|

संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ।

अरुण तेस्रो प्रवेश मार्गका पीडितले भदौ १६ गतेदेखि बन्द गरेको आन्दोलन आजदेखि फिर्ता लिएका छन्। पीडितहरूले आन्दोलन फिर्ता गरेपछि विद्युत् गृहस्थल बिहीबारदेखि सुचारु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

मुआब्जाबापतको रकम जिल्ला प्रशासनको खातामा जम्मा हुने भएपछि प्रवेशमार्गका पीडितले आन्दोलन फिर्ता गरेको प्रजिअ कार्कीले बताए। अरुण प्रवेशमार्गको आन्दोलन ७० दिनपछि फिर्ता लिएको केन्द्रीय संघर्ष समितिका संयोजक जनीकुमार राईले जानकारी दिए।

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दिने सहमतिपछि आन्दोलन फिर्ता गरिएको केन्द्रीय संघर्ष समिति संयोजक राईले बताए। मुआब्जा दिन छुटेको ४५४ रोपनी जग्गाको मुआब्जा पाउने भएपछि संघर्ष समितिले आन्दोलन फिर्ता गरेको हो। खाँदबारी नगरपालिका–४, छयाङकुटीदेखि चिचिला गाउँपालिका २, दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका थिए।

कात्तिक १७ गतेको ५६ औं मन्त्रिपरिषद् बैठकले छुट मुआब्जाबापतको ५३ करोड रुपैयाँ विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो। उक्त रकम पछि नेपाल सरकारबाट शोधभर्ना हुने गरी एसएपिडिसीले सरकारलाई दिन लागेको हो।

लगानी बोर्डले सतलज जलविद्युत् निगमलाई लेखेको पत्रमा मुआब्जा वितरणको हकमा पछि लगानी बोर्डले निर्णय गर्ने उल्लेख छ। मन्त्रिपरिषद्को गत १६ गते बसेको बैठकले १ महिनाभित्र अर्थात मंसिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय भएको र सो मितिमा मुआब्जा वितरण सुरु नगरिए पुनः आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ।

गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.