया मनसुन बाहिरिएर चिसो शुरु भएपछि डेंगु कम हुँदै जाने गरेको पाइने भए पनि यो वर्ष झन् बढ्दै गएको इडिसिडीको विवरणले देखाएको छ। 

हुन त अघिल्लो वर्षको अवस्था हेर्ने हो भने हरेक वर्ष डेंगु सामान्यतया नेपालमा जेठदेखि भदौसम्म तीव्र गतिमा फैलिएर असोज लागेपछि विस्तारै ओरालो लाग्ने गरेको पाइन्छ। 

इडिसिडीको विवरणमा हाल काठमाडौंमा समेत डेंगु बढेको छ। हाल काठमाडौंमा ९१० जना बिरामी रहेका छन् असोजको दोस्रो हप्तासम्म काठमाडौंमा ५ सयभन्दा कम बिरामी थिए।

सेप्टेम्बरमा काठमाडौंमा जम्मा २३० जना बिरामी थपिएका थिए तर अहिले अक्टोबरको तेस्रो हप्तासम्म आइपुग्दा काठमाडौंमा अक्टोबरमा मात्रै २५१ जना बिरामी भेटिइसकेका छन्। ललितपुर र भक्तपुरमा हाल क्रमशः ३०६ र २७० जना बिरामी छन्।

इडिसिडीको विवरण हेर्दा हाल काठमाडौंपछि गण्डकी प्रदेशको तनहुँ र कास्कीमा डेंगुका बिरामी बढिरहेका छन्। हाल तनहुँमा ५ हजार ५९१ जना र कास्कीमा १ हजार ६८७ जना बिरामी रहेका छन्। यी जिल्लामा भदौ तेस्रो हप्तासम्म एकदमै थोरै बिरामी थिए। 

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूप लिएको बेला ५४ हजार ७८४ जना बिरामी भएका थिए।

डैंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए। यो वर्ष जुनयता हालसम्म २० जनाले डेंगुकै कारण ज्यान गुमाएका छन्।

गत वर्ष काठमाडौं उपत्यकामा धेरै बिरामी देखिएका थिए तर यो वर्ष सुनसरी, मोरङ‚ झापालगायत जिल्लामा डेंगु तीव्र गतिमा फैलिएको देखिएको छ। इडिसिडीको पछिल्लो विवरण हेर्ने हो पूर्वका जिल्लामा डेंगु विस्तारै घट्दै गएर पश्चिमका क्षेत्रमा बढ्दै गएको छ। 

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा वर्षा याममा डेंगु गम्भिर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ।

पहिलो पटक भारतबाट आएका एक व्यक्तिमा डेंगु देखिए पनि पछिल्ला वर्ष नेपालमा वर्षातको समयमा डेंगु रैथाने रोगजस्तै हुन थालेको छ। 

नेपालमा हाल डेंगुका ४ वटा प्रकार पुष्टि भएका छन्। तीमध्ये हालसम्म १ र २ बाट धेरै जना बिरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक-फरक प्रकारको संक्रमण भए निकै गम्भीर असर हुन सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.