काठमाडौंमा तिहार सुरक्षाका लागि ७ हजार ६ सय प्रहरी परिचालन

|

काठमाडौं : नेपालीहरूको दोस्रो महानचाड तिहार सुरु भएको छ। विशेषगरी  तिहारमा भाइटीका देउसीभैलोको रमझमसँगै बढी बालबालिकाहरु पटाका पटकाएर रमाइलो गर्ने गर्छन्। तर, कानुनअनुसार पटका किनबेच गैरकानुनी हो। त्यसैले काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले तिहारको बेला पटका पट्काउन र बिक्री वितरणमा निषेध गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले कानुनविपरीत यस्तो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पट्का पटकाउन र बिक्री वितरण गर्न नपाइने भन्दै अहिलेबाटै यसको नियन्त्रणमा लागेको बताए।

यसको रोकथामको लागि प्रहरी परिचालन गरिएको उनले बताए। ‘पटका पट्काउन पाइँदैन, त्यस्तो गरेको पाए नजिकको प्रहरी वा हामीलाई जानकारी गराउनु, तुरुन्तै कारबाही हुन्छ,’उनले भने।

पट्का आयात गर्न नदिन विभिन्न सिमा नाकामा पनि कडाइ रूपमा चेकजाँच भइरहेको उनको भनाइ छ। ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमै छ, बिक्री गर्ने पसलहरुमा पनि छापा मार्छौं, यस्तो गरेको पाइए कालोबजारीलगायत कसुरमा कारबाही हुन्छ,’उनले भने।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले तिहारको बेला पटका पट्काउन नपाइने बताउँदै त्यस्तो गरे तत्काल रोक्न सबैमा आग्रह गरे। उनले भने, ‘यस्तो कार्य रोक्न हामीले विशेष सुरक्षा परिचालन गरेका छौँ,कसैले लुकीछिपी त्यस्तो कार्य गरेको पाइए प्रहरीलाई खबर गर्नु, तुरुन्तै कारबाही हुन्छ।’

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पनि जिल्लाभर पटका र प्लाष्टिकका फूलको किनबेच निषेध गरेको बताइन्।

उनले भनिन्, ‘हामी पट्का बिक्री वितरण,पटकाउने र प्लाष्टिकको फूल किनबेचमा निषेध गरेका छौँ,नियमित अनुगमन पनि भइरहेको छ।’ उनले यी निषेधित कार्य गरेको पाइए कानुनी कारबाही गर्ने बताइन्।

पट्काले निम्तिन सक्छ आगलागी घटना

तिहारको बेला बढी बालबालिकाहरु पट्का पट्काएर रमाइलो गर्ने गर्छन्। यस वर्षको तिहार नजिकिँदै गर्दा अहिलेबाट नै पट्का पट्काउने कार्य बढेको छ। अहिले बेलुका काठमाडौं उपत्यकाको तीनचुली, जोरपाटी लगायत क्षेत्रमा पट्का पट्काउने कार्य भइरहेको छ। तर, यसमा सचेत नभए आगलागीसमेत हुने जोखिम छ।

पट्काले वर्षेनी आगलागीका घटनासमेत निम्तिे गरेको छ। २०७६ कार्तिकमा तिहारको बेला पटकाबाटै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलमा रहेको कपास र फोम गोदाममा भएको आगलागी भएको थियो।

प्रहरीका अनुसार उक्त बेला पटकाबाट आगो सल्किएको जनाएको थियो। यस्तै, २०७७ सालको तिहारमा पनि  पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति भएको थियो। तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको प्रहरीले जनाएको थियो।

नेपाल प्रहरीले पनि पटकाबाट आगलागी र शरिर अंगभंग हुने भन्दौ सावधानी अपनाउन आग्रह गरेको छ। नेपाल प्रहरीले भनेको छ,‘पटका, भुइँचम्पा र आतिसबाजी जस्ता विस्फोटक पदार्थहरुको प्रयोगबाटआगलागी जस्ता दुर्घटनाको जोखिम हुन सक्ने,चोटपटक लागि अंगभंग हुनसक्ने तथामानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकालेयस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात,निर्यात बिक्री–वितरण र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिम हुने समेत जानकारी गराउन चाहन्छौं।’

पटाका बिक्री वितरण गरेको पाइए ३ वर्षसम्म कैद

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थामा भनिएको छ,‘कसैले इजाजतपत्र प्राप्त नगरीवा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त रबन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’

सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थसम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ। उपदाफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। (ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। यहीअनुसार कारबाही गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयलका प्रवक्ता दिनेस राज मैनालीले बताए।

‘कसैले पटका पटकाए वा विक्रि वितरण गरेको पाइए मुलुकी अपराध संहिताअनुसार नै कारबाही हुन्छ,’उनले भने।

७ हजार ६ सय ३३ प्रहरी परिचालन

काठमाडौं उपत्यका प्रहरी कार्यालयलका प्रवक्ता मैनालीका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा उपत्यकाभित्र ७ हजार ६ सय ३३ जना प्रहरी परिचालन गरिएको छ। नियमित अनुगमन भइरहेको उनको भनाइ छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सूचना नै जारी गरी चाडपर्वको बेला पटाका, आतिसबाजी जस्ता बिष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न आग्रह गरेको छ। उनले भने,‘हाम्रो नारा नै शान्ति र सुरक्षा हाम्रो सरोकार! प्रहरी र नागरिकको जिम्मेवारी बराबर छ,हामीले सूचना नै जारी गरेर चाडपर्वमा लङ्गुरबुर्जा, जुवा र तास लगायतका हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्ने,पटाका, आतिसबाजी जस्ता बिष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न अनुरोध गरेका छौँ, यो गर्दा पनि यस्तो कार्य पाएर कारबाही गर्छौ।’

नाकाहरुमा पनि प्रविधिमार्फतसमेत कडा रुपमा पटका आयातमा चेकजाँच गरिरहेको उनको दाबी छ। उनले भने,‘हाम्रा विभिन्न नाकाहरुमा प्रविधिको प्रयोग नै गरी चेकजाँच गरिरहेका छौँ,लुकिछिपी त्यसरी ल्याइएका पटाका बराम गर्ने र ल्याउनेलाई कारबाही गर्ने गरेका छौँ’उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.