ट्राफिक भन्छ : चालक र यात्रु सजग भए रोकिन्छ

|

काठमाडौं : यस वर्षको दशैँ र तिहार सकिएसँगै चाडपर्व मनाउन गाउँ गएका सर्वसाधारणहरू आ-आफ्नो कर्मथलो शहर छिरिरहेका छन्। काठमाडौं उपत्यकामा पनि फर्किनेको संख्या बढेको छ। पछिल्लो समय काठमाडौं उपत्यका भित्रिने मुख्य नाका, तथा फर्कनेहरूको निकै चहलपहल बढेको छ।

यही बेला यात्रुहरू छिटो फर्किने हतार गर्दा र सवारी चालकहरूले पैसाको लोभ गर्दा बढी सवारीसाधन दुर्घटना हुने गरेको छ। आज (सोमबार) मात्रै रूकुमपश्चिममा चौरजहारीबाट खलंगा जाँदै गरेको लु १ ज २२९७ को जीप दुर्घटना भएको छ।

रूकुमपश्चिमका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार २२ जना सवार जीप चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा दुर्घटना भएको हो। २२ जना नै घाइते भएकोमा यो समाचार तयार पार्दासम्म २ जनाको मृत्यु भएको छ। अन्यको उद्धार भइ उपचार भइरहेको छ। क्षमताभन्दा बढी यात्रु चढाइएकाले यो दुर्घटना भएको प्रहरीले जनाएको छ।  

यस्तै आइतबार इलामको रोङ गाउँपालिका–३ कोलबुङमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इलामका डिएसपी प्रकाश जगेबुका अनुसार कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षका अर्पण लामाको मृत्यु भएको छ। धनुषाको धारापानीबाट इलाम घुम्न पुगेको टोलीसवार बस दुर्घटना भएको हो।

अन्य ३५ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ। गत शनिवार बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भयो। त्यहाँको खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटका अनुसार दोगडाकेदार ३ गाउँपालिका  ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्टको घटनास्थलमै मृत्यु भएको हो।

कच्ची र उकालो सडकमा जीप नचड्दा ब्याक भएर दुर्घटना भएको सोही जीपमा सवार लोकबहादुर विष्टले बताए। अन्य यात्रु घाइते भए। यी सवारी दुर्घटना एक प्रतिनिधि मात्रै हुन्। यस्ता दुर्घटना दैनिक जसो हुने गरेको छ। वर्षेनी चाडपर्वका वेला सवारीसाधन दुर्घटना हुँदा बढी मानवीय क्षति हुने गरेको छ।

ट्राफिक प्रहरी भन्छ : चालकले लापारबाही नगरे र यात्रु सजग भए दुर्घटना रोकिन्छ

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराई बढी चालकको लापारबाहीका कारण सवारीसाधन दुर्घटना हुने गरेको पाइएको बताए। ‘चालकहरूको चरम लापारबाही नै छ, अहिले त चाडवाड सकिएकाले गाउँ गएका सर्वसाधारणहरू फर्किनेको चाप छ, यही वेला चालकले क्षमताभन्दा बढी यात्रु हाल्छन्, अनि क्षमताले धान्न नसक्दा दुर्घटना हुन्छ,रुकुमपश्चिमम भएको दुर्घटनाको कारण पनि यही हो,’ उनले भने।

उनका अनुसार विकट कर्णालीमा बाटोघाटो राम्रो छैन। 'विकट ठाउँ नै भएकाले सबै क्षेत्रमा प्रहरी पनि पुग्न सक्दैन तर पनि हामीले क्षमताले भ्याएसम्म सवारी दुर्घटना रोक्न लागि परेका छौँ,’ उनले भने। 

उनी सवारीसाधन दुर्घटनाको अर्को कारणमा यात्रुहरू पनि सजग नभएको बताउँछन्। ‘सुरक्षित ढंगले गन्तब्यमा पुर्‍याउने चालकको जिम्मेवारी छँदै छ, यसमा यात्रु पनि सचेत हुनुपर्छ तर भएको देखिँदैन, ’उनले थपे।

उनका अनुसार यात्रुहरू छिटो गन्तब्यमा पुग्न हतार गर्दा गाडी क्षमताबारे बुझ्दैनन्। जति नै यात्रु भए पनि चढ्छन्, तर आफ्नो ज्यानको सुरक्षाबारे ध्यान दिँदैनन्। ‘बरू कोही यात्रुहरू एक दमै छिटो सम्बन्धित ठाउँमा पुग्नुपर्ने अवस्था भए हामीलाई सम्पर्क गर्नु, हामी विकल्प खोजेर भए पनि सेवा दिन तयार छौँ, त्यसरी ज्यान धरापमा पारेर यात्रा नगर्नु,’ उनले सुझाव दिँदै भने। चालकले लापारबाही नगरे र यात्रु सजग भए दुर्घटना रोकिने उनको भनाइ छ।

