|

पर्वत : पर्यटकीय हिसाबले पनि चहलपहल बढी हुँदै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजार पर्वतसहित ४ जिल्लाका यात्रुहरूका लागि ‘ट्रान्जिट’ हो।

पर्वतबाट विभिन्न जिल्लाका लागि बाहिरिने सवारीसाधनसहित बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्य जिल्लाका लागि छुट्ने सवारीसाधन पनि कुश्मास्थित शिवालय चोक हुँदै आउजाउ गर्छन्।

यात्रुहरूलाई पिसाब लाग्दा विगतमा सवारीचालकले आफूले इच्छाएको खुला ठाउँमा सवारी रोक्ने गरेका थिए। आजभोलि दिशा पिसाबका लागि बाटोमा सवारी रोक्ने गरेको देखिँदैन। दिशा पिसाब गर्नुपर्ने भएमा खाजा वा खाना खाने होटेलका शौचालय वा सार्वजनिक शौचालयमा जाने गरेको पाइन्छ।

खाजा र खानाका लागि सवारीसाधन प्रायः चितवनको मुग्लिङ, तनहुँ र कास्कीमा रोकिने गरेका छन्। विभिन्न जिल्लाका लागि छुटेका सवारीहरू यात्रु र सामान ओराल्नका लागि मात्रै केही समय शिवालय चोकमा रोकिन्छन् तर त्यही बेला दिशा पिसाब लागेमा यात्रुहरू होटेलमा छिरेर केही न केही खाएर त्यही बहानामा शौचालयको प्रयोग गर्न बाध्य हुँदै आएका छन्।

बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका यात्रुहरू आधादेखि ३ घण्टासम्मको यात्रा तय गरेर कुश्मा आइपुग्छन्। पोखराबाट आएका सवारीसाधन शिवालय चोकमा आइपुग्न कम्तीमा पनि डेढ घण्टा लाग्छ।

विभिन्न ठाउँबाट बागलुङ, म्याग्दी, पर्वतका लागि भित्रिने रात्रि बसहरू बिहान ४ बजे नै शिवालय चोकमा आइपुगेका हुन्छन् तर सार्वजनिक शौचालयको उचित व्यवस्थापन नहुँदा सवारीसाधनमा यात्रा गरिरहेकाहरू समस्यामा छन्।

४ जिल्लाका सवारीसाधन आउजाउ गर्ने केन्द्र तथा कुश्मा बजारमा नै रहेका बन्जी जम्प, जीपलाइनलगायत साहसिक पर्यटनका गन्तव्यमा आउजाउ गर्ने सवारीसाधन पनि शिवालय चोकमा नै रोकिन्छन्।

कुश्माका होटेलमा बस्ने पर्यटकहरु पनि साँझ बिहान बजार घुम्न निस्किएका हुन्छन् तर कुश्मा बजारमा न ती पर्यटकका लागि सार्वजनिक शौचालय छ न त यात्रीहरूको लागि नै।

दैनिक सयौँ यात्रु कुश्माको शिवालय चोकमा आउने भए पनि सार्वजनिक शौचालयको अभावमा यात्रुहरू समस्यामा पर्दै आएका छन्। शिवालय चोकमा वर्षौंदेखि सामान्य खालको शौचालय सञ्चालनमा रहँदै आएको छ।

एक पटकमा ७/८ जनाभन्दा बढीले शौच गर्न नमिल्ने शौचालयको व्यवस्थापनको काम सामुदायिक सेवा केन्द्रले गर्दै आइरहेको छ।

‘चोकको शौचालयमा लङ ट्वाइलेटको लागि २ ओटा मात्रै शौचालय रहेछ। एउटा गाडी रोकिँदा कम्तीमा १०/१५ जना त शौचालय जान्छन्। त्यो भिडमा कति बेर पर्खिँदा पालो आउने हो?‚’ यात्राकै क्रममा रहेका बागलुङका हरिबहादुर क्षेत्री भन्छन्, ‘पालोमा पखिँदा गाडी हिँडिहाल्छ। होटेलका ट्वाइलेटमा जान त्यहाँ केही न केही त खाजा खाइदिनुपर्छ। नत्र प्रयोग गर्न पाइँदैन। हामी जस्ता सयौँ यात्रु आउँछन् उहाँहरूले शौचालय प्रयोग गर्न दिएर मात्रै पनि त भएन फेरि।’

आफ्नो पसलमा केही नखाई शौचालयको प्रयोग गर्न मात्र दिने हो भने निजी घरका शौचालय पनि सार्वजनिक शौचालयको भन्दा कमजोर अवस्थामा पुग्ने व्यवसायीको भनाई छ। सञ्चालनमा रहेको सामान्य खालको शौचालयलाई थप क्षमतामा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

करिब १० वर्षदेखि सञ्चालनमा रहेको दुईकोठे शौचालय अहिले जीर्ण बनेको छ। पानीको धारासमेत जडान नगरिएको शौचालय दुर्गन्धित छ।

उक्त शौचालयको व्यवस्थापन गर्दै आएकी गोरी परियारले पोखरा–बागलुङ सडकखण्डको स्तरोन्नति भएपछि शौचालयमा लगेको पानीको पाइप पुरिँदा सानो शौचालयमा पानी समेत गाग्रीमा बोकेर ल्याउनु परेको सुनाइन्।

सामुदायिक सेवा केन्द्रले व्यवस्थापनको जिम्मा गोरीलाई दिएपछि शौचालय उपभोग गरेवापतको शुल्क उनले नै उठाउँदै आएकी छिन्। केही महिना पहिलेसम्म दिशा र पिसाबको एक जनाको ५ रुपैयाँ शुल्क लिने गरेको भए पनि अहिले भने त्यो रकम बढाएर १० रुपैयाँ बनाइएको छ।

त्यही उठेको रकमबाट सेफ्टी ट्याङ्क सफा गर्ने, पानीको व्यवस्था गर्ने, मर्मत गर्नेलगायत काम गर्नुपर्छ। यही काम गरेर नै गोरीको परिवार पनि चलिरहेको छ।

शौचालयमा पानीको आपूर्ति बन्द भएपछि यात्रुहरू पनि खासै आएनन्, जसका कारण शौचालय बन्द हुने अवस्थामा पुग्यो त गोरीको छाक टार्ने बाटो पनि बन्द हुने अवस्थामा जान थाल्यो।

तर सामुदायिक सेवा केन्द्रले पानी दिने भए पनि मध्य पहाडीले पुरिएको पाइप नबन्ने बेलासम्मको लागि हरेक दिन बाल्टीमा पानी बोकेर शौचालयमा लैजानुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.