|

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई जनयुद्धदेखिका सहयोद्धा हुन्। 

०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे जनयुद्धको नेतृत्व प्रचण्ड र बाबुराम मिलेर गरे। ०६२-०६३ सालको जनआन्दोलनदेखि ०६४ को निर्वाचनमा दुई नेताबीच एकमत थियो। पार्टी पनि मजबुत नै थियो।

पहिलो संविधानसभा निर्वाचनपछि दुवै नेता एक–एकपटक प्रधानमन्त्रीसमेत बने। प्रचण्ड ०६५ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भए भने बाबुराम ०६८ मा प्रधानमन्त्री भए। तर, समय चक्रसँगै दुई नेता फरक पार्टीको नेतृत्व गरिरहेका छन्। प्रचण्ड माओवादी केन्द्र र बाबुराम नेपाल समाजवादी पार्टीको अध्यक्ष छन्।

पार्टी विभाजनपछि चिसिएको प्रचण्ड–बाबुरामको सम्बन्ध गत मंसिर ४ को निर्वाचनले पुनः तातिएको थियो। बाबुरामले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएर उनीसँगको सम्बन्धलाई फेरि गाँस्न खोजेका थिए। यी दुईबीच माओवादी र नेसपा पार्टी एकता गर्ने सहमति पनि भएको थियो। 

तर,पछिल्लो समय फेरि दुईजना बीचको सम्बन्ध चिसिन थालेपछि पार्टी एकताको योजना अलपत्र परेको छ। ०७९ पुसमा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएका थिए। 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर बाबुरामले सार्वजनिक रूपमा निरन्तर असन्तुष्टि जनाउन थालेपछि यी दुईबीचको सम्बन्धमा चिसोपन फेरि सुरु भएको उनीहरू निकट नेता बताउँछन्। 

प्रचण्डले पनि बाबुरामलाई बाइपास’ गरेर अर्का अध्यक्ष महेन्द्र यादवलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि यी दुईबीचको सम्बन्धको चिसोपन थप बढेको थियो।
 

पार्टी एकताको विषयमा गत भदौ ३० गते अमेरिका भ्रमण जानुअघि प्रचण्डले पहिलो अध्यक्ष बाबुरामलाई छोडेर दोस्रो अध्यक्ष यादवलाई सम्बोधन गर्दै पत्र लेखेका थिए।

प्रचण्डले बाबुरामलाई बाइपास’ गरेर महेन्द्रलाई पत्र पठाएको विषयमा (नेसपा)का नेताहरूले नेतृत्वसँग जवाफ समेत मागेका थिए।  

अध्यक्ष भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेताहरूले प्रदेशगत रिपोर्टिङको क्रममा माओवादीको पत्रबारे प्रश्न उठाएका थिए।

बैठकमा माओवादी केन्द्रले पार्टीका प्रथम अध्यक्षलाई बाइपास गरेर पठाएको पार्टी एकताको पत्रको विषयमा पनि नेताहरूले प्रश्न उठाएका थिए। 

पत्रको भाष्य हेर्दा माओवादीले ‘एकता नभएर पार्टी प्रवेश गर्न आऊ’ भनेजस्तो भएको टिप्पणी नेताहरूले गरेका थिए। प्रचण्डले वार्ता समितिको नाममा पत्र पठाउन छोडेर पार्टीको दोस्रो अध्यक्षलाई सम्बोधन गरेर पत्र लेखेको विषयलाई नेसपाले गम्भीर रूपमा लिएको थियो। 

‘बाबुराम र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौँ। कसैले रोकेर रोकिन्न। आजै पार्टी एकता भएको होइन तर चुनावपछि हुन्छ। नाम परिवर्तन भएर नेकपा समाजवादी रहन्छ।’ यो अभिव्यक्ति ‘प्रचण्ड’ले २०७९ साउन ३१ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसामु व्यक्त गरेका थिए। 

निर्वाचनलगत्तै पार्टी एकता गर्ने शर्तसहित भट्टराईसँग सहमति भएपछि हौसिएका प्रचण्डले उक्त अभिव्यक्ति दिन भ्याए। त्यसअघि साउन ९ गते प्रचण्ड निवास खुमलटारमा दुवै पार्टीका शीर्ष नेताहरूको बैठकले मङ्सिरमा हुने निर्वाचनमा माओवादीको चुनाव चिह्न प्रयोग गर्ने, पार्टीको नाम नेकपा समाजवादी राख्ने गरी सहमति गरेको थियो।

आम चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारीअनुसार नेसपाका केही नेताले माओवादीको चुनाव चिह्नबाटै चुनाव लडे।

उनीहरूमध्ये प्रतिनिधिसभामा महेन्द्र राय यादव, बागमती प्रदेशसभा सहअध्यक्ष गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेशसभामा फणिन्द्र देवकोटा निर्वाचित भए।

यादव प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने श्रेष्ठ बागमतीमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन्। दुई पार्टीबीच एकता वार्ता पनि सुरु भएको थियो। तर, बाबुराम—प्रचण्डबीचको सम्बन्ध बिग्रिएपछि पार्टी एकताको प्रक्रिया पनि रोकिएको छ। 

केही समयअघि बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रचण्ड प्रवृत्तिका कारण पार्टी एकताका लागि भइरहेको सबै काम रोक्ने निष्कर्ष निकालेको नेसपा स्रोत बताउँछ।

स्रोतको अनुसार पार्टी एकताका लागि माओवादी केन्द्रलाई नेसपाले पठाएको नौ बुँदे प्रस्तावलाई उसले लत्याएको बैठकले निष्कर्ष निकालेको थियो। 

माओवादीका महासचिव देव गुरुङ बाबुरामकै कारण पार्टी एकता अगाडि बढ्न नसकेको बताउँछन्। नेसपाका अन्य नेताहरू पार्टी एकीकरण गर्न सहमत भए पनि बाबुराम सहमत नहुँदा एकीकरण कार्य अलपत्र परेको उनको भनाइ छ। 

‘बाबुरामजीले कम्युनिष्ट पार्टी र विचार छाडिसक्नु भयो। हामी मार्क्सवाद, लेनिनवाद त्याग्न सक्दैनौँ। उहाँले अंगीकार गर्न सक्नु हुँदैन। त्यसैले अरू साथीहरू सहमत भए पनि बाबुरामजी सहमत नहुँदा पार्टी एकीकरण रोकिएको छ’,उनले भने।

नेसपाका सहअध्यक्ष गंगा नारायण श्रेष्ठ पार्टी एकताको विषय दुई पार्टीको अध्यक्षबीचको सम्बन्धले निर्धारण नगर्ने बताउँछन्। 

उनले पार्टी एकताको लागि दुवै पक्षबाट जति गृहकार्य हुनुपथ्र्यो,त्यति नहुँदा एकतामा ढिलाई भएको बताए। यद्यपि माओवादीसँग पार्टी एकताको सम्भावना अझै बाँकी रहेको उनले बताए। 

थाहाखबरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘नेताहरूको सम्बन्ध भनेको औँसी पूर्णे जस्तो हो। पार्टी एकीकरण हुन उहाँहरूको सम्बन्ध होइन राजनीतिक विचार मिल्नुपर्छ। माओवादीसँग पार्टी एकताको सम्भावना अझै बाँकी छ’,उनले भने। 

श्रेष्ठले मंसिर ६ गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकबाट निर्णय गरेर पार्टी एकताको प्रक्रिया अघि बढ्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.