|

सल्यान : सल्यान दार्मा गाउँपालिका–२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर उराठ लागेको छ। घर भित्र जाऊँ भत्किएला भन्ने डर, नजाऊँ अन्नपातदेखि लत्ताकपडा सबै भित्र छन्। घरपरिवारलाई के खुवाउने? आफ्नै घर पराई जस्तै भएको छ।

गत शुक्रबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि बस्न बाध्य छ। ‘कसरी बाँच्यौँ थाहा छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ’, उनले भने, ‘साना छोराछोरी छन्। बाहिर सुतिरहेका छौं, छोराछोरीले जाडो भयो घर भित्र जाऔँ भन्छन्। घर भत्किन्छ कि भन्ने डरले त्रिपालमुनि रात काट्न बाध्य छौँ।’

त्रिपालभित्र बस्दा बिहान सिरक शीतले भिज्ने गरेको उनको भनाइ छ। शीतले भिजेका कपडा दिउँसो सुकाउने र साँझ फेरि त्यही ओढ्ने गरेको खत्रीले बताए। घर भत्किएको तीन दिन भइसक्दा समेत एउटा त्रिपाल बाहेक अरू केही नपाएको उनको कथन छ। घरभित्र अन्नपात भए पनि केही अन्नपात पुरिएको र नपुरिएको पनि निकाल्न नसेको पीडितको भनाइ छ।

खत्री जस्तै टेकबहादुर केसीको परिवार पनि खुला आकाशमुनि बसेको छ। ५ लाख ऋण काढेर २ वर्षअघि बनाएको घर भूकम्पले पूरै भत्काएपछि उनी अहिले घरबारविहीन भएका छन्। पुरानो ऋण तिर्न नपाउँदै भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्नु परिरहेको उनको भनाइ छ। उनले भने, ‘अब साना छोराछोरीलाई खुवाउने पैसा खोजौं कि ऋण तिर्ने पैसा खोज्नु।’

यस्तै लीला खत्रीका घर भूकम्पले भत्काइदिएको छ। भएका तीनवटै घर भूकम्पले भत्काएपछि उनको परिवार पनि खुला आकाशमुनि रात काट्दै छ। ‘चिसोमा खुला आकाशमा रात काट्नुको पीडा जस्तो अरू के होला र’, उनले भने। खुला आकाशमा बस्नुको पीडा त छँदै छ। अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन समेत थालेको छ। उनले भने, ‘खाइनखाइ घर बनाइयो, भूकम्पले सबै लडायो। अब कसको शरणमा गएर बस्ने?’

दार्माका चार सयभन्दा बढी घरपरिवार आकाशमुनि बस्न बाध्य छन्। मानवीय क्षति नभए पनि भौतिक क्षति भने जाजरकोट र रुकुम पश्चिम बराबरकै भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। दार्माका १, २, ५ र ६ वडामा बढी क्षति भएको उनको भनाइ छ। उनले भने, ‘मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति धेरै भएको छ। भौतिक क्षतिको विवरण जाजरकोट र रुकुम मात्र आउँदा दार्मा ओझेलमा परेको छ।’

भूकम्प गएको ४ दिन भइसक्दा समेत रेडक्रस बाहेक कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरे। पीडितको घरमा गएर सान्त्वना दिने काम मात्र भइरहेकोे उनको भनाइ छ।

कर्णाली प्रदेशले दार्माका लागि आवश्यक राहत सामग्री पठाइसकेको जनाएको छ। सुर्खेतबाट पठाएको राहत सामग्री सोमबार राति दार्मा पालिकामा पुगिसकेको र नेपालगञ्जबाट पनि आजै सामान पुग्ने कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.