१५ लाखको फूल आयात

|

काठमाडौं : नेपालमै उत्पादन भएको फूलले पर्याप्त मात्रामा पुग्ने भए पनि विदेशबाट यो वर्षको तिहारको लागि ३ लाख २ हजार माला आयात भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार निजीबाट नभइ सरकारी तहबाट फूल आयात भएको हो।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले १५ लाख बराबरको फूल विदेशबाट आयात भएको पाइएको जानकारी दिए।

‘नेपालकै फूलले पर्याप्त मात्रामा पुग्ने भए पनि सरकारी तहबाट ३ लाख २ हजार फूल माला विदेशबाट आयात भएको छ, यसको मूल्य करिब १५ लाख पर्न जान्छ,यहाँकै फूलले पुग्ने भएपछि त्यसरी बाहिरबाट सरकारले नल्याउनुपर्ने थियो, तर ल्याएर गलत काम भयो,’उनले भने। उनका अनुसार यस वर्षको तिहारका लागि नेपालमै उत्पादन भएको फूलले पुग्छ।

३० करोडको फूल कारोबार हुने

यस वर्षको तिहारमा करिब ३० करोडको फूल कारोबार हुने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष तामाङको अनुमान छ। उनका अनुसार आजदेखि भने जताततै फूलको बिक्रीवितरण भएको छ। ‘तिहारको पाँच दिनको अवधिमा करिब ३० करोडको फूल कारोबार हुने अनुमान छ’,उनले भने।

फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्काका अनुसार गत वर्षको तिहारमा यहाँ उत्पादित फूलले धान्न नसकेको कारण १४ प्रतिशत फूल विदेशबाट आयात भएको थियो। तर, यस वर्ष भने नेपालभर उत्पादन भइरहेको फूल नै बिक्री वितरण गरिने छ।

नेपालमै उत्पादन भएको मालाले धान्ने भएपछि सरकारले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको छ। कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रका सूचना अधिकारी सिर्जना न्यौपाने पौडेलले विदेशबाट फूल ल्याउन प्रतिबन्ध लगाएको बताइन्। उनले भनिन,‘यो वर्षको तिहारमा यहाकै उत्पादित फूलले पर्याप्त मात्रामा पुग्ने भयो,त्यसैले विदेशशबाट आयात गर्न रोक लगाएका हौँ।’

पुष्प विकास केन्द्रले तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको भन्दै सूचना नै जारी गरी आयात अनुमतिपत्रको सिफारिस बन्द गरिएको जनाएको छ।

‘तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गरेको तथा हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने कारण भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको अवस्थामा यो वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कार्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ,’ केन्द्रले कात्तिक १२ गते नै जारी गरेको सूचनामा उल्लेख छ।

तर, यता फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष तामाङले भने अवैधरुपमा ४ लाख ५० हजार माला विदेशबाट ल्याउन लागिएको पाइएको बताए। उनले भने,‘अवैध रूपमा चार लाख ५० हजार माला ल्याउन लागिएको पाइएको छ,तर हालसम्म भने रद्ध नै छ,सायद अब नआउला कि।’ उनले उक्त माला नेपालमा भित्रिए यहाँ उत्पादित फूल भने बिक्री नहुने बताए। ‘यहाँकै माला प्रयोग गर्नुपर्छ,विदेशबाट आयात गर्नहुँदैन,’उनले भने।

यता, पुष्प विकास केन्द्रका सूचना अधिकारी न्यौपाने पौडेलल भने कात्तिक पछाडि कसैलाई फूल ल्याउन अनुमति नदिएको दाबी गर्छिन। उनले भनिन्,‘कात्तिकअगाडि जे जतिले फूल ल्याए, अब भने कसैले ल्याउन पाउँदैनन्,अनुमति पनि दिइएको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.