|

काठमाडौँ भूकम्प प्रभावित क्षेत्रमा घरपालुवा जनावर पुरिएर मरेपछि बढेको दुर्गन्ध र शौचालय भत्किएपछि संक्रमण फैलन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई परिचालन गरेको छ।

संक्रमण फैलिएर झाडापखाला‚ हैजा जस्ता ​सङ्क्रामक रोग नफैलिऊन् भन्नेतर्फ ध्यान दिन प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। त्यसैले स्थानीय तहका स्वास्थ्य संस्थादेखि प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन गरिएको छ। ‘मन्त्री तथा सचिव सहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर आइसकेको छ। स्वास्थ्यको दृष्टिकोण अहिले त्यहाँको मुख्य समस्या भनेको संक्रमणजन्य महामारी नहोस् भन्ने हो। हामीले त्यसैअनुसार काम गरिरहेका छौँ’‚ मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने।

यसैबीच स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले भूकम्प प्रभावित क्षेत्रका लागि आवश्यक औषधिजन्य सामग्री पठाएको छ। व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माका अनुसार हाललाई उक्त क्षेत्रमा खानेपानी शुद्ध बनाउनेदेखि मास्क लगायतका स्वास्थ्य सामग्री पठाइएको छ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि प्रभावित क्षेत्रमा रोगको जोखिमबाट बचाउन महाशाखाको ३‚ ४ जनाको टोली कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतमा पठाएको छ। यो टोलीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा आवश्यक तयारीका लागि समन्वय तथा अध्ययन गर्ने र त्यसैअनुसार रणनीति बनाउने जनाइएको छ।

चिसो मौसम शुरु भएकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुन थालिसकेको अवस्थामा तत्काल न्यानो कपडा तथा खानेपानीका साथै सरसफाइ मुख्य विषय भएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए। गत शुक्रबार मध्यरातमा जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। हाल उक्त भूकम्पले गाउँका अधिकांश घर भत्किँदा गाउँभर धुलोधुँवा मात्रै रहेको र मानिसहरू खुला चौरमा बसेका छन्।

यस्तै भूकम्पबाट घाइते भएर उपचारका लागि डेडिकेट अस्पतालको रूपमा तोकिएको नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालले भूकम्प पीडितहरूलाई लक्षित गरी मनोसामाजिक परामर्श तथा उपचार सेवा सुरु गरेको छ।

भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरू तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्‌कालीन केन्द्र बाँकेका फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए। उनका अनुसार  डा. लीला देवकोटा, डा. प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले सेवा दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.