|

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा यहाँ आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे। 

गुटेरेसको स्वागतमा​ नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए। उनको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्‍यो।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। 

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गर्नेछन्। भ्रमणका क्रममा यही सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्।

मंगलबार अपराह्न ४ः०० बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमणमा अएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले बताएको छ। राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.