सल्यान : सल्यान दार्मा गाउँपालिका–५ बछेलाकी १९ वर्षीया विन्दु खड्काको एक महिनाको बच्चा छ। एक महिना नपुगेकी सुत्केरी खड्का न्यानोमा बसेर पोषिलो कुरा खानुपर्ने वेला घरबाहिर त्रिपालमुनि रात कटाउँदै छिन्।
त्रिपालमुनिको असुरक्षित वास थाहा हुँदाहुँदै पनि उनी १ महिनाको शिशु च्यापेर मंसिरको चिसो सिरेटोमा रात कटाउँदै छन्। गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले बस्न नमिल्ने गरी घर चर्किएपछि उनी त्रिपालमुनि बस्न बाध्य भएकी हुन्। खड्कालाई पालमुनिको रात निकै लामो लाग्छ।
चिसोका कारण बच्चालाई रुघा लाग्नुका साथै आफू समेत विरामी पर्न थालेको बताइन्। उनले भनिन्, ‘आफूमात्र भएको भए जसोतसो रात काट्थेँ हुँला तर एक महिनाकी छोरी साथमा हुँदा राम्ररी निदाउन पनि सक्दिनँ। जति आगो बाले पनि तातै हुँदैन‚ गोडा सुन्निएका छन्।’
दार्मा–५ कै तीन महिनाकी सुत्केरी पुष्पा केसी पनि भूकम्पले घर भत्काएपछि आँगनमा पाल टाँसेर बस्छिन्। राहतस्वरूप पाएको त्रिपाल टाँगेर बस्न मिल्ने बनाए पनि सुत्केरीलाई भने निकै कष्टकर भएको उनको भनाइ छ। न पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने लत्ताकपडा नै छन् न सुत्केरीमा खाने मिठो मसिनो नै। भूकम्पले सबै भताभुंग बनाएको उनले बताइन्।
उनले भनिन्, ‘अहिले खानेभन्दा पनि सानो सानीलाई चिसोबाट कसरी बचाउने भन्ने पीर छ। घरभित्रै बस्दा त चिसोले छाडेको थिएन, पालमुनि बस्दा कतिको चिसो भएको होला आफैँ अनुमान गर्नुस्।’ दिनमा खासै समस्या नभए पनि रातको समयमा निकै समस्या हुने गरेको छ। उनले भनिन्, ‘बिहान शीत चुहिएर ओछ्यान भिजेको हुन्छ। बच्चालाई रातभर कति चिसो हुन्छ होला।’
सुत्केरीसँगै यहाँका गर्भवतीलाई समेत समस्या भएको छ। चिसोमा रात काट्न निकै समस्या हुने गरेको खिमा खड्काले बताइन्। सुत्केरी हुने समय आइसकेको बताउँदै चिन्ताले सताएको बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।