|

जुम्ला : जुम्लाको हिमा गाउँपालिका ओदी गाउँमा लामा विष्णु युवा क्लबले आयोजना गरेको भलिबल कप कालिकोट जिल्लाको पलाता गाउँपालिकाले हात पारेको छ।

१ लाख रुपैयाँ नगद पुरस्कारसहित भलिबल कप पलाता गाउँपालिकाले हात पारेको हो। जुम्लाको हिमा गाउँपालिकाको आर्थिक सहयोग र लामा विष्णु युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालित भएको थियो।

द्वितिय स्थान मिड प्वाइन्ट सिँजा जुम्ला र तृतीय स्थान पूजा फेस हाउस रारा जुम्ला भएका छन्। प्रथम हुने पलाता गाउँपालिका कालिकोटलाई १ लाखको चेक र प्रमाणपत्र, मेडल दिइएको थियो। 

द्वितिय स्थान मिड प्वाइन्ट सिँजा जुम्लाले ५० हजार नगद र तृतीय स्थान पूजा फेस हाउस रारा जुम्लाले २५ हजार नगदसहित प्रमाणपत्र, ट्रफी र मेडल पाएको लामा विष्णु युवा क्लब जुम्लाका अध्यक्ष धिरेन्द्र रोकायाले बताए।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाहीले  संयुक्त रुपमा विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए। पालिका अध्यक्ष शाहीले युवा क्लबले संचालन गरेको यो प्रतियोगितामा गाउँपालिकाले आर्थिक सहयोगमा निरन्तरता दिने प्रतिबद्धता जनाए।

भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी पलाता गाउँपालिकाबाट सहभागी कमल गहतराज, उत्कृष्ट स्पाइकर पलाता गाउँपालिकाकै शैलेन्द्र शाही, उत्कृष्ट डिफेन्सर जुम्ला सिँजा मिडप्वाइन्टका प्रेमबहादुर रोकाया उत्कृष्ट र लिफ्टर ललित परियार पलाता गाउँपालिका भएका छन्।

भलिबल प्रतियोगितामा गाउँमा पहिलो पटक हरेक खेलमा उत्कृष्ट खेल्ने खेलाडीलाई म्यान अफ द म्याचको घोषणासहित पुरस्कारसमेत दिइएको छ। हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ सय रुपैयाँ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ।

हिमा गाउँपालिका-२ ओदी गाउँस्थित प्रशिद्ध लामा विष्णु देवताको पैठको अवसरमा २० वर्षदेखि वर्षेनि भलिबल प्रतियोगिता आयोजना गर्दै आएको आयोजकले जनाएको छ। 

युवा क्लबले आयोजना गरेको सबैभन्दा ठूलो राशिको उक्त भलिबल प्रतियोगितामा जिल्लाबाट रेफ्री हरिलाल महत र राष्ट्रिय खेलाडी लक्ष्मी रावलले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् भने १६ वटा टिमले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.