|

जुम्ला : इलाका प्रशासन कार्यालय नराकोट सिँजाले ८ वर्षपछि अधिकृत पाएको छ। 

गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाएको हो। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई इलाका प्रशासन कार्यालयमा खटाइएको छ।

उनले भने, ‘इलाका प्रशासन कार्यालय सिँजा नराकोट जुम्लाका लागि तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न यही कात्तिक १५ गतेदेखि गृह मन्त्रालय, सिंहदरबार काठमाडौँमा कार्यरत शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई पठाइएको छ। त्यो क्षेत्रका सेवाग्राहीले आवश्यक कागजातका लागि इलाका प्रशासन कार्यालय, नराकोटमा जान अनुरोध छ।’  

अधिकृत स्तरको दरबन्दी भएको इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउँदा नायव सुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण गरिँदै आएको थियो। 

करिब २ महिनाअघि नायव सुब्बा सुतबहादुर गिरीको अवधि सकिएपछि सिँजाबाट नागरिकता वितरण प्रभावित भएको थियो। 

सिँजामा आधिकारिक कर्मचारी नहुँदा नागरिकता हस्ताक्षर गर्न नागरिक सदरमुकाममा आउनुपर्ने बाध्यता थियो। चाडपर्वपछि झनै सेवाग्राही बढेका भए पनि कर्मचारी नहुँदा हैरान भएको थियो।

इलाका प्रशासन कार्यालयमा खटिएका अधिकृत रेश्मा बुढाले मन्त्रालयले आफूलाई सिँजामा खटाएको बताइन्। सरकारले पटक पटक अधिकृत खटाउन प्रयास गरे पनि अधिकृत त्यहाँ जान मानेका थिएनन्। 

यसअघि स्थानीय सुमन धिताल त्यहाँ गएका भए पनि उनी विसं २०७३ कात्तिकमा सरुवा भएर गएपछि हालसम्म सरकारले अधिकृत स्तरको कर्मचारी पठाउन सकेको थिएन। 

अधिकृत स्तरको कर्मचारी नहुँदा ५ वर्ष अनुभव भएका नायव सुब्बालाई खटाउने व्यवस्था थियो। त्यहीअनुसार कामकाज हुँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.