ललितपुर : आगामी जुलाईमा फ्रान्समा आयोजना हुने ३३ औँ गृष्मकालीन ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
पेरिस ओलम्पिकको छनोट प्रतियोगिता मे १३ देखि १५ सम्म काठमाडौंमा हुने आइतबार नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको हो।
छनोट प्रतियोगितामा आयोजक नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रका खेलाडी सहभागी हुने नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए।
उनका अनुसार ती ५ वटै देशबाट २-२ पुरुष र २-२ महिला गरी २० खेलाडीको सहभागिता रहनेछ।
यो प्रतियोगिताका विजेता पुरुष १ र महिला १ खेलाडी फ्रान्समा हुने ओलम्पिकका लागि छनोट हुनेछन्। ओलम्पिक क्वालिफाइङको फाइनल राउण्ड नेपालमा हुन लागेको टेबल टेनिसको इतिहासमै यो पहिलोपटक हो।
छनोटको फाइनल राउण्डको प्रतियोगितामा नेपालबाट पुरुषतर्फ संयोग कपाली र सान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापा मगरले खेल्नेछन्।
भारत यो छनोट प्रतियोगितामा नभएकाले नेपालको सम्भावना प्रबल देखिन्छ।
भारत यसअघि नै फेब्रुअरीमा कोरियामा सम्पन्न वल्र्ड च्याम्पियनसीपमा शीर्ष आठमा रहेर ओलम्पिकका लागि छनोट भइसकेको छ। १३ औँ सागमा भारतले स्वर्ण जित्दा नेपालले रजत पदक जितेको थियो।
तसर्थ अहिले भारत शीर्ष ८ मा परेर सिधै छनोट भएकाले नेपाली खेलाडी विजेता बन्ने अवसर रहेको टुनामेन्ट डाइरेक्टर तेजेन्द्र सिंह महराले जानकारी दिए।
मुख्य प्रशिक्षक कपालीले पुरुषको सम्भावना धेरै देखेका छन्। संयोग हाल २ वर्षअघिदेखि ओलम्पिक छात्रवृत्तिमा थाइल्याण्डमा बसेर तयारी गर्दैछन्। स्यान्टु पनि अष्ट्रेलियामा बसेर तयारी गर्दैछन्।
‘हाम्रो लागि ठूलो अवसर छ। छनोट खेलेर ओलम्पिकमा सहभागी हुने २ जना मात्र छन्। त्यसकारण यस पटक कोही छनोट भए तेस्रो खेलाडी हुनेछ,’ मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भने, ‘खेल संघका हिसाबले छनोट प्रतियोगिता आयोजना गरेको पहिलो पटक हो।’
अहिलेसम्म ओलम्पिक्स छनोट खेलेर तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यबाहेक अरु खेलाडी अघि बढ्न सकेका छैनन्। उनका अनुसार टप फाइट नेपालको श्रीलंकासँग हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।