२०७ वटा विद्यालयमा क्षति

|

काठमाडौं : गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका सामुदायिक (सरकारी) विद्यालयहरूमा पठनपाठन नरोकिने प्रतिबद्धता स्थानीय तहहरूले जनाएका छन्। टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन थाल्ने स्थानीय तहहरूको तयारी छ। 

अहिले भने नेपालीको महान पर्व दशैँ र तिहारका लागि विद्यालयहरू बन्द नै छन्। देशभरका सरकारी विद्यालय छठपछि खुल्ने छन्। मंसिर ३ गते छठ परेको छ। रूकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले टहरा बनाएर भए पनि पठनपाठन थाल्ने बताए।

उनले भने, ‘अहिले उद्धारमै लागि परेका छौँ, अब तिहारलगत्तै हामी टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन थाल्छौँ। अहिले त सरकारले नै विदा दिएको छ।’ उनका अनुसार ६७ वटा विद्यालयमा क्षति भएको छ।   

शिक्षा विकास तथा समन्वय इकाई रूकुम (पश्चिम)का इकाई प्रमुख ताराप्रकाश पुन मगरले पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक बाटोबाट पठनपाठन गराउने बताए।

‘मंसिर ४ देखि विद्यालय सञ्चालन हुने हो, भूकम्पबाट क्षति भएका विद्यालयहरूमा पनि प्रदेश, स्थानीय तह, विद्यालय व्यवस्थापनसँग छलफल र समन्वय गरी टहरा नै बनाएर भए पनि पठनपाठन सञ्चालन हुन्छ,’ उनले भने। 

जाजरकोटको नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर वि.क पनि पठनपाठन रोक्ने पक्षमा छैनन्। उनले छलफल गरी वैकल्पिक बाटोबाट भए पनि पठनपाठन थाल्ने योजना रहेको बताए।

‘छिटो नै पठनपाठनबारे प्रदेश सरकार, विभिन्न संघसंस्थासँग छलफल गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘भौतिक संरचना बनाउन समय लाग्छ, टहरालगायत उपाय अपनाएर पनि पठनपाठन थाल्छौँ।’

जाजरकोटको उक्त नगरपालिका बढी भूकम्पबाट प्रभावित क्षेत्र हो। उनका अनुसार उक्त नगरपालिकाभित्र ३४ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन्।

भूकम्पले २०७ वटा विद्यालयमा क्षति

गत शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय तथा संरचनागत क्षति भएको छ। भूकम्पबाट २०७ वटा सरकारी विद्यालय पनि क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा १५२ वटा विद्यालयमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटले भन्यो, ‘अहिलेलाई यति संख्या आएको हो, अझै सबै क्षतिको विवरण आएको छैन, अझै संख्या बढ्न सक्छ।’  

शिक्षा विकास तथा समन्वय इकाई रूकुम (पश्चिम)का इकाई प्रमुख पुन मगरले रूकुम(पश्चिम)मा भने भूकम्पबाट ३८ वटा विद्यालयमा पूर्ण र १७ वटा विद्यालयमा आंशिक क्षति भएको बताए। उनका अनुसार यसबाट साढे १२ हजार विद्यार्थी प्रभावित भएका छन्।

जाजरकोटमा सबैभन्दा बढी क्षति

भूकम्पले जाजरकोटमा सबैभन्दा बढी क्षति पुर्‍याएकाे छ। भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ भने १५२ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। भेरी नगरपालिकामा दुईवटा विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिक रूपमा १७ वटामा क्षति भएको छ।

नलगाड नगरपालिकामा १२ विद्यालय पूर्ण रूपमा भत्किएका छन् भने आंशिक रूपमा २१ वटामा क्षति पुगेको छ। छेडागाडमा ३ विद्यालयमा आंशिक क्षति भएको पाइएको छ। कुशे गाउँपालिकामा ४ विद्यालय पूर्ण रूपमा भत्किएका छन् भने १७ वटामा आंशिक क्षति भएको छ। 

बारेकोटमा ५ विद्यालय भवन पूर्ण रूपमा भत्किएका छन् भने २ वटा आंशिक भत्किएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार शिवालय गाउँपालिकामा पाँच विद्यालयमा आंशिक क्षति पुगेको छ। जुनिचाँदे गाउँपालिकामा भने २३ वटा विद्यालयको पूर्ण क्षति र ७५ वटा आंशिक क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.