|

धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा हिजो शुक्रबार एक बिरामीको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार उपचाररत अवस्थामा एक महिला बिरामीको अस्पतालमा मृत्यु भएको हो।

स्रोतको भनाइअनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका-५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्यु भएको हो।

जमुनालाई मुखबाट रगत आउने समस्या भएपछि अस्ति उपचारका लागि चटकपुरस्थित स्वस्तिक अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएर उपचार सुरु गरिएकोमा दोस्रो दिन नै उनको मृत्यु भएको बताइएको छ।

हिजो बिहानसम्म जमुनाको अवस्था सामान्य रहेकोमा पछि दिउँसो १२ बजेतिर इन्डोस्कोपी गर्ने क्रममा अचानक मृत्यु भएको आफन्तले बताएका छन्।

जमुनाको मृत्यु भएपछि हिजो नै अपराह्न ३ बजेबाट अस्पतालका मान्छे र मृतकका आफन्तहरुसहित सुरक्षाकर्मी बसेर छलफल थालेका थिए। उक्त छलफलमा आफन्तले चिकित्सकको लापरबाहीले जमुनाको मृत्यु भएको आरोप लगाए पनि राति साढे १० बजेतिर भने उपचार खर्च मिनाहा गर्नेसहितको सहमति गरिएको बुझिएको छ।

त्यसपछि यो घटना राति नै मिलेको र घटना मिलाउन कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा पनि अस्पतालमै पुगेको स्रोतको दाबी छ। यसअघि पनि सोही अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु हुँदा ठूलै लफडा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.