अवकास प्राप्त ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु सवारीसाधन दुर्घटना हुनुमा विभिन्न कारणहरू पाइएको बताउँछन्। उनका अनुसार चाडपर्वका वेला नयाँ गाडी चालकले गाउँमा यात्रु लैजाने गर्छन्।

‘उनीहरूले गाउँजाने बाटो कस्तो छ भन्ने जानकारी पाएका हुँदैन, अनुभव पनि हुँदैन, त्यसकारण पनि सवारी दुर्घटना हुन्छ,’ हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले भने।

उनले सवारी चालकले पैसाको लोभले सिट क्षमताभन्दा दाेब्बर यात्रु बोक्ने गरेको बताए। ‘पैसा लोभले १० जनाको सिटमा २० जना यात्रु चढाउँछन्, त्यसरी चढाउँदा गाडीले भार थाम्न नसक्दा ब्रेक फेल हुने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘चालक बस्ने सिट नै ढाक्ने गरी यात्रुहरू राख्छन्, यसो गर्दा चालकलाई गाडी चलाउन,मोड्न गाह्रोपर्छ, यसो हुँदा पनि दुर्घटना हुन्छ।’

उनका अनुसार तीव्र गतिका कारण दुर्घटना हुँदा अकालमै यात्रुको ज्यान जाने गरेको छ। ‘चाडपर्वका समयमा यात्रुहरू बढी हुन्छन्, छिटो पुर्‍याएर अर्को टिप भ्याउन तीव्र गतिमा गाडी हाँक्छन्, बाटो पनि राम्रो बन्न सकेको छैन, त्यसैले पनि दुर्घटना हुन्छ,’ उनले भने।

उनी सबै दोष चालकलाई मात्र दिँदैनन्। यात्रुहरू पनि सचेत नहुने गरेको उनले बताए। उनले भने, ‘यात्रुहरू पनि हतार छ भन्दै सिट नभए पनि कोचाकोच भएर चढ्छन, उनीहरूलाई चालकले चढ भनेर त खुट्टा तान्दैन, बाटो खराब छ,बरू एक दिन ढिलो गरी अर्को गाडीमा चढ्दा हुँदैन?, यस्तो कुरा नै सोच्दैनन् यात्रुहरू ।’

प्रहरीको आँखा छल्दा पनि सवारी दुर्घटना

लामो दूरीका विभिन्न राजमार्गका ठाउँठाउँमा चेकिङ पोष्ट छन्। सवारीचालकहरू त्यस ठाउँमा पुग्नुभन्दा अगाडि झार्ने र उक्त चेकिङ पोष्ट कटेपछि पुनः यात्रुहरू कोचाकोच राख्ने, गाडीको हुटमा चढाउने गर्छन्।

यसरी प्रहरीको आँखा छल्दा पनि सवारी दुर्घटना हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भट्टराई बताउँछन्। चालकहरूले यस्तो गरेका वेला यात्रु होस् या प्रत्यक्षदर्शी होस् सम्बन्धित निकायमा खबर गर्न उनले आग्रह गरे।

अवकास प्राप्त ट्राफिक प्रहरी निरीक्षक हाछेथुले पनि चालकहरू प्रहरीको आँखा छल्ने काम गर्ने गरेको बताए। ‘प्रहरीले त दुर्घटना नहोस् भनेर सीमित यात्रु मात्रै राखेर यात्रा गराइरहेका छन् या छैनन्?, कसरी र कति समयमा गाडी चलाएका छन्? भनी निगरानी गर्छन् तर चालकहरू प्रहरीको आँखा छल्छन्, यो पनि दुर्घटनाको एउटा कारण हो,’उनले भने। 

बागमती प्रदेशमा १५६ दुर्घटना हुँदा २३ को मृत्यु

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार यस वर्षको दशैँ र तिहारका वेला उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशमा १५६ सवारी दुर्घटना भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता दीपक रेग्मीले उक्त दुर्घटनाबाट २३ जनाको ज्यान गएको जानकारी दिए। ‘यसरी सवारी दुर्घटना हुनुमा मुख्य चालक कै लापारबाही छ, यात्रुहरू पनि सजग हुनुपर्‍यो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.